पाँचथर । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको ११ औं संस्करण पुस ६ देखि १५ गतेसम्म सञ्चालन हुने भएको छ ।
आयोजक फिदिम स्पोर्टिङ क्लवले पत्रकार सम्मेलन गरी प्रतियोगितामा दश टिमको सहभागिता रहने जनाएको छ । ११ औं संस्करणको उपाधिका लागि लिग विजेता चर्च व्वाइज युनाइटेड क्लवसँगै ‘ए’ डिविजन न्यू रोड टिम (एनआरटी), मछिन्द्र क्लव, विभागीय टोली त्रिभुवन आर्मी क्वल, ‘बी’ डिविजन चितलाङ क्वल, एनएसएल खेलेको विराटनगर सिटी एफसी, सलहेश युथ क्लव सिराहा, न्यू स्टार क्लव सुनसरी, झापा फुटवल टिम र आयोजक फिदिम स्पोर्टिङ क्लवले प्रतिश्पर्धा गर्नेछन् ।
फिदिम खेलमैदानमा हुने प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैंयाँ र उपविजेताले नगद ५ लाख ५ सय ५५ रुपैंयाँ पाउने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र लुङ्गेली मगरले बताए ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी एक थान इभी स्कुटर, प्रत्येक खेलको म्यान अफ् दि म्याच, विधागत तर्फका उत्कृष्ट र राइजिङ प्लेयरलाई जनही १० हजार रुपैंयाँ पुरस्कार प्रदान गरिने क्लवका महासचिव पासाङ तामाङले जानकारी दिए ।