सप्तरी । राजविराज विमानस्थलबाट केही दिनपछि दैनिक २ उडान हुने भएको छ । विगतमा दिउँसोको समयमा मात्र एउटा उडान हुँदै आएकोमा सोमबार रात्रीकालिन सेवाका लागि गरिएको परिक्षण उडान पश्चात् दैनिक दुई उडान गर्ने तयारी भएको छ ।
संघीय सरकारका पर्यटन मन्त्रि बद्री पाण्डे र मधेश प्रदेशका मुख्यमन्त्रि सतिश कुमार सिंहको उपस्थितिमा परिक्षण उडान गरिएको र लाइट सेटिङसहित भौतिक पूर्वाधार र प्राविधिक रुपमा उपयुक्त देखिएकाले अब यस विमानस्थलबाट दैनिक दुई उडान हुने भएको राजविराज विमानस्थलका प्रमुख ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।
पहिलो रात्रीकालिन उडानमा राजविराजबाट उक्त विमान चढी संघीय सरकारका पर्यटन मन्त्रि बद्री पाण्डे पनि काठमाडौं प्रस्थान गर्ने बुद्ध एयरलायन्सका स्टेशन मेनेजर अनिल राजबंशीले जानकारी दिए ।
सोमबार रात्रीकालिन उडान सेवा संचालन गरिएपनि केही प्रक्रिया बाँकी रहेकाले यसलाई नियमित गर्न कम्तिमा एक महिना समय लाग्ने स्टेशन मेनेजर राजबंशीको भनाई छ ।
उक्त विमानस्थलबाट २०७६ माघ १८ गतेदेखी बुद्ध एयरको जहाजले दैनिक दिउँसोको समयमा एक पटक उडान गर्दै आएको छ । हाल यात्रुको चाप बढ्दै गएको तर एउटै उडानका कारण सप्तरी र आसपासका यात्रुलाई असुविधा भइरहेको गुनासो बढ्दै गएपछी यहाँका जनप्रतिनिधिहरुको पहलमा दैनिक दुई उडान सेवा सम्भव भएको बताइएको छ ।
राजविराज विमानस्थल सप्तरीको मात्र नभई सुनसरी, उदयपुर, सिरहाका साथै सीमावर्ती भारतीय क्षेत्रका यात्रुका लागि समेत सहज र महत्वपूर्ण भएकाले दुई वटा उडान संचालन हुने खबरले स्थानीयवासी खुशी भएका छन् ।






