काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान) को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसअघि सर्वसम्मतिमै एसबानको अध्यक्ष कायम हुने भनिए पनि राजकुमार तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसकेपछि निर्वाचन भएको हो । ३० औं वार्षिक साधारणसभाको अवसरमा शुक्रबार काठमाडौंमा भएको निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतस्पर्धी तिमिल्सिनाले ४३ मत प्राप्त गरेका थिए ।
एसोसिएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन् । यसैगरी, कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष ढकालले पुँजी बजारमा अत्यावश्यक वित्तीय औजार तथा कारोबार औजारहरू मार्जिन ट्रेडिङ, इन्ट्रा डे तथा सर्ट सेलिङ एवं इक्विटी डेरिभेटिभ लगायतमा सुधारात्मक पहल गर्ने, लगानी व्यवस्थापन सेवा, एड्भाइजरी सेवा, मार्जिन लेन्डिङ सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न पाउने सेवा प्राप्तिका लागि पनि आफ्नो नेतृत्वले राम्रो काम गर्ने प्रतिबद्धता जनाए ।
यसैगरी, उनले धितोपत्र दलाल व्यवसायी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज समक्ष बैंक ग्यारेन्टी राखी सो को २५ प्रतिशतसम्म कारोबार सीमा प्राप्त गरिरहेकामा त्यस्तो सीमालाई ५० गुणासम्म बनाउन पहल गर्ने, २० करोड रुपैयाँ पुँजी भएका धितोपत्र ब्रोकर्सले मार्जिन लेन्डिङ तथा लगानी व्यवस्थापन सेवा प्रदान गर्ने सम्बन्धी नियमावलीमा आवश्यक संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।






