सकारात्मक सोच, उच्च नैतिकता, सेवा भावना तथा सिद्धान्तप्रति दृढ राजनेतामा हुनुपर्ने विशेषता हुन् । यस्तै विशेषता भएको तथा देश र जनताको हकहितमा निरन्तर समर्पित भइरहने व्यक्ति आदर्श राजनीतिज्ञ वा जननेता ठहरिन्छ । राज्य पनि त्यस्तै राजनीतिज्ञ वा जननेताले नै सञ्चालन गर्नुपर्छ । जननेताले राज्य सञ्चालन गरे देश र देशवासीको हित र कल्याण हुन्छ । मुलुक विकृति र विसंगतिरहित बन्छ । सबै नागरिकले निसंकोच आआफ्नो पेसा र व्यवसाय सञ्चालन गर्न पाउँछन् । देशको विकास र देशवासीको हितको आधारभूत पूर्वाधार पनि यही हो ।
हाम्रो मुलुक पनि लोकतन्त्र स्थापित भएदेखि सिद्धान्तवादी राजनेताबाटै सञ्चालित हुँदै आएको छ । जनताले छानेकै जनप्रतिनिधिहरू बराबर सत्तामा पुग्दै आएका छन् । सिद्धान्तप्रति दृढ एवं कहलिएकै नेता नै मुलुकको कार्यकारी प्रमुख बन्दै आएका छन् । तर, त्यस्तै नेताकै कार्यसँग देशवासीहरू सन्तुष्ट छैनन् किन ? यो नेताको कार्यशैली र व्यवहारले उत्पन्न गराएको यथार्थतामा आधारित सवाल हो । यसको कारकतत्व पहिचान गर्न, नेताको कार्यशैली र व्यवहार सम्बद्ध अन्तरनिहित रहस्य केलाउनुपर्ने हुन्छ । सर्वसाधारणको सामान्य नजरले नदेखिने यही अन्तरनिहित रहस्य कतिपय नागरिकहरूले भने अनुभूति गर्दै आएका छन् । यस’boutमा जनताबाटै भएको पछिल्लो मूल्यांकन निष्कर्षले पनि राज्य सञ्चालकमा शक्ति केन्द्रकै गोटी बनी राज्य सञ्चालन गर्ने प्रवृत्ति हावी हुँदै आउँदा यो अवस्था आएको जनदृष्टिकोण सायद गलत एवं आक्षेपयुक्त नहोला ।
यस परिप्रेक्ष्यमा हेर्दा सिद्धान्तवादी राजनेताबाटै राज्य सञ्चालित भएको देखिए पनि व्यवहारमा राज्य सञ्चालक नेताकै स्वार्थका कारण अदृश्य शक्तिबाटै उनीहरू सञ्चालित हुनपुगेका छन् । राजनीतिक अपराधको जड मानिने अदृश्य शक्तिको धनवलको प्रभाव कल्पनाभन्दा बाहिरको हुन्छ । अदृश्य शक्ति यति शक्तिशाली छ कि उसले दिएको इशारा मात्रै सत्ता सञ्चालकका लागि बाध्यात्मक आदेश बन्छ । जसलाई इन्कार गरे सत्ता नै धराशायी बन्छ । मुलुक अहिले यस अवस्थामा पुगेको छ । कतिपयलाई यो कुरा मान्य नहुनसक्छ । यही कुरा पुष्टि गर्ने केही यथार्थ अन्तरनिहित रहस्यलाई राज्य सञ्चालककै कार्यशैली र वयवहारसँग तुलना गरी हेरौं । राज्य सञ्चालक नेता तथा अदृश्य शक्तिबीचको अहिलेको अन्तरनिहित साँठगाँठको अवस्था झल्काउने केही अग्रणी पक्ष यिनै हुन् ।
१. तस्कर
तस्कर राष्ट्रघाती अपराधी हो । अधिकांश तस्करले राज्यलाई नै पीडित बनाउँछन् भने केहीले व्यक्ति विशेषलाई पनि पीडित बनाउन सक्छन् । अन्य मुलुकको तुलनामा तस्करका लागि नेपाल सबैभन्दा उर्वर भूमि मानिन्छ । अधिकांश मुलुकमा तस्करहरूले राज्य प्रशासनको आँखा छलेर आफ्नो धन्दा सञ्चालन गर्छन् । तर, हाम्रो मुलुकमा भने राज्य सञ्चालक नेतादेखि राज्य सञ्चालक उच्च पदस्थ पदाधिकारीकै साथ सहयोगमा धन्दा गर्दै आएका छन् । अन्यत्र मुलुकमा तस्करले यो अवसर विरलै मात्रमा पाउँछन् । तस्करको हैसियत र स्तर पनि सबैको समान हुँदैन । कोही सीमित क्षेत्रका हुन्छन्, कोही राष्ट्रिय स्तरका हुन्छन् त कोही अन्तर्राष्ट्रिय स्तरका । जुनसुकै स्तरको भए पनि तस्करले आफ्नै सञ्जाल स्थापित गरी धन्दा सञ्चालन गर्छन् । हाम्रो मुलुकको आम्दानीको उच्च स्रोत नै तस्करले बन्द गर्दै ल्याएका छन् ।
अदृश्य शक्ति यति शक्तिशाली छ कि उसको इशारा मात्रै सत्ता सञ्चालकका लागि बाध्यात्मक आदेश बन्छ
सुन, मानव तस्करी, वन्यजन्तुको अंग र बहुमूल्य प्राकृतिक जडिबुटीदेखि सर्वसाधारणले प्रयोग गर्ने अत्यावश्यक सामग्रीसम्मका चिजवस्तुहरू तस्करको रोजाइमा पर्छन् । तस्करले अहिले राज्य सञ्चालकलाई नै नियन्त्रणमा राखी धन्दा गर्दै आएका छन् । तस्करको लाभबाट मोहित नहुने राज्य सञ्चालक नेपालमा बिरलै छन् । आवश्यक परे ऐन कानुन नै संशोधन गरी अनुकूल बनाउने हैसियत तस्करमा हुन्छन् । तस्करलाई राजनीतिकर्मीको नकाब भिडाएर लाभ लिने प्रवृत्ति पछिल्लो समयमा नेतामा बढ्दो छ । तस्करले भनेअनुसारै राज्य सञ्चालक परिचालित हुँदा राज्य सर्वसाधारण नागरिकप्रति भन्दा तस्करप्रति बफादार बनेको अनुभूति हुँदै आएको छ ।
२. भ्रष्ट
सामान्य दृष्टिमा राज्यकै शत्रु ठानिने भ्रष्टले राज्य कसरी चलाउँछन् ? यो कौतुहलता सबैमा हुनु स्वाभाविक हो । नदीका दुई किनाराजस्तै सधैं परस्परमा टाडै रहनुपर्ने भ्रष्ट र राज्य सञ्चालक नेता पछिल्लो समयमा एकै सिक्काका दुईपाटा बनेका छन् । सत्ता सञ्चालक र भ्रष्टको यस्तो अप्राकृतिक गठबन्धन तोड्नुपर्नेमा दिनानुदिन मौलाउँदै आएको छ । सत्तामा पुग्न भ्रष्टाचारमा कहलिएकै हुनुपर्ने, खान र खुवाउनमा निपूर्ण बन्नुपर्ने, दुई–चारवटा भ्रष्टाचारका काण्ड गरेको रेकर्ड हुनुपर्ने तथा त्यस्तै कहलिएकै व्यक्ति सत्ताका लागि विशेष योग्य ठानिने प्रवृत्ति शीर्षस्थ नेताबाटै स्थापित भएको छ । यस्तै, व्यक्ति राज्यसत्तामा पुगेपछि सत्ता शक्तिकै दुरुपयोग गरी भ्रष्टाचारमा लिप्त रहन्छन् । राज्य सञ्चालन गर्ने हात यिनीहरूकै हुन्छ । देश र देशवासीको हित गर्ने वा दल र स्वहितको हित गर्ने ? भन्ने कुरा पनि उनीहरूकै इच्छामा निर्भर गर्छ ।
उपप्रधान एवं गृहमन्त्रीजस्तो गरिमामय ओहदामा रहेकै व्यक्ति खुलेयाम भ्रष्टाचारमा संलग्न भएका कारण कारबाहीमा परेको दृष्टान्त पनि नभएको होइन । भ्रष्टको सञ्जाल केन्द्रदेखि स्थानीय तहसम्म फैलिएको छ । राजनीतिक भ्रष्टले उच्च पदस्थ राष्ट्रसेवकलाई त्यही शिक्षा दिँदै ल्याएका छन् । भ्रष्टले सत्तासीन नेतादेखि उच्च पदस्थ राष्ट्रसेवकलाई प्रलोभनमा पारेर आफ्नो पक्षमा परिचालित गराउँदै ल्याएका छन् । सत्ता, शक्ति अहिले उच्चस्तरीय भ्रष्टको पकडमा छ ।
३. राजनीतिक अपराधी
