नेपाली माटोको सुगन्ध

डी.आर. राई

एउटा मान्छेको कल्पनाशक्तिले केचाहिँ गर्दैन र सक्दैन होला ! आकाशलाई च्यातेर धुजाधुजा पार्न सक्छ, पृथ्वीलाई एकै औंलाले घुमाउन सक्छ, क्षणभरमा समुद्र सुकाएर उजाड पारिदिन सक्छ । त्यसैगरी, एउटा साहित्यकारले तारालाई धर्तीमा झारेर खेलाइरहेको अवस्था छ । गीत, कथासंग्रह र उपन्यासलगायत करिब आधादर्जन कृति प्रकाशित गरिसकेका साहित्यकार महेश्वर पन्तले ‘धर्तीमुनिका तारा’ पाठकमाझ पस्केका छन् । उनको यो संग्रह नवीनतम कथाकृति हो ।

हरिया घाँसपात प्रशस्त भएतिरनै लम्किन्छन् वस्तुभाउ । जहाँ भोक मेटाएर जीवनलाई सहज बनाउने गर्छ । तर, देशै उजाड बन्दै गएपछि भोक टार्न परदेश लागेका पात्रका कथाव्याथा हो, ‘हरियो पत्ता’ । घरपरिवार चलाउन नसक्नु र ऋणले थिचिँदै गएपछि अमेरिका पुगेको प्रसंगले देश चुसेर खोक्रो बनाउने नेतामाथि कथाकारको चोटिलो प्रहार भेटिन्छ । एउटा नेपाली युवाले अमेरिकामा गरेका दुःख, पीडा, एउटै कोठामा पालो गरीगरी सुत्नुपरेको, तेल मसलामिश्रित गन्धे लुगा लगाएर हिँड्दा हेलित भएको घटनाले देशको परिचय दिएको छ । हरियो पत्ताको बिरुवा रोप्न सीता दिदीले गरेको सहयोगबाट नेपालीले अमेरिकन केटी कोर्टनी टेलरसँग सीमित सम्झौतामा विवाह गरेको प्रसंगले अमेरिका जान खोज्नेलाई उपयुक्त जानकारी सम्प्रेषण गरेको छ । जो दुई वर्षको परीक्षणकाल पार गरेपछि बल्ल दसबर्से जवान पत्ता प्राप्त नेपालीको जीवनमा हरियाली छाउँछ । राज्यले आमनागरिकमाथि गरेको अन्याय र भ्रष्टाचारले निम्त्याएको परिणामलाई अमेरिका पु¥याएर हरियो पत्ता वा ग्रिनकार्डमार्फत उजागर गरेको देखिन्छ ।

छोरीले जन्माएकी आमा– जतिनै टाढा सात समुद्र पार गरे पनि रगतको साइनो न हराउँछ, न त मेटिन्छ । चिन्ता र चासो लिनु मानवीय गुण पनि हो । जन्मेपछि जीवन गुजार्ने सिलसिलामा नेपालगन्ज, दाङतिर घर खर्च टार्न नसक्दा देहव्यापार अ“गाल्न परेको यथार्थ चित्रण गरिएको छ । जसबाट सिर्जित घटना परिघटनामा अमेरिकन दम्पती नेपाल आउँदा झाडीमा फालिएको बच्ची भनि कागज गरेर लगेको भाग्यमानी पात्रा हो, ‘छोरीले जन्माएकी आमा ।’ जतिनै सुखसयल वा सुविधा सम्पन्नमा हुर्के, बढे र पढे पनि आखिर उमेर पुग्दै गएपछि आफैंले आफैंलाई बारम्बार सोधिरहन्छ, ‘म को हुँ’ । अमेरिकनसँग रूप, रङ, वर्ण, उचाइ नमिलेपछि साथमा भएका बाआमासँग छोरी हनीले सोधी, ‘म कहाँ जन्मेकी हुँ ? जन्म दिने आमा को हुन् ?’ जुम्त्याह दिदीबहिनीमध्ये बहिनीलाई अमेरिकन दम्पतीले काख लिएर डाक्टर पढाएको कथाभित्र जन्म दिने र कर्म दिने बाआमाको भूमिकालाई प्रस्तुत गरिएको छ । जन्मदिने आमाले २४ वर्षपछिको भेट्मा रुदै भनी, ‘छोरी, मलाई माफ गर । मैले तिमीलाई पाल्न नसकेर बेच्नु प¥यो (पृष्ठ ४६) ।’

