बार्सिलोना । कोरोना भाइरसका कारण निम्तिएको आर्थिक समस्याका कारण क्याटलान क्लब बार्सिलोनाले अर्को सिजन खेलाडी बेच्नुपर्ने अवस्थामा पुगेको छ । उसो बार्सिलोना मात्र अन्य क्लबहरूमा पनि आर्थिक संकट देखिन थालेको एजेन्सीहरूले बताएका छन् ।
तर, बार्सिलोनाले अर्को सिजन आफ्नो टोलीलाई थप बलियो बनाउने योजनासमेत बनाएको छ । जसका लागि उसको राम्रो खेलाडी किन्ने योजना पनि छ । तर, त्यसका लागि आवश्यक रकम उपलब्ध नहुने हुँदा खेलाडी साटफेर नै उचित विकल्प देखिएको छ । यस्तो अवस्थामा क्लबले नयाँ खेलाडी भित्र्याउन जोकोही खेलाडी पनि अन्यत्र पठाउन सक्नेछ ।
अहिलेको अवस्थामा बार्सिलोनामा तीन खेलाडीको मात्र भविष्य सुरक्षित देखिएको छ । कप्तान लिओनेल मेसीसहित फ्रांकी डे जोङ र मार्क आंदर टेर स्टेगनको भविष्य भने क्लबमा सुनिश्चित छ । अन्य खेलाडीको हकमा भने क्लबले विकल्पका रूपमा उनीहरूलाई प्रयोग गर्न सक्नेछ ।
यसबाट बार्सिलोनाको एकेडेमी ला मासियालाई पनि केही सहयोग पुग्ने देखिन्छ । पछिल्लो समय बार्सिलोनाले एकेडेमीबाट आएका खेलाडीभन्दा अन्यत्र क्लबबाट खरिद गरेका खेलाडी प्राथमिकतामा राख्दै आएको थियो । एकेडेमीका खेलाडी प्रयोग गर्दा आर्थिक भार नपर्ने हुनाले प्रशिक्षक सेटिनले एकेडेमी प्रशिक्षकसँग छलफल गर्न थालिसकेका छन् ।






