वीरगन्ज । जननेता स्व.मदन कुमार भण्डारीको असामयिक निधन भएको ३१ पछि पर्सामा पनि उनको नाममा मदन भण्डारी फाउण्डेसन स्थापना भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको तीन कार्यकाल अध्यक्ष भइसकेका वीरगन्जका अग्रज पत्रकार शत्रुघ्न नेपालको अध्यक्षतामा यहाँ पनि मदन भण्डारी फाउण्डेशन स्थापना भएको हो ।
स्व.भण्डारीको शंकास्पद हत्याको आशंकामा अझै नेपाली समाज विभक्त छ । तथापि देशका विभिन्न ठाउँमा उनको नाममा फाउण्डेशन स्थापना भई सामाजिक तथा शिक्षा, खेलकुद लगायतका क्षेत्रमा सकारात्मक कार्य गर्दै आएको घाम झैं छर्लङ्ग छ । झापाको दमक नगरपालिकामा त स्व.भण्डारीको नाममा स्थापना भएको टेक्निकल कलेज सिएमए क्याम्पसले धेरै गुणवान विद्यार्थी उत्पादन गरी सकेको दमक १६ की पवित्रा न्यौपानेले बताइन् ।
मुलुकको राजधानी काठमाण्डौमा जननेता मदनकुमार भण्डारीका विचारको संरक्षण, व्याख्या, विश्लेषण एवं प्रचार गर्न र नेपालको लोकतान्त्रिक रुपान्तरणमा सहि बाटो अवलम्बन गर्ने उद्देश्यले २०६१ सालमा नै फाउण्डेशनको स्थापना भएको थियो । मधेशको राजनीतिक हावाले छोपेको पर्साको वीरगन्जमा भने बल्ल गैर नाफामुलक संगठनको रुपमा फाउण्डेशन स्थापना भएको जनाएको छ । ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तका प्रणेता जननेता भण्डारी लोकतन्त्र र मानव अधिकारका प्रवल हिस्सेदार मात्र नभई उन्नत राजनीतिक संस्कृतिका अग्रणी तथा राष्ट्रियता एकताका अग्रज तथा नेपाली राजनीतिका ठोस विचारक रुपमा चिनिन्छन् ।
विश्व राजनीति परिवेशमा जनताको बहुदलीय जनवाद सिद्धान्तको प्रणेताका रुपमा परिचित हुँदै नेपाललाई विश्वस्तरको राजनीतिक माँझमा उभ्याउन सफल नेताका रुपमा उनलाई लिने गरिएको छ । छोटो समयको राजनीतिक जीवनमा उनले वैचारिक, राजनीतिक तथा साहित्यिक योगदानबाट अविस्मरणीय तथा दूरगामी छाप छोड्न सफल भए । उनै स्व.भण्डारीका नाममा पर्सामा पनि वैचारिक क्षेत्र सशक्त पार्दै विचारलाई घनिभूत दिशातर्फ डो¥याउन सामाजिक र सेवामूलक कार्य सम्पादन गर्ने उद्देश्य सहित यो फाउण्डेशन स्थापना हुनु प्रभावकारी कदम भएको नेकपा एमाले पर्साका सचिव महेश दासले बताए । राजनीतिक वृत्त धुमिल देखिएको वर्तमानमा ठोस राजनीतिक विचारकहरुका नाममा फाउण्डेशन स्थापना भई कार्यन्वयनमा आउनु सकारात्मक कदम भएको उनको तर्क छ ।
सामाजिक क्षेत्रमा शिक्षा, संस्कृति, अध्ययन, अनुसन्धानद्वारा जनहितकारी अभियानहरु पर्सामा पनि यो संस्थाले सञ्चालन गर्न टेवा पुग्ने अपेक्षा एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्माको पनि छ । नेपाल सरकार लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग फाउण्डेशनले सहकार्य गर्दै सबै राजनीतिक दलसँग सहकार्य गरी सामाजिक तथा सेवामूलक कार्य सम्पादन गर्न यो फाउण्डेशन कोशेढुंगा सावित हुन सक्ने उनले तर्क गरे । वि.सं. २०५६ साल भाद्र १७ गते ‘मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्रका रुपमा स्थापना भएको स्व.भण्डारीका नामको संस्था राष्ट्रिय निर्देशन ऐन २०१८ अन्र्तगत दर्ता भई वि.सं. २०६१ साल भाद्र १७ गतेदेखि परिस्कृत संस्थाका रुपमा देशव्यापी संजाल बनाउँदै आएको छ ।
सो क्रममा पर्सामा पनि अग्रज पत्रकार नेपालको अध्यक्षतामा केही सदस्य पछि थप गर्ने गरी १५ सदस्य कमिटि निर्माण भएको हो । सो कमिटिको उपाध्यक्षमा रामबाबु सिंह, सचिव कमलेश गुप्ता, कोषाध्यक्ष हरिशंकर कर्ण, उपसचिव अलका प्रधान र तिवारी यादव तथा सदस्यहरुमा तुलसी भण्डारी, जितेन्द्र कर्ण, नइम मियाँ, लालबाबु यादव, नितश कुमार कर्णलगायत रहेका छन् ।