राष्ट्रभक्त वीर सपूतको त्याग र बलिदानले हाम्रो देश विश्वकै एक स्वतन्त्र राष्ट्रका रूपमा संरक्षित हुँदै आएको विदितै छ । सर्वप्रथम सन् १६०० तिरै ब्रिटेनले तत्कालीन स्वतन्त्र राज्य न्यु फाउडल्यान्डलाई आफ्नो कब्जामा लिई प्रारम्भ गरेको उपनिवेशवादी नीति क्रमशः विस्तारित गर्दै सन् १८१६ सम्म आइपुग्दा विश्वभर फैलायो । कहिल्यै सूर्यास्त नहुने मुलुकका रूपमा चिनिँदै आएको बेलायतका लागि नेपाल भने आकाशको फलजस्तै पहुँचबाहिरै रह्यो । त्यस्तो हुनुको प्रमुख कारण हाम्रा अग्रज पुर्खाहरूकै बहादुरीको परिणाम थियो । वीर पुर्खाद्वारा संरक्षित यही हाम्रो मातृभूमि अहिले भौगोलिक रूपमा क्रमशः खुम्चि रहँदा उनै वीर पुर्खाका सन्तान हामी निरीह बन्दै आएका छौं । निरीह अवस्था पनि निजी स्वार्थमा लिप्त भई राज्य सञ्चालन गर्दै आएका नेताकै कारण उत्पन्न भएको कुरा हामी सबैले अनुभूति गरेकै छौं ।
(क) सुगौली सन्धि अघिको नेपाल
एकताका हाम्रो मुलुक पूर्वमा टिस्टादेखि पश्चिममा हालको भारतको उत्तराखण्डमा पर्ने कुमाउ गहढवाल पश्चिमको सतलज नदीसम्म फैलिएको थियो । पछि पुनः खुम्चिएर अलकन्दा नदीसम्म कायम भयो । बृहत् नेपाल भनी चिनिने त्यसबखतको नेपालको भूक्षेत्र विशाल थियो । व्यापार व्यवसाय गर्ने निहुँमा करिब सन् १७०० कै प्रारम्भमा भारत प्रवेश गरेका अंग्रेजले क्रमिक रूपमा भारतको राज्य व्यवस्थाउपर नै आफ्नो प्रभुत्व स्थापित गर्दै अन्ततः भारतलाई नै कब्जामा लिएर शासन सञ्चालन गरे । त्यसपछि दक्षिण एसियाका अन्य मुलुकहरू पनि क्रमशः अंग्रेजको अधीनस्थ बन्दै आए । विस्तारवादी नीतिकै क्रममा नेपालउपर पर्दै आएको अंग्रेजको गिद्देदृष्टि राष्ट्रभक्त वीर सपूतले बिफल बनाउँदै ल्याए । वीर नेपालीहरूले राष्ट्र रक्षार्थ पूर्वको हालको पर्सादेखि पश्चिमको नालापानी, देउथलसम्म सातवटा युद्ध अंग्रेजसँग लडेका थिए ।
मुलुक रक्षार्थ राज्यको सेना मात्र होइन, रामचन्द्र प्रसाई र जयनारायण थापामगरजस्ता राष्ट्रभक्त सामान्य नागरिककै भूमिका भएका व्यक्तिहरू आफ्नो भएको श्रीसम्पत्ति नै राष्ट्रलाई सुम्पेर जनसेना बटुलेर युद्धमा सहमागी भएका थिए । अन्ततः नेपाल र अंग्रेजबीच सन् १८१६ अर्थात् १८७२ सालमा सुगौली सन्धि भएपछि नेपाल र अंग्रेजबीचको युद्ध अन्त्य भएको थियो । सुगौली सन्धिपछि हाम्रो मातृभूमि बृहत्तर क्षेत्रबाट निश्चित क्षेत्रभित्रै सीमित भयो । १८७२ पुसमा भएको सुगौली सन्धिको दफा ५ मा उल्लिखित अंग्रेजको यही एकपक्षीय करारनामाले नेपालको कालीनदी पश्चिमको सम्पूर्ण भूभाग भावी सन्ततिले समेत दाबी गर्न नपाउने प्रस्ताव अंग्रेजले अघि सारेको थियो । सो दफाको पूर्णरूप यस्तो छ ः
‘दफा पाँचौं ‘५’ राजा निपाउल काली दरियाव पछिमका सबमूलुक । क्या आफ्ना तरफबाट क्या सन्तानका तरफबाट । क्या भाई भैयादबाट । पुस्त दरपुस्त छोडिकन कसैतरहले पनि । उसको दाबा नगर्नु । औ येस मुलुकमा र । येस मुलुकमा रहन्या मानिस माथि । कौने तरहको इलाका र सरोकार नराषनु भनि करार गर्छन् ।’
(ख) सुगौली सन्धिपछिको नेपाल
अंग्रेजीमा अनुवादित यही दफाको नेपाली रूपान्तरण यस्तो छ ः