जन्मविवाह र मृत्यु लेखिएरै आएको हुन्छ रे ! जन्मेर उमेर पुग्दै गएपछि विपरीतलिंगीसँग आकर्षित हुँदै जानु स्वभाविकै हो । लिलीयानको बिहेअघि केटाले बन्दुक पड्काउदै फेरि अर्को केटी खोज्ने । केटीले पनि केटा साथी फेरिरहने चलनलाई देखाउन खोजिएको छ । त्यो उमेरमा रमाइलो गर्ने, बार जाने, कुनै ‘सिंगल’ छ भने सोधिखोजी गर्नेजस्ता प्रेममिश्रित प्रसंगले किशोरकिशोरीको मनोविज्ञान उद्घाटित गरेको छ । सन्तानप्रति अभिभावक जहिल्यै सतर्क हुने गर्छ र हजुरआमाले सम्झाउँदै भन्छे, ‘केटाहरूसँग एउटा पानी भरिएको बन्दुक हुन्छ । मौका मिल्यो कि केटीलाई हान्छन् । शर्तक हुनु (पृष्ठ४९) ।’ जस्लिनको सहयोगमा नेपाली राजीवको लिलीयानसँग भेट हुन्छ र प्रेम यात्राले विवाहको मोडमा पु¥याउँछ । तर लेखनीको गाम्भीर्यताले के देखाउँछ भने केटीको परिवारलाई हिन्दु संस्कार स्वीकार गराउन धेरै पापड पेल्नुपरेबाट कुनै देश विशाल र समृद्घ हुँदैमा आआप्mनो धर्म, संस्कार, संस्कृति कहिल्यै सानो हुँदैन भन्ने सन्देश दिएको भेटिन्छन् । विभिन्न राज्यको आआप्mनै नीति नियमदेखि टेक्सासबाट म्यासचुसेट्स स्थान्तरण गरेर छोरा रायनलाई जन्म दिएको कथाभित्र अमेरिकन कटरवादी र हिन्दु संस्कारलाई प्mयुजन गरेर लेखिएको लिलीयानको बिहे चाखलाग्दो र दुई देशबीचको धर्म विनिमयले सद्भाव बढाएको छ ।.

संग्रहभित्रका ११ वटा कथाले जानकारीमूलक र जीवनोपयोगी सन्देश बोकेका छन् । जसले ‘धर्तीमुनिका तारा’लाई खँदिलो र शक्तिशाली बनाएको छ भने देशप्रेम र नेपाली माटोको सुगन्ध भेटिन्छ ।

गरिब देशको धनी मान्छे– घरबारविहीन मान्छे के गरिब मुलुकमा मात्र हुन्छ त ? एउटा जीवन मागिखाने हुनु वा कुलतमा फस्नुको मूल जरो के हो ? प्रश्नहरू आफैं ‘होमलेस’ अवस्थामा भेटेपछि लेखक महेश्वर पन्तले उद्घार गर्दै उत्तर खोज्ने प्रयासमा लागेको देखिन्छ । काला वर्णको ज्याभिएर हकको अँध्यारो बाटो र आमाको जेलजीवनले अमेरिकामा काला वर्णको इतिहासमात्र कोट्याउँदैन, काला समुदायको आप्mनै मूल्य मान्यता हुन्छ, जसको पसिना पिएर बाँचिरहेको देशलाई हामी सधैं दिइरहनसक्ने ‘धनी मान्छे हौं’ भन्ने भनाइले यो कथा बलियो बनाएको छ । अनावश्यक झमेला र मुद्दा हाल्ने, अन्याय, अत्याचार र हेपाह प्रवृत्तिले गर्दा काला कुबाटोमा लागेर चोर्ने, अपराध गर्ने गरेको प्रसंगले पात्र ज्याभियर हकको पक्षमा उभिन मन लाग्छ । राज्यले हेर्ने दृष्टीकोणमा परिवर्तन खोज्दै कुलतमा लाग्नुको कारण प्रकाश पारेको छ । कथा अन्त्यमा आमा छोराको भेटले सुखानुभूति दिलाउँदै ‘संसारका सबै मान्छे अटाउने एउटा फूलबारी हो अमेरिका’ भन्दै बचाउ पनि गरेका छन् लेखकले ।

