पोखरा । धवलागिरि आरोहणमा गएका रुसका पाँच जना हिमाल आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुको खोजी गर्ने क्रममा मृत फेला पारिएको खबर आएको पर्यटन विभागका साहसिक तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जनाए ।
उनका अनुसार शव संकलन भइसकेको छैन । तर, मंगलबार दिउँसो पौने २ बजेतिर प्रभू हेलिकोप्टरले शव लोकेट गरेको हो ।
मृत्यु हुनेहरूमा रुसी नागरिक अलेक्जेन्डर दुशेयेको, ओलेग क्रुग्लोभ, भ्लादमिर चिस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री श्पिलेभोइ हुन् । उनीहरु पाँचैजना रुसका चर्चित र अनुभवी आरोही हुन् ।
१४ जना आरोही २ टिममार्फत धवलागिरि हिमाल आरोहणका लागि गएका थिए । त्यसमध्ये ६ जनाले आरोहण गर्न नसक्ने भएपछि फर्किएका थिए । बाँकी ८ जनामध्ये २ जनाले सफल आरोहण गरी आधार शिविरमा फर्किसकेका छन् । बाँकी ६ जना पनि आरोहणमा जाँदै गर्दा एक जना बीच बाटोबाटै आधार शिविरमा फर्किएका थिए । आरोहणका लागि अघि बढेका ५ जनाको भने ज्यान गएको हो । त्यस क्षेत्रको मौसम प्रतिकूल रहेकाले आधार शिविरमा झार्न नसकिएको पर्यटन विभागले जनाएको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पर्यटन विभागले शव ल्याउनेमा आफूहरुले समन्वयमात्र गर्ने बताए । उनीहरुसँगै गएका गाइडमार्फत आरोहीको मृत्यु भएको खबर बाहिरिएको हो ।
आरोहणका क्रममा ८ हजार मिटर हाराहारीमा पुगेपछि थप अगाडि बढ्न नसक्ने निष्कर्षसहित आइतबार तल्लो शिविरमा फर्कने निर्णय लिएका आरोहीहरुको मृत्यु भएको निर्देशक गुरुङले बताए । ‘आफूहरु फर्कने निर्णयमा पुगेको जानकारी उनीहरुले आफ्ना साथीलाई आधार शिविरमा गराएका रहेछन्,’ गुरुङले भने । तर, रातको ११ बजेपछि उनीहरुसँगको सम्पर्क टुटेको थियो । सोमबार दिनभर गरिएको खोजी अभियानपछि मंगलबार बिहान मात्र मृत फेला पारिएको हो ।
आइएएम ट्रेकिङबाट यस सिजनका लागि १४ जना रसियन आरोहीले अनुमति लिएका थिए ।