‘धारा पाँचौं’ ‘काली नदीका पश्चिममा परेका प्रदेशहरूमा निपाउलका राजाले आफू स्वयं, आफ्ना प्रतिनिधि तथा उत्तराधिकारीहरूका सारा दाबाहरू त्याग्नेछ र ती देशहरू र त्यहाँका निवासीहरूसँग कुनै सम्पर्क कहिल्यै राखिनेछैन ।’ तर, अंग्रेजको यो एकतर्फी करार नेपालका लागि मान्य भएन । यसप्रतिको नेपाल पक्षको असन्तुष्टिलाई साम्य पार्न अंग्रेजले लगत्तै दक्षिण तराईका केही भूभाग वा गण्डक नदीदेखि गोरखपुर जिल्लाको सीमादेखि उत्तरको साविकको नेपालको बुटवल, स्युराजक्षेत्र नेपाललाई नै फिर्ता दिने अर्को निर्णय गरेर सुगौली सन्धिलाई पूर्ण गराएको थियो ।
अंग्रेजविरूद्ध वीर नेपालीले राष्ट्र रक्षार्थ पूर्वको पर्सादेखि पश्चिमको नालापानी, देउथलसम्म सातवटा युद्ध लडेका थिए । सुगौली सन्धिद्वारा निर्धारित हाम्रो मातृभूमिको संरक्षण गर्न समस्त देशभक्त नेपाली अब जागरूक बनौं
तथापि, सुगौली सन्धिले निर्धारित गरेको यही क्षेत्रभित्रकै कालापानी पश्चिमको भाग हाल भारतले कब्जा गरेको छ । सो क्षेत्रस्थित गुन्जी, नाबी र कुटी प्रमुख नेपाली बस्ती हुन् । सो क्षेत्रका नेपालीले परम्परागत रूपमा जोतभोग गर्दै आएको जग्गाको धनीपुर्जा, सालिन्दा नेपाल सरकारलाई बुझाउँदै आएको सरकारी दस्तुर तथा नेपाल सरकारले उनीहरूलाई प्रदान गरेको सरकारी निस्सा लागेका कागजातले नै उनीहरू नेपाली भएको र उनीहरूले बसोबास गर्दै आएको भूमि नेपालको भएको प्रमाणित गर्छ ।
सुगौली सन्धिले नेपाललाई पूर्वको मेची नदीदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराएको सबैभन्दा भरपर्दो अर्को प्रमाण भारतकै सो क्षेत्रको कुमाउ प्रदेशले सुगौली सन्धिको लगत्तै पछि वा सन् १८१९ मा सर्वप्रथम जारी गरेको सो क्षेत्रको भौगोलिक नक्सा हो । जसमा लिम्पियाधुरालाई नेपाल र भारतको सीमा क्षेत्र देखाइएको तथा लिम्पियाधुरा पूर्वको भूभाग नेपालको देखाइएको छ । सो क्षेत्र हुँदै बग्ने कालीनदी नेपाल र भारतको सीमा नदी देखाइएको छ । कुमाउ प्रदेशले सन् १८१९ मा जारी गरेको नक्साले नै सो तथ्य बताउँछ ।
यसका अतिरिक्त सर्भे अफ इन्डियाले सन् १८२७ मा जारी गरेको कुमाउ गहढवालको अर्को भौगोलिक नक्सा, भारतले नै जारी गरेको सन् १८३० को हिन्दुस्थानको पश्चिमी क्षेत्रको नक्सा, भारतले नै जारी गरेको सन् १८९४ को कुमाउ गहढवालको अर्को नक्साले समेत लिम्पियाधुरासम्मको भूभाग नेपालको भनी बोलिरहेको छ । नेपालको यो भौगोलिक क्षेत्र सुगौली सन्धिले कायम गरेको हो । सुगौली सन्धिले निर्धारण गरेको माथि उल्लिखित कालापानीदेखि लिम्पियाधुरासम्मको क्षेत्रमा रहेका उल्लिखित गुन्जी, कुटी र नाबी प्रमुख नेपाली बस्ती अहिले भारतको उत्तराखण्ड राज्यभित्र पर्ने १३ जिल्लामध्येको पिथौरागढ जिल्लामा गाभिएका छन् । सुगौली सन्धिले निर्धारण गरेकै भूमि फर्काउन सरकारका तर्फबाट सशक्त कारबाही हुन नसक्नु दुःखद हो ।
यसका अलावा नेपालका २३ जिल्लाका ७१ स्थानमा अतिक्रमण भएको छ । प्रमाणित रूपमा सो भूमि नेपाली भए पनि व्यवहारमा जबर्जस्ती भारतीय भूमि बनाइएको छ । तथापि, राज्य सञ्चाालक नेताहरू भने राष्ट्र दिन प्रतिदिन खुम्चँदै गएको थाहा पाएर पनि थाहा नपाएझैं गर्दै आएका छन् ।