कथानक शृंखलामा नारी गरगहना र सुन्दर पहिरनमा देखिने सुन्दरता र नाङ्गो शरीरमा देखिने सुन्दरतालाई खुलेरै बहसमा ल्याएको छ ‘धर्तीमुनिका तारा’ शीर्षकले । ‘फोक्सी लेडी’ लेखिएको बोर्डमुनिबाट भित्रपसेपछि अँध्यारा, उज्याला, रोमाञ्चक, आशा, भरोसामा अल्झेका डिजिटल पुस्तालाई विभिन्न आयामहरूमा देख्न र महसुस गर्न सकिन्छ । नग्न सुन्दरीहरूको नृत्यलाई कस्तो नजरले हेर्ने ? त्यो कथा पढ्ने पाठकमा भर पर्छ । कसैले बाध्यता, रहर त कसैले सृष्टिकर्ताका अंशहरू भेट्लान् । स्तनको मुन्टा मात्र छोपिनुमा ‘स्तनको मुन्टा आमा हुन् रे ! त्यसैले ढाक्नुपर्छ (पृष्ठ १११०।’ यस्ता विषयवस्तुलाई तर्क र बहसमा ल्याउनु लेखकीय चतु¥याइँ पनि हो कथाकारको । नग्न तरुनीहरूले पुरुषमाथि सबथोक गरे पनि पुरुषले कसैको पेसाप्रति कुदृष्टि राखेर नियमको उल्लंघन गरेमा कस्तो सजाय भोग्नुपर्छ ? भन्ने पाठ मजाले सिकाएको पाइन्छ । टियारा पात्राले आफ्नो नाङ्गो शरीर पुस्तकमा छापेर बाध्यता र अवस्थालाई देखाउन चाहनु त्यो राज्यमाथि थप्पड हान्नुसरह हो । वास्तवमै ‘धर्तीमुनिका तारा’ कथाभित्र रहस्यमयी मिठो सन्देश लुकेको आभास हुन्छ ।

लेख्दालेख्दै आफैंलाई धर्मसंकटमा पार्नु नै लेखकले कथामा विविधता ल्याउनु हो । कुनै पनि देशको धर्म, संस्कार, संस्कृति त्यो मुलुकको मेरुदण्ड हो । जो रहेन भने राज्यको संरचना धर्मराउँदै जान्छ र भविष्यमा ढल्न सक्छ । जजमानी काम गर्ने पात्र गोपीशंकर डिभी चिट्ठा परेर अमेरिका पुगेपछि फरक काममा अल्झेको जीवनले अप्ठ्यारा र बेमेल संस्कारसँग जोतिनु परेको वास्तविक घटना उतारेको छ । विदेशमा भाषाको समस्या उस्तै । इसाईको देशमा पण्डित्याइँ काम पाउनु सजिलो के होला र; अन्य काम गर्दाको अनुभवले डलर त्यसै फल्दैन भन्ने जानकारीमूलक प्रसंग भेटिन्छ भने युवायुवतीले आज कमायो आजै खर्च गर्ने मनोविज्ञानलाई पनि उतारिएको छ । श्रीमतीको इच्छाविपरित गर्दा बलात्कार हुने, श्रीमतीलाई चित्त नबुझे अनेक मुद्दामा फसाउनेजस्ता कथा सन्दर्भले समान न्याय खोजी गरेको छ । संस्कार संस्कृतिलाई समयले ओझेलमा पार्न सक्छ भने फेरि जोड्ने काम पनि गरेको हुन्छ । यस्ता अनुभव र भोगाइ साहित्यमार्फत बाहिर ल्याउनसक्नु पनि लेखनकलाको एउटा दृष्टान्त हो ।

