पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा तेस्रो संस्करणको क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ ।
नेपाल–चीनबीच सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यका साथ आगामी २४ कात्तिकमा सो प्रतियोगिता हुन लागेको हिमालयन टुरिजम फोरम अध्यक्ष विश्वशंकर पालिखेले बताए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सो प्रतियोगितामा नेपाल र छिमेकी मुलुक चीनका खेलाडीले भाग लिने बताए । यसबाट पोखरा र यस क्षेत्रको पर्यटन प्रवद्र्धन साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमासमेत सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको उनले बताए ।
दौड, साइकलिङ र बोटिङ गरी ५० किलोमिटरको दुरी पार गर्नुपर्ने हुन्छ । चिनियाँ खेलाडीहरु २२ कात्तिकमा चीनको कुनमिङबाट चार्टर उडानमार्फत पोखरा आउने छन् । नेपालका विभिन्न ठाउँबाट आउने प्रतियोगीहरुका लागि आयोजकले यातायातको व्यवस्था गर्ने जनाएको छ ।
लेकसाइडको वाराहीघाटबाट सुरु हुने प्रतियोगिता छोरेपाटन, फुस्रेखोला, रामदी, मट्टीखान, स्याङ्जाको फेदीखोला, रामकोट कुभिन्डे हुदैँ पुम्दीभुम्दी, विश्व स्तुपा, फेवाताल, खपौदी हुदैँ पुन वाराहीघाट फर्किनेछ । फेवातालमा बोटिङ प्रयोग गर्नेछन् भने, रामदी तथा मट्टीखानमा साइकल प्रयोग गर्नेछन् । जसको कुल दुरी ५० किमी हुनेछ ।
चिनियाँ राजदुतावास, नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, गण्डकी सरकार र पोखरा महानगरको आर्थिक सहयोग रहने आयोजकले जनाएको छ । प्रतियोगितामा १ करोड ३६ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
टिम समूह, च्यालेन्ज इण्डिभिजुअल समूह, विद्यार्थी दौड र ह्याप्पी रन समूहमा सहभागिता जनाउन सक्नेछ । टिम समूहमा ३० वटा मिश्रित टिम रहने मिडिया संयोजक इ. प्रतीकराज पहारीले बताए ।