अपराधीमध्ये राजनीतिक अपराधी अहिले सर्वशक्तिमान बनेका छन् । राष्ट्रिय राजनीति नै जनताको नजरमा अपराधीको क्रीडास्थल बनेको छ । दक्ष राजनीतिज्ञ बन्न आपराधिक कार्यमा छुट पाएकै हुनुपर्ने, त्यस्तै अपराधीलाई दल र नेताले सम्मानित गर्ने विद्यमान प्रवृत्ति आफैंमा राष्ट्रघाती छ । राज्यले नै राजनीतिक अपराधीलाई कानुनभन्दा माथि राखेको छ । यसैले, उनीहरूले गरेको गैसरकानुनी कार्य राज्यबाटै ढाकछोप हुन्छ । पेसेवर अपराधीहरू सुरक्षाकर्मीको नियन्त्रणमा भए पनि राजनीतिक अपराधी सुरक्षाकर्मीको पकडबाहिर छन् । उल्टो राजनीतिक अपराधीले नै सुरक्षाकर्मीलाई पकडमा राखी निर्धक्क आपराधिक कार्य गर्छन् । राज्य सञ्चालक नै अपराधमा संलग्न हुनेक्रम बढ्दै आएको छ । राजनीति र अपराध एक अर्काका पूरक बन्दा सुरक्षाकर्मीको नियन्त्रणमा आउने सम्भावना छैन ।
राजनीति सेवाआर्जनको पेसा बन्दा यो अवस्था सिर्जना भएको हो । राजनीति अहिले ठेकापट्टामा आधारित भइसकेको छ । दलीय एवं निजी लाभलाई दृष्टिगत गरी दलीय शीर्षस्थ नेताले नै पदीय गरिमानुसारको टेन्डर आह्वान गर्छन् । आर्जनमा आशक्त लालची व्यक्ति र नकाबधारी राजनीतिज्ञ टेण्डरमा अगाडि आउँछन् । उच्च परिमाणको बोलकबोल सकारेर पदीय सम्मान हत्याउँछन् । तर, पदासीन भइसकेपछि लगानीको २०औं गुणाबढी आर्जनको कल्पना गर्छन् । यस्तै, व्यक्ति छानी सत्ताको सारथी बनाउने परिपाटी दलीय शीर्षस्थ नेताले नै बसाल्दै ल्याएका छन् । यस्तो मानसिकताका शीर्षस्थ नेताले विगत एक दशकबाटै राज्य सञ्चालन गर्दै आएका छन् । यस अवधिमा जनता कति लाभान्वित बने ? त्यो सबैले अनुभूति गरेकै छन् ।
४. बिचौलिया
बिचौलियाको मुलुक सञ्चालन गर्ने हात छ भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्नसक्छ । तर, हाम्रो मुलुकको परिप्रेक्ष्यमा भने यो व्यावहारिक सत्य हो । आलेखमा उल्लिखित तस्कर भ्रष्ट, नकाबधारी राजनीतिज्ञलाई नै इशारामा नचाई आफ्नो बसमा ल्याउने सामथ्र्य बिचौलियाको हुन्छ । बिचौलियाले नै उल्लिखित सबैलाई पदीय गरिमा, हैसियत एवं विशेषाधिकारकै माध्यमबाटै आफ्नो सहयोगी बनाई लाभान्वित गराउँदै आएका छन् । उनीहरूमार्फत प्राप्त हुने अवसर कस्तो छ ? भन्ने कुरा पनि विविध कोणबाट बिचौलियाले मूल्यांकन गर्छन् । यसैका आधारमा को कति वजनदार, को हलका छ ? भन्ने कुरा यकिन गरी स्तर निर्धारण गरेर लाभान्वित गराउने मुख्य भूमिका बिचौलियाकै हुन्छ । कतिपय सम्मानित ओहदामै रहेका पदाधिकारीले बिचौलियालाई आफ्नो दुहुनो गाईकै जस्तो चाकरी गरी खुसी बनाउँछन् ।
शीर्षस्थ नेताकै सत्ता स्वार्थमा आधारित फितलो कार्यशैली र अस्थिर व्यवहारले यो अवस्था निम्त्याएको हो