इस्टेट– छिमेकी बेन्जामिन बूढाको जीवन वृत्तान्तदेखि भियतनाम लडाइँसम्मको कहानीले पढ्नमा हुटहुटी जगाउँछ । एक्लो भएको भूपू आर्मीलाई बफादार दुई कुकुरले साथ दिँदादिँदै बूढाको जीवनलिला समाप्त भएको मार्मिक कथावस्तुले स्तब्ध बनाउँछ । सन्तान हुँदाहुँदै जीवनको उत्तरार्धमा साथ सहयोग नपाउँदाको पीडा पोखेर मानवीय संसार कतातिर मोडिँदै छ भन्ने तितो तर सत्य लाग्ने भविष्यवाणीले सोचाइमा पार्छ । बेन्जामिनले संसार छाडेपछि रित्तो घरमा सन्तानकोभन्दा मानवेतर पात्र डेनी र हबीलाई बढी सम्झनायोग्य बनाएको लेखनले कुनै स्वार्थ, ईष्र्या, क्रोध कुकुरमा हुँदैन । बरु, बफादारी र कर्तव्यनिष्ठ हुन्छ भन्ने मिठोशैलीको लेखन बुनोटले जीवन के हो ? बुझाउने कोसिस गरेको छ ।

‘टोपीको छोरो’ शीर्षक हेर्दै पढूँ लाग्ने । पुँजीवादीले श्रमिकका दिमागमा एकप्रकारको छाप ‘हप्तामा पाँच दिन काम गर, दुई दिन मोज गर’ लगाइदिएको अवस्था छ । त्यसले कामदार कहिल्यै पुँजीपती बन्न सक्दैन । कमाए पनि बचत गर्न सिकाउँदैन । दालभात, म.म., गुन्द्रुक, मस्यौरालगायत नेपालीस्वाद र नेपाली उत्पादनलाई विदेशमा पु¥याएर कथाकार पन्तले एउटा नमुना प्रस्तुत गरेको छ । विदेशीलाई नेपाली खाना चखाउने, चिनाउने र प्रचार गर्ने प्रयासमा साहित्यले ठूलो भूमिका खेलेको प्रमाण हो, ‘टोपीको छोरो’ । अमेरिकाले देशहरू लुट्दै कब्जा गरेका सांकेतिक लेखले महत्वपूर्ण सन्देश प्रवाह गरेको छ । शरणार्थी भएर भविष्य खोज्न अमेरिका छिर्नेको पीडादायी जीवन । बोर्डरमा डम्बर र मार्टिनाले गरेको संवादमा आआप्mनो राज्यका घटिया संचालकको अकर्मण्यताले गर्दा जोखिमपूर्ण बाटाहरूबाट अमेरिका छिर्नु परेको वास्तविकतालाई छताछुल्ल पोखेको छ । अवैधानिक बाटोबाट अमेरिका पस्नेको कहानीले अरू नेपालीलाई रोक्ने प्रयासमा डम्बरजस्तै टोपीवाल नेपालीलाई सतर्क गराएको छ, यो कथाले ।

संग्रहभित्रका ११ वटा कथाले जानकारीमूलक र जीवनोपयोगी सन्देश बोकेका छन् । जसले ‘धर्तीमुनिका तारा’लाई खँदिलो र शक्तिशाली बनाएको छ भने देशप्रेम र नेपाली माटोको सुगन्ध भेटिन्छ । अमेरिकामा नेपालीले भोगेका अनेकन् दुःख, पीडा, झन्झट सविस्तार उतार्न सक्नु नै लेखनीको सौन्दर्य हो । कथाहरू लामा र एउटै शिर्षकमा उपशीर्षक भएकाले कथासंरचनामा केही अस्थिरता ल्याए पनि हाइलाइट गरिएको पदावलीले फेरि लयमा फकाउँछ । सामान्य होस् या गम्भीर विषयलाई सरल भाषामा ढालेर रसज्ञ बनाउनसक्ने लेखनशिल्प कथाकार महेश्वर पन्तको विशेषता हो । शब्द छनोट, भाषाशैलीको मिठासपन, कथाको उत्कृष्ट बुनोट र आफैंले भोगेसरह लेखिएको कलात्मक प्रस्तुतिले ‘धर्तीमुनिका तारा’ ज्ञानद र संग्रहणीय बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाली माटोको सुगन्ध