(ग) व्यवहारमा अहिलेको नेपाल
सुगौली सन्धिले निर्धारण गरेको भन्दा व्यवहारमा अहिले नेपालको करिब ६० हजार हेक्टर भूमि खुम्चिएको छ । उल्लिखित विवादास्पद बनाइएका स्थानमध्ये भारततर्फकै कुरा गर्ने हो भने भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये २१ जिल्लाका ५४ स्थान बढी विवादास्पद बनाइएका छन् ।
यस्ता ५४ स्थानमध्ये इलामको सन्दकपुर, पशुपतिनगर, मानेभञ्ज्याङ्, झापाको भद्रपुर, महेशपुर, पाठामारी, काँकडभिट्टा (मेचीपुल), कोराबारी, सप्तरीको लालापट्टी, कुनौली, पर्साको वीरगन्ज उपमहानगरपालिकाको सार्कीटोल, ठोरी, बर्दियाको गुलरिया नपाको चौगुन्जी, कैलालीको कुसुमघाट, कौवाखेडा, कञ्चनपुरको पारासनको बीचफाँट, प्याराताल, टनकपुर प्रमुख अतिक्रमित क्षेत्र हुन् । भारतका तर्फबाट मात्र अहिले नेपालको कालापानीदेखि लिम्पियाधुरासम्मको ३७ हजार हेक्टर, सुस्ताको १४ हजार हेक्टर र अन्य ५२ स्थानको ९ हजार हेक्टर गरी कुल ६० हजार हेक्टर क्षेत्रफल अतिक्रमित भएको छ । सो क्षेत्रका नेपाली नागरिकलाई जबर्जस्ती भारतीय बनाइएको छ । कतिपय स्थानमा स्थानीय नेपालीहरू नै आफ्नो नेपाली भूमि भारतीय पक्षबाट अतिक्रमण भएको विरोधमा उत्रँदै पनि आएका छन् । नेपालीले गरेको विरोधलाई नियन्त्रण गर्ने क्रममा कतिपय स्थानमा भारतीय पक्षबाट सांघातिक आक्रमण हुँदा नेपालीको ज्यानै गएको छ । कतिपय सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरू नै गायब पारिएका छन् । कतिपय क्षेत्रमा दसगजामै भारतीय बस्ती छ । तथापि, सत्ता संकटमा पर्ने डरले सत्तासीन नेताहरू भारतीय पक्षसँग खुलेर बोल्ने हिम्मत नै गर्दैनन् । नेताकै सत्तास्वार्थले अहिले ३ करोड नेपाली नै निरीह बनाइएका छन् । के कुन स्थानको ६० हजार हेक्टर भूमि अतिक्रमित भएको हो ?
लोकतन्त्र त नेपालमा आयो । जनताले विश्वास गरेकै नेताहरूबाटै बराबर राज्य सञ्चालित पनि भयो । तर, उनै जनविश्वास प्राप्त सत्तासीन नेताले नै देश र जनताप्रति घात गर्दै आए । हाम्रो राष्ट्रिय स्वाधीनता नै विदेशीलाई सुम्पिए । दलीय एवं निजी स्वार्थको पराकाष्टाले राष्ट्रिय अस्तित्व नै संकटमा पार्दै ल्याए । नेताहरू विदेशीको पिछलग्गु बन्दा राष्ट्रहितकै कार्य हुन सकेन । यसैको परिणाम हो माथि उल्लिखित भारतबाटै प्रकाशित नक्साले आफैं बोलिरहेकै सत्य कुरा पनि बोल्न नसक्ने नेता हुतिहारा भए ।
अब नेपालीले यिनै हुतिहारा नेताकै छत्रछायाँमा रहिरहने कि ? निस्वार्थ ढंगले देश र जनताको हित गर्नसक्ने सक्षम, इमानदार र लोकप्रिय नेताको हातमा राज्य सत्ता सुम्पने ? यो कुरा जनताले बुझ्न जरुरी छ । अन्यथा उनै पुराना, बराबर सत्तामा पुग्दा दुर्गन्धितै बन्दै आएका, विदेशीकै बुइ चढ्ने निरीह व्यक्तिकै हातमा सत्ता सुम्पिरहेसम्म नेपाल र नेपालीको कल्याण हुँदैन । मुलुकको स्वाधीनता नै संकटमा पर्नसक्छ । यसर्थ, माथि उल्लिखित सुगौली सन्धिले निर्धारण गरेकै हाम्रो मातृभूमि संरक्षण गर्न समस्त देशभक्त नेपालीहरू नै अब जागरुक बनौं ।