मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेठ्ठी र निर्माता एवम् उनका पति राज कुन्द्रा यतिबेला निकै तनावमा छन् । उनीहरुको मुम्बई स्थित जुहु क्षेत्रमा रहेको घरमा सम्पत्ति सुद्धिकरण विभाग (ईडी)ले शुक्रबार छापा मारेको छ । सो विभागले घरबाट जफत गरेको कुरा भने खुलाएको छैन ।
उनीहरुको घरमा यस अघि गत जनवरीमा पनि ‘मनी लान्ड्रिङ’ प्रकरणको छानबिन गर्दा, ईडीले छापा मारेको थियो । सो क्रममा उनीहरुको दुईवटा घर मुम्बईको जुहु र पुनेको एउटा बंगलाबाट ९८ करोड रुपैयाँ बराबरको सम्पत्ति जफत गरेको थियो । एकै वर्षमा शुक्रबार दोश्रो पटक छापा मारेको हो ।
ईडीले छापा मारेको एक घण्टापछि राज कुन्द्राले एक अपिल जारी गर्दै यो प्रसँगमा अभिनेत्री तथा आफ्नी श्रीमती शिल्पा शेट्टीलाई न तान्न अनुसन्धानकर्ता र सञ्चारकर्मीलाई अनुरोध गरेका छन् । आफ्नो इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै राज कुन्द्राले यस विषयमा आफ्नी पत्नी अभिनेत्री शिल्पा शेट्टीको नाम लिनु आवश्यक नरहेको बताएका छन् ।
राज कुन्द्राले आफ्नो इन्स्टा स्टोरीमा लेखेका छन्,‘यो सबैका लागि चिन्ताको विषय हो, जबकि मिडियामा नाटक सिर्जना गर्ने सीप छ । सत्यतथ्य प्रष्ट गरौं ।’ उनले विगत चार वर्षदेखि अनुसन्धानको नाममा आफ्नो घरमा छापामार्ने काम भईरहेको पनि बताएका छन् । आफुले यो अनुसन्धानको पूर्ण पालना गर्दै आएको पनि उनले प्रष्ट पारेका छन् ।
राज कुन्द्राले थप लेखेका छन्, ‘जहाँसम्म मिडियामा भरखरैबाट आउन थालेका सहयोगी, अश्लील र मनी लान्ड्रिङ जस्ता कुरा छन, म यति मात्र भन्छु कि सनसनीखेजले सत्यलाई ढाकछोप गर्दैन र अन्त्यमा न्यायको विजय हुनेछ।’ राज कुन्द्राले अन्त्यमा लेखेका छन्,‘मेरी श्रीमती शिल्पा शेट्टीको नाम बारम्बार तान्नु आवश्यक छैन । कृपया नारीको सम्मान गर्नुहोस् ।’
शुक्रबार दिउँसो शिल्पा शेट्टीका वकिलले पनि आफ्नो ग्राहक शिल्पा सेठ्ठीको यस अनुसन्धानसँग कुनै सरोकार नभएको विज्ञप्ती जारी गरेका छन् । वकिलले विज्ञप्तीमा भनेका छन्, ‘मेरी ग्राहक शिल्पा शेट्टी कुन्द्राको घरमा ईडीले छापा मारेको मिडियामा खबर आएको समाचार सत्य छ । यो छापामा शिल्पा शेट्टी माथि कुनै पनि प्रकारको सम्बन्ध नभएको पनि जानकारी गराउँदछु ।’