राज्यका उच्च पदस्त पदाधिकारीहरू त बिचौलियाकै इशारामा काम गर्छन् । बिचौलियाको स्वार्थ नै आफ्नो लाभ बन्ने भएकाले बिचौलियाको इशारा उच्च पदाधिकारीका लागि कर्तव्य नै बन्न पुग्छ । यसो हुनुको मुख्य कारण धनबल नै हो । पदीय गरिमा बन्धक बनाएर आर्जन गर्ने प्रवृत्तिका उच्च पदस्थ पदाधिकारीहरू केही कारबाहीमा परेको विगतको दृष्टान्तले पलाएको आशा पुनः अहिले निराशामा परिणत हुँदै छ । यही पृष्ठभूमिमा मुलुक सञ्चालन गर्ने अदृश्य शक्तिको समूहमा बिचौलिया पनि सामेल भएका हुन् ।
५. उद्योग व्यवसायी
राज्य सञ्चालन गर्ने हात उद्योगी व्यवसायीको पनि छ । उद्योगपतिको हैसियत र आर्थिक अवस्था सामान्य नागरिकको भन्दा उच्च हुने कुरा सर्वविदितै छ । उद्योगी, व्यवसायी र राज्य सञ्चालक नेताहरूको मुख्य उद्देश्य नै अकुत आर्जन नै हो । आर्जन गर्ने र गराउने क्रममा यी दुईबीच स्वार्थको विनिमय नै हुन्छ । यही पृष्ठभूमिमा नेता र दललाई लाभान्वित बनाई राजनीतिज्ञ बन्ने अवसर उद्योगपतिले पाउँछन् । दलहरूबीच पनि प्रतिष्ठित उद्योगी व्यवसायीलाई आफ्नो दलमा आबद्ध गराउने प्रतिस्पर्धा नै हुने गर्छ । यसरी उद्योगपतिकै पृष्ठभूमिमा राजनीतिज्ञको नकाब धारण गर्ने व्यक्तिको पहिलो प्राथमिकता व्यावसायिक कार्यलाई सहज बनाउने कानुन निर्माण गरी स्वार्थ पूरा गर्दै जाने हुन्छ । सिद्धान्तविहीन आर्जनमुखी नेता नै खरिद गर्नसक्ने हैसियतका उद्योगपतिलाई राजनीतिक पद हत्याउन कुनै कठिनाइ नै पर्दैन ।
लाभमा जस्तो आकर्षण शक्ति अन्य कुनै चिजमा नहुने भएकाले यसलाई राज्य सञ्चालकले तिरस्कारै गर्दैनन् । तर, राज्य सञ्चालनको भूमिका अपनाउनसक्ने उद्योगी, व्यवसायीको संख्या भने अति न्यून नै छ ।
६. विदेशी दलाल
माथि उल्लिखित आन्तरिक अदृश्य शक्तिका अलावा मुलुक सञ्चालन गर्ने अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय शक्ति विदेशी दलाल हुन् । नेपालमा केही देशका दलालको बोलवाला एवं प्रतिस्पर्धा नै छ । कतिपय विदेशी दलालले त छद्मभेषमै राज्य व्यवस्थाउपरै हस्तक्षेपकारी कार्य गर्ने प्रयत्न गर्छन् । यस्ता विदेशी दलाल पनि पद, प्रतिष्ठा र सम्मानित व्यक्तिमै गनिने भएकाले उनीहरूले मित्रराष्ट्र र हाम्रो राष्ट्रबीच मध्यस्थकर्ताकै भूमिका अपनाउने गर्छन् । मध्यस्थकर्ताको भूमिकामा उनीहरूबाट हुने कार्य परिणाम पनि नेपालको हितमा भन्दा सम्बन्धित राष्ट्रकै हितमा बढी आकर्षित हुन्छ ।
मित्रराष्ट्रकै प्रतिनिधिका रूपमा निश्चित कार्य सम्पन्न पार्ने दायित्व लिएर आउने यस्ता दलालहरूले आफ्नो मुलुकको हितमा राज्य सञ्चालकसँग बार्गेनिङ गर्छन् । आफ्नो कुरा स्वीकार गराउन विवश बनाउँछन् । आवश्यक परे सत्ता ढाल्ने धम्की दिन पनि पछि पर्दैनन् । कतिपय अवस्थामा त एकअर्को मुलुककै दलालबीच हुने स्वार्थको प्रतिस्पर्धाको चपेटामा नेपालले पर्नुपर्छ । यो अवस्था मुलुककै सवतन्त्रताको बाधक बन्दै आएको छ । शीर्षस्थ नेताकै सत्ता स्वार्थमा आधारित फितलो कार्यशैली र अस्थिर व्यवहारले यो अवस्था निम्त्याएको हो । मुलुक अहिले यस्तै अदृश्य शक्तिले सञ्चालन गर्दै ल्याएको छ ।