भोजपुर । लकडाउनका कारण देशका धेरै योजनाहरु प्राय ठप्प छन् । तर भोजपुरमा भने विभिन्न ठूला योजनाहरुको काम सञ्चालन भइरहेको छ । लकडाउनले गर्दा केही दिन रोकिएका आयोजनाका कामहरु कामदारको सुरक्षालाई पूर्ण रुपमा ध्यानमा राख्दै पुनः सञ्चालनमा ल्याएको हो ।
सरकारले महत्वपूर्ण योजनाहरु सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामलाई निरन्तरता दिइएको हो । मजदुरको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै काम गर्ने मजुदरलाई बाहिर जान नदिएको र बाहिरका कसैलाई संलग्न नगराई कोरोना संक्रमणबाट सुरक्षित राखेर काम सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
योजनाको काममा कुनै पनि बाधा अबरोध भएमा सम्बन्धित स्थानीय तहसंग समन्वय गरेर निर्माणका लागि आवश्यक पर्ने सहयोग गरिरहेका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए । प्रजिअ पुरीले भने, ‘हामीले जिल्लामा सञ्चालनमा रहेका महत्वपूर्ण योजनाहरुलाई कोरोनाबाट बच्न आवश्यक मापडण्ड पूरा गरेर सञ्चालन गर्न अनुमति दिएका छौ, कार्य स्थलमा बाहिर कामदार ल्याउन मनाही गरेका छौ भने कार्य स्थलमा भएका कामदारलाई बाहिर जान रोक लगाएर काम गर्ने वातावरण मिलाएका छौ ।’
प्रदेश १ सरकारको लगानीमा पूर्वाधार विकास कार्यालयअन्र्तगत भोजपुर नगरपालिका र रामप्रसादराई गाउँपालिका जोड्ने पिखुवा खोलाको पुल, रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिका जोड्ने कावाखोलाको पुल, टेम्केमैयुङ गाउँपालिका र रामप्रसाद राई गाउँपालिका जोड्ने सिक्तेल खोलाको पुल र रामप्रसाद राई गाउँपालिकाको आरीखोलामा बनिरहेको पुलको काम सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै टक्सार–पिखुवा खोला हाइड्रोपावर, जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इर्खुवा खोला जल विद्युत आयोजना, चिर्खुवा खोला जल विद्युत आयोजना लगाएतको काम पनि निरन्तर चलिरहेका छन् । योजनाका काममा सञ्चालनमा रहेका ढुवानीका साधनहरुलाई पासको व्यवस्था गरिएको छ भने, कामदारहरुको स्वास्थ्य परिक्षणसंगै कार्य स्थलमा सामाजिक दुरी कायम गरिएको छ । ‘‘योजनामा सञ्चालनमा ल्याइएका ढुवानी साधनलाई पास दिएका छौ, कामदारको स्वास्थ्यको विषयमा हामीले निग्रानी गरिरहेका छौ, भने सम्बन्धित निर्माण कम्पनीसंग निरन्तर कुराकानी गरिरहेका छौ, जसको कारण कामदारलाई कोरोनाको कुनै खतरा छैन ।’’ प्रजिअ पुरीले भने ।
योजनाको काममा समस्या नहोस भनेर इन्धनको लागि पनि प्रशासनले सहजीकरण गरेको छ । मध्ये पहाडी सडक निर्माण आयोजना लगाएत अन्य केही योजनाका कामदारहरु भने लकडाउन सुरु भएपश्चात घरतर्फ गएकाले कामले निरन्तरता पाएको छैन ।






