एमाले र काठमाडौं महानगर आ–आफ्नै अडानमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र काठमाडौं महानगरपालिका आ–आफ्नै अडानमा अडिग भएका छन् । एमालेले जागरणसभा गर्दा फोहोर गरेपछि जरिमाना तिर्नुपर्ने अडानमा काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन) छन् । तर, जरिमाना नतिर्ने अडानमा एमाले रहेको छ ।

काठमाडौंको दरबारमार्गमा शुक्रबार जागरणसभा गरेको एमालेले सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको काठमाडौंका नगरप्रमुख शाहको भनाइ छ । सोहीअनुसार काठमाडौं महानगरले एमालेलाई लाख रुपैयाँ जरिमाना गरेको छ । महानगरले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिमाना तोकेपछि नेताहरू नगरप्रमुख शाहका विरुद्धमा आक्रोशित भएका छन् ।

आइतबार काठमाडौं महानगरको टोली जरिमाना गरेको पत्र बुझाउन एमाले केन्द्रीय कार्यालय पुगेको थियो । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पुगेको महानगरको टोलीको पत्र एमालेले बुझेन । र, जरिमाना पनि नतिर्ने आफ्नो अडान राख्यो ।

एमालेले गरेको जागरणसभा नसकिँदै नगरप्रमुख शाहले लाख रुपैयाँ जरिमाना तिराएको चिर्कटो सार्वजनिक गरेका थिए । तर, एमालेले भने फोहोर सफा गरिरहेका बेला जरिमानाको चिर्कटो थमाएको भन्दै आपत्ति जनाएको छ । एमालेले नगरप्रमुख शाह एमालेमाथि परिचालित भएको आरोपसमेत लगाउँदै जरिमाना नतिर्ने घोषणा गरिसकेको छ ।

जरिमाना पत्र बोकेर पार्टी कार्यालयमा पुगेको काठमाडौं महानगरपालिकाको टोलीलाई पत्र बुझ्न अस्वीकार गर्दै एमालेले फिर्ता पठायो । पत्र लिएर महानगरपालिकाका तर्फबाट नगरप्रहरी बलका प्रहरी निरीक्षक केके भट्टराईको नेतृत्वमा टोली पुगेको थियो । टोलीले एमाले पार्टी कार्यालय सचिव डा. भीम अधिकारीलाई पत्र बुझाएको थियो ।

तर, अधिकारीले पत्र हेरे र पत्रमा उल्लेख भएअनुसार ‘एमाले केन्द्रीय कार्यालय शुक्रबार दरबारमार्गमा भएको जागरणसभाको आयोजक नभएको’ भनेर महागरको टोलीलाई फिर्ता पठाएका छन् ।

उनले प्रहरी बलको टोलीलाई भने, ‘त्यो कार्यक्रमको आयोजक हामी होइन, तपाईंहरू यो पत्र किन यहाँ लिएर आएको ? त्यो कार्यक्रमको आयोजक नेकपा एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटी हो, गलत ठाउँमा आएर यस्तो लाजमर्दाे काम नगरौं ।’

कार्यालय सचिव अधिकारीले महानगरको यस कदमलाई ‘स्टन्ट’ भनेका छन् । यसअघि नै एमाले महासचिव शंकर पोखरेलले काठमाडौं महानगरका प्रमुख शाहले ‘स्टन्टबाजी’ गरेको टिप्पणी गरेका थिए ।

काठमाडौं महानगरले जरिमाना तोकेपछि एमाले महासचिव पोखरेलले भने, ‘काठमाडौं महानगरका नगरप्रमुख शाह नेकपा (एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा शुक्रबारको सभापछि सार्वजनिक गरिएको जरिमाना पर्चाबाट बुझ्न सकिन्छ ।’

उनले कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फबाटै भएको दाबी पनि गरेका छन् । महासचिव पोखरेलले संकलित फोहोर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गर्दा नपठाएको आरोप पनि लगाएका छन् ।

यसअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका नगरप्रमुख शाहका बीचमा विभिन्न विषयमा ‘वाकयुद्ध’समेत हुँदै आएको छ । एकअर्काको विरोध र आलोचनामा दुवैले आफ्ना सामाजिक सञ्जालमा विभिन्न विषयमा लेख्दै आएका छन् । पछिल्लो समय फोहोर गरेपछि जरिमाना गरेको विषयलाई लिएर चर्काचर्की चलिरहेको छ । सभामा प्रधानमन्त्री ओलीले शाहको आलोचनासमेत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाह : साना कुरा गर्दै ठूलो सपना देखाउँदै