२३ सय ५६ मेगावाटका दुई आयोजनाको ५१ प्रतिशत सेयर बेच्दै सरकार

काठमाडौं । किमाथांका अरुण अर्धजलाशययुक्त र १ हजार ९ सय २ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको सेयर सर्वसाधारणलाई बेचिने भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको विद्युत् उत्पादन कम्पनी लिमिटेडले २ हजार ३ सय ५६ मेगावाटका जलविद्युत् आयाजनाको ५१ प्रतिशत संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

५ खर्ब ५३ अर्ब रुपैयाँ लागतका दुई जलविद्युत् आयोजना (किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना) सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा बनाउन सरकारले सूचना जारी गरेको जनाएको छ ।

विद्युत् उत्पादन कम्पनी लिमिडेटले यी दुई आयोजनाका लागि वित्तीय लगानी आह्वान गर्दै आशयपत्र मागेको छ । कम्पनीका अनुसार दुई आयोजनामा पीपीपी ढाँचामा लगानी जुटाउने प्रक्रिया अगाडि बढेको छ ।

त्यसका लागि स्वदेशी क्षमता अभिवृद्धि गर्न र स्थानीय लगानी प्रोत्साहन गर्न स्वपुँजीको कम्तीमा ५१ प्रतिशत लगानीका लागि प्रस्ताव पेस गर्न सकिने भएको छ ।

यसका लागि नेपाली नागरिक र नेपाली नागरिक मात्र प्रवर्धक रहेको कम्पनी वा संस्थाबाट लगानी प्रस्ताव पेस गर्न सकिनेसमेत कम्पनीले जनाएको छ ।

किमाथांका अरुणको क्षमता ४ सय ५४ मेगावाट हो । यसको लागत ९३ अर्ब ८० करोड अनुमान गरिएको छ । मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको क्षमता १ हजार ९ सय २ मेगावाट हो । जसको लागत ४ खर्ब ६० अर्ब रुपैयाँ हुने अनुमान छ । कम्पनीले १५ दिनभित्र प्रस्ताव पेस गर्न भन्दै आइतबार सूचना जारी गरेको छ ।

कम्पनीले आयोजनाको स्वपुँजी लगानीको ५१ प्रतिशत रकममा लगानी साझेदारी गर्नेगरी सेयर बिक्रीको प्रस्ताव आह्वान गरिसकेको छ ।

सकारको लगानीमा रहेका ४ सय ५४ मेगावाटको किमाथांका अरुण अर्धजलाशययुक्त र १ हजार ९ सय २ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानीका लागि प्रस्ताव आह्वान गरिएको हो । कम्पनीले सार्वजनिक–निजी साझेदारी (पीपीपी) ढाँचामा लगानी जुटाउनेगरी प्रक्रिया अघि बढाएको छ ।

आयोजनाको स्वपुँजीको कम्तीमा ५१ प्रतिशत लगानी गर्नेगरी लगानी साझेदारी गर्न चाहने इच्छुक नेपाली नागरिक वा नेपाली नागरिक मात्र प्रवद्र्धक रहेको कम्पनी वा प्रचलित कानुनबमोजिम स्थापना भएको संगठित संस्थाले आशयपत्र पेस गर्नसक्ने कम्पनीले जानकारी दिएको छ ।

मुगु कर्णालीका लागि न्यूनतम ४८ करोड ७२ लाख ४३ हजार ४ सय २३ रुपैयाँ र किमाथांका अरुणका लागि ९० करोड ८१ लाख ९ हजार ३ सय २ रुपैयाँ वा सोभन्दा माथि लगानी रकम उल्लेख गरी प्रस्ताव पेस गर्नुपर्ने उल्लेख गरिएको छ ।

कम्पनीले दुवै आयोजनाको २५ प्रतिशत स्वपुँजी लगानी र ७५ प्रतिशत ऋण लगानी हुनेगरी वित्तीय संरचना तय गरेको छ । किमाथांका अरुण निर्माण गर्न ९३ अर्ब ८० करोड र मुगु कर्णाली निर्माण गर्न ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

मुगु कर्णाली आयोजनाको ड्याम पिलुचौरमा निर्माण गरिने बताइएको छ । आयोजनाका अनुसार ड्याम २ सय ८५ मिटर अग्लो हुनेछ । ड्यामकै आसपासमा आयोजनाको पावरहाउस निर्माण हुनेछ । सरकारले अगाडि सारेको आगामी १२ वर्षमा २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई पूरा गर्न यस्ता प्रसारण लाइन महत्वपूर्ण मानिन्छन् ।

आयोजनाबाट उत्पादित १ हजार ९ सय २ मेगावाट विद्युत् फुकोट सबस्टेसनमा जोड्नेसम्बन्धी द्विपक्षीय समझदारी भइसकेको छ । आयोजनाबाट उत्पादित बिजुली ४ सय केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत कालीकोट जिल्लाको फुकोट हब सबस्टेसनमा जोडिनेछ । मुगु कर्णाली जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन अन्तिम चरणमा छ । त्यसलगत्तै वित्तीय व्यवस्थापनलगायत अन्य कामलाई अगाडि बढाउने लक्ष्य राखिएको छ ।

संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माण हुने आयोजनाको काम सम्पन्न गर्न ९३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यस आयोजनाको परामर्शदाता नेपाल विद्युत् प्राधिकरणको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड हो ।

आयोजनाका लागि करिब शून्य दशमलव ३५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १ सय ३ लाख घनमिटर क्षमताको जलाशय निर्माण हुनेछ । गाउँपालिका–२ लिंगम गाउँबाट करिब ५ सय मिटर तल पुङमुछीमा विद्युत्गृह निर्माण हुनेछ । आयोजनामा ५ हजार ९ सय १८ मिटर लामो भूमिगत हेडरेस सुरुङ निर्माण हुनेछ । आयोजनामा ४ वटा टर्वाइन निर्माण हुनेछ । यो आयोजना पूरा भएपछि वार्षिक करिब २ हजार ६ सय ५५ दशमलव १२ गिगावाट घण्टाबराबरको ऊर्जा उत्पादन हुनेछ ।

यो आयोजना निर्माणका लागि चिनियाँ कम्पनीहरूले प्रस्ताव गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२९ पुस २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा कांग्रेस सबै भन्दा बलियो, बुटवलमा लालकिल्ला तोडियो