खुल्ला त अब स्वास्थ्य अनुसन्धानको ढोका ?

मेरा एक जना आत्मीय साथी स्वास्थ्य अनुसन्धानका २० वटा जति कृति प्रकाशित गरिसकेपछि वैज्ञानिकका हैसियतमा काम गर्न भनी युरोप, अमेरिकाका अनुसन्धानात्मक ल्याबको खोजीमा थिए । कोरोना भाइरसको डरपछि उनी नेपालबाटै ‘अप्लाई’ गर्ने भनी स्वदेश फर्किए । तर, उनले जान इच्छाएका मुलुकमा संक्रमणको महामारी चर्कंदै गर्दा ‘अब त अवसर पाउन कठिन पर्ला है ?’ भन्ने मेरो प्रश्नमा ‘अब त अवसर झन् बढी पो पाइन्छ, स्वास्थ्य अनुसन्धानको माग बढ्छ’ भन्ने स्वाभाविक जवाफ दिए । कोभिड–१९ को परीक्षणका लागि अमेरिकाको एउटा प्राइभेट रिसर्च ल्याबले उनीजस्तै पीसीआर (पोलिमरेज चेन रियाक्सन) को काम गर्न सक्ने स्वयंसेवक अनुसन्धाता माग गरेको देखाउँदै त्यहाँ स्वयंसेवक भएर योगदान दिने इच्छा जाहेर गर्छन् । तर, नेपालमा रहेका उनी र उनीजस्तै अब्बल प्राविधिक जनशक्ति भने अहिले सरकारको भाँडभैलोपूर्ण हर्कत हेर्दै फेसबुक अनि ट्वीटर जस्ता सामाजिक सञ्जालमा बैचन पोख्न विवश छन् । सन्दर्भ उही तर स्थान फरक छ । विश्व अहिले कोभिड–१९ सँग भिड्दै छ । रोगको सम्भावित खतराले इटाली, स्पेन, फ्रान्स तथा संयुक्त राज्य अमेरिकाजस्ता स्वास्थ्य सुविधा व्यवस्थामा अग्रणी राष्ट्रहरू संक्रमितको औषधोपचारका साथसाथै औषधि तथा खोप (भ्याक्सिन)को अनुसन्धानमा व्यग्रताका साथ लाग्दै गर्दा हामीले भने विपद्का लागि किनिएका तथा किन्ने निर्णय गरिएका अत्यावश्यक स्वास्थ्य सामग्रीको खरिदमा भएको अनियमितको अनुसन्धानमा शक्ति खर्च गर्नुपरेको छ ।

रोगको त्रासले आक्रान्त अनि सरकारका विवादित कार्यबीच आम जनमानसमा भने स्वास्थ्य चेतनाको स्तरले नयाँ शिखर चुम्दै छ । सबै पत्रपत्रिका स्वास्थ्य समाचारपत्र जस्ता भएका छन् । सबै लेखक, विवेचनाकर्ताका लेख कोरोना भाइरसकै सन्दर्भमा केन्द्रित छन् । राजनीतिज्ञ, कलाकारदेखि खेलाडीसम्म सबै भाइरसकै विवेचनामा लागेका छन् । घरघरमा कोभिड–१९ रोगसम्बन्धी पढिँदै र छलफल केन्द्रित गरिँदै छ । रोगबाट बच्न नियमित सरसफाइ गर्ने, सेनिटाइजर प्रयोग गर्ने, बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनेजस्ता जानकारी विभिन्न माध्यमबाट नियमित प्रवाह भएका छन् । नेटफ्लिक्स अनि युट्युबमा चलचित्र हेरेर समय व्यतीत गर्ने पनि अहिले कोरोना भाइरस र अन्तरसम्बन्धित विज्ञानका पाटा केलाइरहेका छन् । संक्रमणको डरसँगै स्वास्थ्यका लागि लाभदायिक खानाको खोजी बढेको छ । महिनौं दिनसम्म चाउमिन र मःमः का डल्लाका सट्टा घरमा बनाएका स्वस्थ खाना–खाजा खाएर कति तंग्रिएका पनि होलान् । मदिरामा रमाउने पनि अहिले फलपूmलका जुस खाँदै होलान्, आहारविहारमा भएको परिवर्तनले सकारात्मक सोच र स्वस्थ शरीर महसुस गर्दै होलान् । आशा गरौं, सबैले संकटकालीन बानीको परिवर्तनलाई जीवनभर निरन्तरता दिनेछन् ।

