पाँचथर । सदरमुकाम फिदिममा आगामी पुस ६ देखि १५ गतेसम्म सञ्चालन हुने ११ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको अफिसियल गीत र भिडियो शुक्रबार सार्वजनिक गरिएको छ ।
फिदिम नगरपालिकाको सभाहमाल आयोजित कार्यक्रममा नगर प्रमुख मित्र प्रसाद काफ्लेले गीतको भिडियो सार्वजनिक गरे । नगर प्रमुख काफ्लेले पाँचथरको शान र प्रतिष्ठाको रुपमा स्थापित फाल्गुनन्द गोल्डकपको सफलताको शुभकामना दिए । प्रतियोगिताको प्रबद्र्धन र प्रचार प्रसारका लागि अफिसियल गीत र भिडियो निर्माण गरिएको आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र थापा मगरले बताए ।
डीपी खनालको शब्द तथा शंकर थापा स्माइलको संगीतको रहेको गीतमा प्रताप दास, किरण भुजेल, देबेन्द्र बराल, कमल श्रेष्ठ, अशोक मुकारुङ, ससिका राई, ममता गुरुङ, दीपा सुहाङ, मुना ठटाल, दिप्सन लिम्बू, खेम सुब्बा र नोगेन हाङसरुम्बाको स्वर रहेको छ । गीतको भिडियो फिदिम स्पोर्टिङ क्लवको अफिसियल युट्युब च्यानलमा हेर्न सकिनेछ । कार्यक्रममा जिल्लास्थित राजनीतिक दल र खेलकुदजन्य संघ–संस्थाका प्रतिनिधि र खेलाडीको सहभागिता रहेको थियो ।
फाल्गुनन्द गोल्डकप जिल्लाकै आकर्षक फुटवल प्रतियोगिता हो । २०७५ मा दशौं संस्करणपछि फिदिम माविको खेलमैदान पुनर्निर्माण र त्यसपछिको कोरोना–कहरका कारण गोल्डकपले निरन्तरता पाउन सकेको थिएन । ६ वर्षपछि हुन लागेको प्रतियोगितामा नेपालका ‘ए’ डिविजन क्लव, मोफसलका उत्कृष्ट र अन्तराष्ट्रिय टोली गरी दश टिमलाई सहभागि गराइने फिदिम स्पोर्टिङ क्लवका महासचिव पासाङ तामाङले बताए ।