काठमाडौं । अग्रज स्रष्टा गोपाल योञ्जनको स्वरमा रहेको राष्ट्रिय भावले ओतप्रोत गीत ‘बनेको छ पहराले यो छाती मेरो…’को एआई भर्सन भिडियो तीन साता अघि ‘रिदम लेब्स’ युट्युब च्यानलमा सार्वजनिक भयो । यो गीतको एआई भर्सन अहिले भाइरल छ । यसको टिकटकमा पनि लाख भन्दा बढी भिडियो बनिसकेको छ ।
गोपाल योञ्जनको वास्तविक स्वरको गीतलाई अहिलेको एआई भर्सन गीतले छायांमा पार्ने अवस्था आएको छ । किनकी अहिले यो गीतको एआई भर्सन चर्चामा छ । ‘गोपालय’को प्रतिलिपि अधिकार रहेको यो गीतलाई अहिले एआईबाट संगीत संयोजन, बाजादेखि स्वरसम्म परिवर्तन गरेर बनाइएको छ । ‘प्लगिङ’ नै फरक सृजना गरेर यो गीत तयार गरिएका कारण गीतबाट प्राप्त रोयल्टी वास्तविक स्रष्टासम्म पुग्न सकेको छैन ।
यस्तै पुरुषोत्तम न्यौपानेको मौलिक स्वरमा रहेको गीत ‘ढुँगे धारामा तिमी नै मन प¥यो संसार सारामा…’को मौलिक भन्दा यसै गीतको एआई भर्सन केही महिना यताबाट भाइरल भएको छ । यसको एआई भर्सन स्वर टिकटकमा निकै चम्की रहेको छ । यो गीतको एआई भर्सनले छोटो समयमै ८५ लाख भन्दा बढी भ्युज पाइसकेको । मौलिक बाजादेखि स्वरसम्मलाई यसमा तोडमोड गरिएको छ । यसको एआई भर्सन गीतलाई नेपाल म्युजिक हाउस च्यानलमा राखिएको छ । जसका कारण यसका वास्तविक स्रष्टा अहिले पीडित अवस्थामा छन् ।
केवल यी दुई गीत मात्र हैन । केही समय यताबाट पुराना गीतलाई एआई भर्सनमा तयार गरेर आफ्नो च्यानलमार्फत सार्वजनिक गर्ने स्वभाविक होडबाजी नै चलेको छ । कुनै कुनै गीत त मौलिकलाई नै छायांमा पार्ने गरी एआई भर्सनलाई दर्शकले रुचाउन थालेका छन् । यस्तै राजु सिंहको संगीत रहेको सुदिप रिजालको चर्चित गीत ‘कहाँ तिम्रो मायालुलाई…’को मौलिक भन्दा एआई भर्सनले अहिले बढी प्रशंसा बटुलेको छ । यसको एआई भर्सनलाई ‘अल नेपाली ब्लुज एन्ड टु मोर’ च्यालनमा राखिएको छ । यो एआई भर्सनको गीतले रिलिज भएको केही महिना भित्रै ३२ लाख भ्युज पाइसकेको छ ।

चलचित्र ‘साइनो’को कालजयी गीत ‘सुन कथा एउटा गीत..’ लाई हालै एआई भर्सनमा तयार गरेर हालै युट्यवमा राखिएको छ । यो गीतले पनि छोटो समयमै ३ लाख ६२ हजार भ्युज पाइसकेको छ । जसका कारण यो गीतको पनि असली स्रष्टा एआई भर्सनको गीतका कारण अहिले मर्कामा छन् । यसरी एउटा मात्र हैन, पुराना गीतलाई थोकमा एआई प्रविधिबाट तयार गरेर विभिन्न युट्युब च्यानलमा राख्ने क्रम निकै बढेको छ । एकसाथ ६ वटा पुराना गीतलाई ब्लुज भर्सनमा तयार गरेर ‘नेप्रिक्स’ युट्युब च्यानलमा राखिएको छ । पुराना चर्चित गीतहरू गाजलु ती ठुला ठुला आँखा…., मस्की मस्की हाँसेर हेर्नेले…, तालको पानी माछीले खाने…, यो नानीको सिरैमा…, सोह्र वर्षे उमेरैमा…, मुसुमुसु हाँसी देऊ…जस्ता गीतलाई एआई भर्सनबाट तयार पारेर यो च्यानलमा राखिएको हो । जसका कारण पुराना गीतका वास्तविक स्रष्टा मारमा परेका त छन् नै । आफ्ना मौलिक गीतहरूलाई तोडमोड गर्दा उनीहरू दुःखी छन् । तर कानूनी कमजोरीका कारण उनीहरू आफ्नो सृजना अरुले यसरी प्रयोग गरेको अवस्थालाई टुलुटुलु हेर्न बाध्य छन् ।

संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी पनि यो समस्या जटिल बन्दै गएको बताउँछन् । पुराना गीतको सम्बन्धित स्रष्टा तथा प्रतिलिपि अधिकार बाहकसँग अनुमति नै नलिई मनपरी रूपमा त्यस्ता गीतलाई एआई भर्सनमा बनाउने क्रममा निकै बढेको उनले बताए ।
पुराना चलेका गीतलाई एआई मार्फत पनि पुरानै लय र सोही अनुसारको बाजा राखेर युट्युबमा लोड गर्दा त्यसको रोयल्टी वास्तविक स्रष्टाकै खातामा जान्छ । तर यस्ता पुराना गीतको संगीत संयोजन, बाजा र लयलाई एआई भर्सनमार्फत परिवर्तन गरेर सामाजिक सञ्जालमा सार्वजनिक गर्दा यसको कमाई वास्तविक श्रष्टाले नपाएको पनि धेरै गुनासाहरू छन् । यसरी कसैको पनि मौलिक सृजनालाई तोडमोड गरेर पुन बनाउनु तथा सार्वजनिक गर्नु नहुने रोयल्टी संकलन समाज नेपालका अध्यक्ष अधिकारीको राजधानीलाई बताए । यस’bout अब रोयल्टी सम्बन्धी आउने नयाँ ऐनले सम्बोधन गर्ने उनको कथन छ ।
गीतकार संघ नेपालका अध्यक्ष वसन्त थापा ‘वित्यासी’ पनि पुराना मौलिक गीतलाई एआई भर्सनबाट तोडमोड गरेर युट्युबमा सार्वजनिक गर्नुलाई गैहकानूनी कार्यको रूपमा लिन्छन् । एआईको प्रयोग सबै ठाउँमा सही र राम्रो नहुने कुरा यो कार्यले पनि पुष्टि गरेको उनको कथन छ । सम्बन्धित स्रष्टासँग अनुमति लिएर तथा वास्तविक स्रष्टा आफैँले आफ्नो पुरानो गीतलाई एआई मार्फत ल्याउँदा भने फरक नपर्ने उनले बताए ।
सम्बन्धित समाचार
महंगियो चलचित्र सम्बन्धी संघ संस्थाका उम्मेदवारी दस्तुर
‘मालती मंगले’ र ‘गुरुआमा’ चालेनन्, ‘लालीबजार’ नाफातिर
शिव श्रेष्ठले फाउन्डेसन खोल्दै देखाए ‘जीवन रेखा’
सुकुम्बासीले लालपुर्जा नपाउन्जेल मासिक १५ हजार भाडा दिने सरकारको तयारी
चलचित्रको काम छाडेर फेशन ¥याम्पतिर अभिनेत्रीहरू
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
चलचित्र पत्रकारिता सम्मान एवम् पुरस्कार घोषणा
कलाकार संघको अध्यक्षमा उत्तम केसी, यस्तो छ नयाँ नेतृत्व