विदेशीले सहयोग गरिहाल्छन् भन्ने परजीवी मानसिकता त्याग्न सरकारले स्वास्थ्य अनुसन्धानका प्रयोगशाला निर्माणमा ध्यान दिनैपर्छ

एन–९५, सर्जिकल तथा फेस मास्कका प्रभावकारीको भिन्नता जस्ता प्राविधिक बहस जहाँतहीँ सुनिन थालेका छन् । एन्टिबडीदेखि -यापिड डाएग्नोस्टिक टेस्ट कीटसम्ममा धेरैले विद्वत्ता हासिल गरेका छन् । मलेरियामा प्रयोग हुने औषधि हाइड्रोक्सिक्लोरोक्विनको कोभिड–१९ मा हुने उपादयतासम्बन्धी अध्ययन हरेकको चर्चाको विषय बनेको छ । नयाँ खोप (भ्याक्सिन) तथा औषधि अनुसन्धानबाट पत्ता लगाउन अनुभवी अनुसन्धाता तथा धेरै मेहनत, पैसा अनि समय लाग्ने रहेछ भन्ने जस्ता स्वास्थ्य विज्ञानका विषय पनि धेरैको जानकारीमा आउन थालेका छन् । नेपालको स्वास्थ्य उपकरण तथा औषधिमा रहेको परनिर्भरता पनि यो प्रकोपले धेरैलाई छर्लंग पार्नुका साथै नेपालमा पनि औषधि बन्ने रहेछन् अनि करिब आधाआधीको हाराहारीका औषधि आपूर्ति स्वदेशी उद्योगले नै गर्ने रहेछन् भन्ने पनि यही समयमा धेरैले थाहा पाए । जनताको स्वास्थ्य चेतना उत्कर्षमा पुग्दै गर्दा सरकार स्वास्थ्य अनुसन्धानमा ऐतिहासिक महत्त्व दिन कत्तिको तत्पर रहला त भन्ने स्वास्थ्य अनुसन्धानमा अनुभव प्राप्त जनशक्तिको विशेष चासोको विषय बनेको छ ।

कोभिड–१९ महामारीको सिकार संसार नै भयो त्यसैले केही घण्टा लाग्ने पीसीआरका कीटदेखि केही मिनेटमै नतिजा प्राप्त गर्न सकिने -यापिड परीक्षण कीटसम्मको अनुसन्धान अनि विकास अनुसन्धानका क्षेत्रमा अब्बल देशले युद्धस्तरमा गरे । सन् २००३ मा मुख्यतः चीन, हङकङ तथा ताइवानले सार्स प्रकोपको सामना गरे । त्यसैगरी, सन् २०१२ मा साउदी अरेबिया तथा दक्षिण कोरियाजस्ता एसियाली मुलुकले कोरोना भाइरस प्रजातिकै भाइरसको संक्रमणबाट लाग्ने सार्स रोगजस्तै मर्स रोगको सामना गर्नुप¥यो । यसरी एसियाली मुलुकले संक्रामक रोगको सामना गर्दै आइरहँदा भविष्यमा पनि कुनै त्यस्ता संक्रामक रोगको उद्गमस्थल दुर्भाग्यवश नेपाल हुन पुगेमा त्यतिबेला हामीसँग चीन अनि दक्षिण कोरियाजस्तै उपचार सुविधा अनि अनुसन्धान क्षमता रोगको सामनाका निम्ति हुन जरुरी छ । त्यस अवस्थामा विदेशीले सहयोग गरिहाल्छन् नि भन्ने परजीवी मानसिकता त्याग्नका लागि स्वास्थ्य अनुसन्धानका प्रयोगशालाको निर्माणमा राज्यले ध्यान दिनैपर्छ । युद्धको एक्लो योद्धाजस्तै शक्ति सम्पन्न हुनैपर्छ । सुरुमा केन्द्रीय र त्यसपछि प्रदेशस्तरीय नयाँ ढाँचाको स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गर्न सकेमा अनुसन्धानमा फड्को मार्नका निम्ति जनशक्ति अभावको सिकायत हुने छैन । बर्सेनि आयोजना हुने वैज्ञानिक सभा र गोष्ठीलाई मात्र वैज्ञानिक विकासको क्रमलाई नतौली ठोस नतिजात्मक अनुसन्धान आजको आवश्यकता हो । नेपालका औषधिजन्य वनस्पतिको अनुसन्धानको पर्खाइलाई धेरै नलम्ब्याऔं भन्ने सम्बन्धित विज्ञका माग अब सम्बोधन गर्नैपर्छ ।

