धनगढीले उपलब्ध गराउने भयो ९८ जनालाई नि:शुल्क अपांगता सहायता सामग्री

धनगढी । धनगढी उपमहानगरपालिकाले ९८ जनालाई निशुल्करूपमा अपांगता सहायता सामग्री उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा १८९ जना अपांगता भएका व्यक्तिलाई खोजीखोजी निशुल्करूपमा सहायता सामग्री उपलब्ध गराउदै आएको उपमहानगरले यो वर्ष पनि अपांगता भएका थप ९८ जनालाई सहायता सामग्री उपलब्ध गराउने भएको हो ।

यो उपमहानगरले गत वर्ष १९६ जनालाई अपांगता सहायता सामग्री प्रदान गरेको थियो । यो वर्ष फूलवारी, उर्मा, जुगेडा, बेला र उपमहानगरपालिका परिसरमा स्क्रिनिङ क्याम्प लगाएर अपांगता सहायता सामग्री आवश्यक पर्ने व्यक्तिको पहिचान गरिएको महिला विकास अधिकृत पंकजा जोशीले बताइन् ।

उनले स्क्रिनिङ क्याम्पबाट पहिचान भएका ९८ जनालाई अपांगता सहायता सामग्री वितरण गरिने बताइन् । ‘आर्थिक वर्ष २०७९/८० मा १८९ जनालाई सहयोगी सामग्री वितरण गरेको उपमहानगरले गत वर्ष १९६ जनालाई सामग्री प्रदान गरेको हो,’ उनले भनिन् । ‘यो वर्ष १४३ जनाको परीक्षण गरेर ९८ जनालाई सहायता सामग्री दिन लागिएको छ ।

व्यक्तिको आवश्यकताको आधारमा यो पटक पनि एकभन्दा बढी सहयोगी सामग्री वितरण गरिने छ ।’ मंसिर २३ गते फूलबारीमा वडा नम्बर १४, १८ र १९ मा स्थायी बसोबास भएका २० जना अपांगता भएका व्यक्तिको स्क्रिनिङ गरिएको छ । यस्तै, मंसिर २४ गते उर्मा स्वास्थ्य चौकीमा वडा नम्बर १५, १६ र १७ का ५५ जनाको परीक्षण गरिएको छ ।

यसैगरी मंसिर २५ गते जुगेडा क्लस्टरमा ९, १० र १२ का २६ जना, २६ गते बेला क्लस्टरमा ६, ११ र १३ नम्बर वडाका १४ र धनगढी क्लस्टरमा बाँकी वडाका २८ जना अपांगता भएका व्यक्तिको परीक्षण गरिएको महिला विकास अधिकृत जोशीले बताइन् । अपांगता सहायता सामग्री वितरण गर्न धनगढी उपमहानगरपालिकाले यो वर्ष २५ लाख बजेट छुट्याएको छ ।

परीक्षण सक्किएसँगै चैत बैशाखमा परीक्षण गरिएकै स्थानमा अपांगता सहायता सामग्री वितरण गरिनेछ । अपांगता भएका व्यक्तिको पहुँच बढाउन र जीवनयापन सहज बनाउन उपमहानगरपालिकाले हरेक वर्ष अपांगता भएका व्यक्तिहरुलाई खोजीखोजी सहायता सामग्री वितरण गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

epaper

ताजा समाचार

नवनियुक्त आइजिपी केसीलाई आजै पदबहाली गर्न अनुरोध