सप्तरी । पोहोरसम्म विद्यालयमा नियमित शिक्षक र विद्यार्थीको उपस्थिती गराउन शिक्षा शाखा र पालिकाका जनप्रतिनिधिलाई हम्मे पथ्र्यो । जति प्रयास गरे पनि सोचे जतिको उपस्थिती हुदैनथ्यो ।
जति पल्ट अनुगमनमा गएर सम्झाउँदै पनि खासै सुधार हुन सकेको थिएन् । तर अहिले सप्तरीको विष्णुपुर गाउँपालिका क्षेत्रका विद्यालयहरुमा फरक दृश्य देखिन थालेको छ ।
अनुगमन टोली पुग्दा शिक्षक र विद्यार्थीको उपस्थिती उत्साहजनक देखिन थालेको छ । उक्त गाउँपालिका क्षेत्रमा ५ मावि र १३ आधारभुत गरि १८ विद्यालय छन् । सबै विद्यालयमा विगतको तुलनामा निकै सुधार भएको पाइएको छ ।
गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवको अध्यक्षतामा गठित अनुगमन तथा निरिक्षण समितिको टोलीले आइतबार जनता मावि खुरहुरिया र कनकट्टा माविको अनुगमन गरेको हो । दुबै विद्यालयमा शिक्षक र विद्यार्थीको उपस्थिति तथा पठनपाठन सन्तोषजनक पाइएको टोलीका प्रमुख गाउँपालिका अध्यक्ष यादवले बताए ।
विगत दुई महिना यता उनकै नेतृत्वको टोली पालैपालो मातहतका सबै विद्यालय पुग्न थालेपछी शिक्षक र विद्यार्थीको नियमित उपस्थिति तथा शैक्षिक अवस्थामा सुधार आएको स्थानीय अभिभावक रुपेश प्रसाद यादवले बताए ।
अर्का अभिभावक गोपाल साहले नियमित नआउने शिक्षक र विद्यार्थीमाथी पालिकाले ८ बुँदे निर्णय मार्फत लगाम लगाएपछी यस्तो सुधार देखिएको बताए ।
गाउँपालिका अध्यक्ष यादवले मातहतका सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरिय र विश्वश्नीय बनाउन ८ बुँदे निर्णय गरिएको र सो निर्णय कडाईका साथ लागु गरिएको बताए । पालिकाले कक्षा कोठाभित्र मोवाइल निषेध, नियमित आउने शिक्षक र विद्यार्थीलाई प्रोत्साहन, पूर्व जानकारी बिना अनुपस्थित रहने शिक्षकको तलब भत्ता कटौती र शिक्षकलाई आफूले पढाउने विषयको अनिवार्य रुपमा पाँच योजना बनाएर आउनु पर्ने लगायतका ८ बुँदे निर्णय गरेको छ ।
यसको पालना भए नभएको बुझ्न टोलीद्वारा छड्के अनुगमन हुन थालेपछी विद्यालयमा विद्यार्थी र शिक्षकको उपस्थिति बढ्नुका साथै पठन पाठनमा सुधार हुन थालेको अनुगमन टोलीमा सहभागि प्रमुख प्रशासकीय अधिकृत सन्तकुमार मण्डलले जानकारी दिए । उनले विद्यालयहरुमा छड्के अनुगमन कार्य निरन्तर जारी रहने समेत बताएका छन् ।
अनुगमनका क्रममा टोली प्रमुख अध्यक्ष यादवले विद्यार्थीहरुसँग साक्षात्कारसमेत गर्ने गरेका छन् । सो क्रममा पठनपाठन र समग्र विद्यालयमा भएका समस्याका सम्बन्धमा जिज्ञासा राख्ने र समाधानका लागि पहल गर्ने गरिएका कारण पनि ८ बुँदे निर्णय प्रभावकारी देखिएको स्थानीय अभिभावकहरुले बताएका छन् ।