विदेशका ठुल्ठूला विश्वविद्यालयबाट स्वास्थ्य अनुसन्धानका क्षेत्रमा वैज्ञानिक ज्ञान अनि अनुभव हासिल गरी फर्केका विज्ञ जनशक्ति पनि यहाँ प्रशस्तै छन् । ती कतिपय विदेशतिरको बाटो तताउने सोचमा होलान् त कतिपय आफ्नै माटोमा संघर्ष गर्ने प्रतिज्ञा गर्दै होलान् । कतिपय माछाले रूख चढ्न संघर्ष गरेभैंm गरी क्षेत्र नै परिवर्तन गर्ने दाउमा होलान् । कतिपय व्यापार व्यवसायमा आफूलाई परिक्षित गर्दै होलान् । प्रसंगमा रहेको कोरोना भाइरस परीक्षणमा प्रयोग हुने रियल टाइम पीसीआर उपकरण विज्ञताका साथ सञ्चालन गर्न सक्ने जनशक्ति कैयौं छन् । दक्षिण कोरिया, जापानजस्ता मुलुकका विश्वविद्यालयबाट स्वास्थ्य अनुसन्धानका अध्ययन सकेर फर्केका विद्यार्थी उल्लेख्य संख्यामा छन् । त्यस्ता विज्ञहरू गैरराजनीतिक ढाँचामा संगठित रहेकाले राज्यले उनीहरूलाई हालको संकटमोचन अनि भविष्यको अनुसन्धानको कार्यदिशा तय गर्न आह्वान गर्न सक्छ । राज्यसँग पर्याप्त परीक्षण उपकरण हुन्थे त अविश्वासिला कोरोना भाइरस परीक्षण कीटको सट्टा त्यस्ता उपकरणको प्रयोगबाट कैयौं गुणा बढी परीक्षण विज्ञको संलग्नतामा सम्भव हुने थिए । ती विज्ञले परीक्षण उपकरणको खरिदमा राज्यलाई सुझाउन सक्ने थिए । ती तमाम विज्ञ संकटको यस घडीमा राज्यका निम्ति स्वयंसेवककै रूपमा पनि खटिन सक्ने थिए । प्रारम्भिक स्तरको भए पनि भाइरसउपरको केही अनुसन्धान यहीँ पनि गर्न सकिने थियो ।

महामारीपछि स्वास्थ्य अनुसन्धानलगायत स्वास्थ्य क्षेत्रमा महापुनरुत्थानको टड्कारो आवश्यकता छ

स्वास्थ्य अनुसन्धानको नयाँ विगुल फुक्न सरकारी स्वामित्वका नास्ट र राष्ट्रिय अनुसन्धान प्रयोगशाला मात्र काफी होलान् त ? नेपाल स्वास्थ्य अनुसन्धान परिषद् नयाँ अवधारणबिना जटिल अनुसन्धानमा नेपाललाई स्वर्णयुगतर्पm लम्काउन सक्ला ? यिनै अनि यस्तै प्रश्नका जवाफ खोज्नुपर्ने बेला भएको छ । नेपालका विश्वविद्यालयमा फार्मेसी, जनस्वास्थ्य, माइक्रोबायोलोजी, बायोटेक्नोलोजी जस्ता स्वास्थ्य अनुसन्धानका क्षेत्रमा बर्सेनि हजारौं थेसिस लेखिन्छ । ती विश्वविद्यालयका पुस्तकालयमा थन्किन्छन् । त्यस्ता अनुसन्धानबाट प्राप्त नतिजालाई टुसाकै रूपमा कहिलेसम्म छोड्ने, अजंगको बाँस हुन कहिले मलजल गर्ने ? यी प्रश्नउपर पनि बहस आवश्यक छ । स्वास्थ्य अनुसन्धानमा प्रख्यात जर्नलमा प्रकाशित कृतिले केवल उसकै फेसबुकमा स्थान पाउँछ, त्यो राष्ट्रिय चर्चाको समाचार नै बन्दैन । विकसित राष्ट्रमा भैंm कन्ट्याक ट्रेसिङका एप्स विकास हुँदै गर्दा स्वास्थ्य अनुसन्धानमा सोही स्तरको छलाङ मार्नुपर्ने पाठ यो संक्रमणले सिकाएको छ ।

