सिल गरिएको भुल्केमा स्वाब नमुना संकल

उदयपुर । सदरमुकाम गाईघाटभित्रै रहेको त्रियुगा नगरपालिका–३ झुल्केस्थित जामे मस्जिदमा आएका भारतीय नागरिकसहित १२ जनामा कोरोना भेटिएपछि त्यहाँ प्रदेश सरकारले स्वाब परीक्षणका लागि नमुना संकलन थालेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. जयवेन्द्र यादवको नेतृत्वमा आएको ६ सदस्यीय टोलीले भुल्केस्थित नेपाली सेनाको फुटबल ग्राउन्डमा क्याम्प बनाएर स्वाब संकलन सुरु गरेको हो ।

गाईघाट बजारबाट दक्षिणतर्फ २ किलोमिटरको दूरीमा रहेको झुल्केस्थित जामे मस्जिदमा बस्दै आएका ११ भारतीय र १ नेपाली नागरिकसहित १२ जनामा शुक्रबार कोरोना पोजेटिभ भेटिएको थियो । त्रियुगा नगरपालिका–३ भुल्केमा शनिबार अपराह्नदेखि स्वाबको नमुना संकलन सुरु गरिएको हो । कोरोनाको संक्रमण भेटिएपछि सदरमुकाम गाईघाट आसपास अहिले त्रसित बनेको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले झुल्के गाउँलाई सिल गरेको छ ।

विराटनगरस्थित प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक यादवका अनुसार शनिबार दुई महिलासहित ६९ जनाको नमुना संकलन गरिएको छ । ‘हामी मस्जिद आसपासका क्षेत्रका सबैको स्वाब संकलन गर्छौं,’ यादवले भने, ‘प्रयोगशालाबाट मसहित ६ जनाको टोली र जिल्ला अस्पताल गाईघाट ल्याबका दुई जना प्राविधिक, त्रियुगा नगरपालिका स्वास्थ्य शाखाका प्राविधिक मिलेर स्वाब संकलन गर्दै छौं ।’ उनले पहिलो चरणमा कोरोना भाइरस संक्रमित व्यक्तिहरू बसेको मस्जिदनजिकै बस्ने सबैको स्वाब संकलन गर्ने जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले पनि पहिलो चरणमा मुस्मिल टोलका जामेमस्जिदमा आएका भारतीय धर्म गुरुसँग सिधा सम्पर्कमा रहने मानिसको स्वाब संकलन गरिएको बताए । संक्रमण फैलिएको मस्जिद’roundका सबैको स्वाब संकलन गरी विराटनगरस्थित कोसी अस्पतालमा परीक्षणका लागि लैजाने यादवको भनाइ छ । उनले मस्जिद ’roundका सबैको स्वाब संकलन गर्दै जाने र संक्रमितसँगको सम्पर्कमा पुगेको व्यक्तिको ट्र्याकिङ गरी उनीहरूको पनि स्वाब नमुना लिइने जानकारी दिए ।

शुक्रबार भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपालीसहित १२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । त्यसपछि मस्जिद टोल र आसपासका सबै गाउँमा सुरक्षाकर्मी तैनाथ गरेर कडा निगरानी राखिएको छ । भुल्के गाउँमा शनिबार बिहानदेखि कसैलाई पनि बाहिर निस्कन दिइएको छैन । मस्जिदमा बसेका भारतीय धर्म प्रचारकमा कोरोना संक्रमण पुष्टि भएसँगै उदयपुरमा उच्च सतर्कता अपनाइएको छ । त्यहाँ रहेका १२ भारतीयमध्ये ११ र उनीहरूसँगै रहेका मोरङका एक जनामा कोरोना पोजेटिभ देखिएपछि त्रसित जिल्लावासीलाई थप संक्रमणबाट रोक्न प्रशासनले उच्च सतर्कता अपनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले शुक्रबार साँझै संक्रमितसहित मस्जिदमा रहेका १६ जना सबैलाई आइसोलेसनमा राख्न विराटनगरस्थित प्रदेश कोरोना अस्पताल पठाइ सकेको छ । चार दिनअघि द्रुत परीक्षण (आरडीटी) मा सबैको रिपोर्ट नेगेटिभ आए पनि पीसीआर विधिबाट परीक्षण गर्न स्वाब संकलन गरी पठाउँदा नतिजा पोजेटिभ आएको थियो ।

२० देखि ४० वर्ष उमेरसमूहका उनीहरू गत १ चैतदेखि मस्जिदमा बस्दै आएको प्रहरी बयानबाट खुलेको छ । प्रहरीले संकलन गरेको ‘ट्राभल हिस्ट्री’मा २५ मंसिरमा जोगवनी नाका भएर छिरेको तथा मोरङ, सुनसरी, सप्तरी र उदयपुरका विभिन्न मस्जिदमा तीन महिना बसेपछि २५ फागुनमा उदयपुर छिरेको पाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीरबहादुर बुढा मगरले बताए । भुल्के आउनुअघि उनीहरू चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरस्थित शिवाई मस्जिदमा सात दिन बसेको खुलेको छ ।

शिवाईबाट १ चैतमा भुल्के मस्जिद आएका उनीहरू लकडाउन सुरु भएपछि रोकिएर अन्य मस्जिद जान नपाएको प्रहरीको भनाइ छ । मस्जिदमा भारतीयहरू बसेको जानकारी १४ चैतमा नै प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीलाई दिए पनि साता दिनअघि मात्र प्रहरी र स्वास्थ्यकर्मी टोली खटाएर आरडीटी र स्वाब परीक्षण गराइएको थियो । प्रमुख जिल्ला अधिकारी पहाडीको हेलचेक्र्याइँले गर्दा गाउँमा समस्या भएको स्थानीय राजेन्द्रबहादुर राउतले गुनासो गरे ।

मोरङका चार सहित मस्जिदमा बसेका उनीहरु बिभिन्न मस्जिद र सामाजिक अगुवासँग भेटघाट र घुमफिर गरेको हुन सक्ने भन्दै सबैलाई ‘होम क्वारेन्टाइन’मा बस्न प्रशासनले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकलाको उपाधि अधिकारीलाई