स्याङ्जा । नेपाल सरकारमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्ववी सुब्बा गुरुङ्ले मुलुक बनाउने एजेण्डा र नीति नभएका राजनीतिकदलहरुको भबिष्य नभएको बताएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको छैटौं अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रबार उदघाटन गर्दै संचार मन्त्री गुरुङ्ले मुलुक बचाउने भुमिका नभएका नयाँ राजनीतिकदलहरुको आयू लामो नहुने बताएका हुन् ।
लोक रिज्याईका लागि ठुला भाषण गर्ने तर काम नगर्ने यस्ता दलहरुले जनतालाई झुक्याउन सफल हुन थालेका छन् मन्त्री गुरुङ्ले भने,‘मुलुकको इतिहास नबुझेका, परिवर्तन कसरी भयो भन्ने थाहा नपाएका दलहरुको भविष्य लामो देखिएको छैन ।’ हिजो नयाँ शक्ति, विवेकशिल साझा पार्टी लगायतका दलहरु आज कहाँ छन् उदाहरण हेर्न सकिन्छ मन्त्री गुरुङ्ले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका गुरुङ्ले यो व्यवस्था कसरी आयो, परिवर्तन कसरी भयो, यो व्यवस्था ल्याउदा गरेको त्याग, तपस्याको इतिहास थाहा नपाउने दलहरुको आयू अल्पायू हुने बताए । जनताको समस्या नबुझेका र नीति एजेण्डा विनाका दलहरुले नेपाली जनतालाई ढाटेर राजनीतिक गर्छु भन्ने सपना नदेख्न समेत मन्त्री गुरुङ्ले चेतावनी दिए ।
नेपालका दुई ठुलादलहरु मिलेर बनेको वर्तमान सरकार देश र जनताको पक्षमा केन्द्रित भएर काम गरिरहेको मन्त्री गुरुङ्ले बताए । मुलुकमा बढ्दो राजनीतिक अस्थिरता, बढ्दो व्यापार घाटा, सुशासन हराउदै जान थालेको महशुष हुन थालेपछि काँग्रेस र एमाले मिलेर सरकार बनाइएको धारणा मन्त्री गुरुङ्ले राखे । राजनीतिक क्षेत्र, आर्थिक क्षेत्र, सामाजिक क्षेत्रमा जुन समस्या आयो, देशको समृद्धिका लागि दुई ठुला दल मिल्नुपर्ने बाध्यता आएको बताउदै मन्त्री गुरुङ्ले जब—जब मुलुकमा संकट आउछ काँग्रेस र एमाले एकठाउँमा उभिने गरेको बताए । वर्तमान सरकार छिट्टै ढल्दैछ भन्ने भ्रामक खबरहरु नल्याउन सुझाव दिदै दुईदलको गठबन्धनको सरकार आगामी निर्वाचन सम्म पुग्ने दावी गरे । सरकार सुशासनको पक्षमा काम गरिरहेको उदाहरण दिदै मन्त्री गुरुङ्ले संसदीय छानविन समितिले सहकारी ठगीमा दोसी देखाएका व्याक्तिहरु माथी कारवाहि अगाडी बढाइएको बताए ।
गण्डकी प्रदेश सदस्य कल्पना तिवारीले जनताले खोजेर भेटिने स्थायी सरकार स्थानीय सरकार भएको बताउँदै जनताले खनुभुति हुनेगरी काम गर्न स्थानीय सरकारहरुलाई सुझाइन् । स्याङ्जाको समग्र विकासको माध्यममा रहेको सिद्धार्थ राजमार्गको स्तारोन्नती गर्नुपर्ने धारणा तिवारीको छ । २०२८ सालमा बनेको सिद्धार्थ राजमार्ग फराकिलो हुन नसक्दा धेरै विकासका बाटाहरु बन्द हुन पुगेको भन्दै सांसद तिवारीले सडकको स्तरोन्नती गर्न पहल गरीदिन आग्रह गरीन् ।
कार्यक्रममा भीरकोट नरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्य, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेकपा (एमाले) का अध्यक्ष सूर्यप्रसाद गैरे, नेपाली कांग्रेस जिल्ला उपसभापति शेरबहादुर थापा, माओवादी केन्द्रका ज्ञानप्रसाद भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछाने, पालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला, पालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम पोखरेलले स्थानीय सरकारलाई काम गर्ने बातावरण मिलाउन सुझाव दिएका थिए ।