व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । फोहोर हातले आँखा, नाक, अनुहार छोएमा कोरोना भाइरस मात्र होइन, अनेक रोगका जीवाणु शरीरमा प्रवेश गर्छन् । प्रकोपको बेलामा सिकेका तथा अभ्यास गरिएका सरसफाइना यी साधारण धारणा जीवित नै रहलान् । राज्यको बागडोर सम्हालेर बसेका पनि प्रकोप निवारणपछि स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने आमूल परिवर्तनको हेक्का कायमै राख्लान् । स्वास्थ्यकर्मीलाई सरुवा रोगको उपचारमा संलग्न हुँदाका बखतमा व्यक्तिगत सुरक्षा कवचको आवश्यकता पछिसम्मै बुझिरहलान् अनि जोहो पनि गर्दिराख्लान् । संक्रमित रोगको उपचारमा संलग्न हुँदा राज्यले दिने सुविधा जारी नै राख्ने वाचा गरी उच्च मनोबल कायम राख्न मद्दत गर्लान् ।

स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य अनुसन्धानका नेपाली विज्ञ तथा विदेशबाट अनुसन्धानात्मक अनुभव अनि ज्ञान हासिल गरेर आएकालाई राज्यले आफ्नै माटोमा अनुसन्धानका लागि मार्ग प्रशस्त गर्लान् । आफ्नो चुनावी घोषणापत्रमा स्वास्थ्य विज्ञानको विकासका एजेन्डा समावेश गर्लान् । भारतमा प्रधानमन्त्रीको निर्वाचनका क्रममा सम्भावित प्रधानमन्त्री चुनिँदा नेपाललाई पर्ने प्रभाव’bout उच्चस्तरीय छलफल चल्ने परिपाटीमा सोही देशले कोरोना भाइरस परीक्षणको कीट विकास गरेका जस्ता उदाहरणलाई सोही स्तरको छलफलको विषय बनाइयोस् । अन्तर्राष्ट्रिय उडान रोकिएर उड्न नपाएका स्वास्थ्य विज्ञानका नेपाली अनुसन्धातालाई सरकारका अनुसन्धानमैत्री घोषणाद्वारा फेरि एकपटक सोच्न बाध्य बनाओस् । माइक्रोबायोलोजिस्ट तथा बायोटेक्नोलोजिस्ट जस्ता विशिष्ट विषयको ज्ञान हासिल गरेका जनशक्तिलाई राज्यले उचित परिचालनको मार्गचित्र कोरिदियोस् । विद्यालयस्तरका विद्यार्थीमा अनुसन्धानको बीज छर्न पाठ्यक्रम परिमार्जित गरियोस् । विश्वविद्यालयस्तरीय अनुसन्धानका गतिविधिलाई राज्यले उच्च प्राथमिकतामा राखोस् । भविष्यको सम्भावित स्वास्थ्य विपद् टार्न यत्तिको अपेक्षा हामीले गर्नैपर्छ ।

भूकम्पको विनाशपछि जसरी संरचना पुनरुत्थानको आवश्यकता थियो, स्वास्थ्य क्षेत्रको यो महाभूकम्प पछि स्वास्थ्य अनुसन्धान लगायत स्वास्थ्य क्षेत्रको महापुनरुत्थानको टड्कारो आवश्यकता छ । आशा गरौं, भूकम्प पछिको पुनर्निर्माणमा नआएको व्यग्रता स्वास्थ्य अनुसन्धानका क्षेत्रमा आओस् ।
(लेखक औषधि उत्पादक कम्पनी केमिड्रग इन्डस्ट्रिज प्रालिसँग आबद्ध छन् ।)

तपाइको प्रतिक्रिया
(Visited 403 times, 1 visits today)

epaper

ताजा समाचार

रुसले बनायो नयाँ इबोला खोप