इलाम । लिग विजेता चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ । डोमललाल रंगशालामा शुक्रबार भएको खेलमा सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै फाइनल प्रवेश गरेको हो । चर्च ब्वाईज इलाम गोल्डकपको उपविजेता हो ।
चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्च ब्वाइजको जितका लागि खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको एक मात्र गोलले फाइनल प्रवेशको यात्रा तय गर्यो । सलहेशका दुई डिफेन्डरलाई बिट गर्दै अर्मन्डले दायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो । चर्च ब्वाइज अनन्त तामाङ, मनिष जर्घा मगर र एरिक विष्टबिनै मैदानमा उत्रिएको चर्च सलहेशको चर्काे दबाबमा परेको थियो ।
टिमका पहिलो रोजाइका केही खेलाडीबिनै मैदानमा उत्रिएको चर्च ब्वाइजले खेल अवधिभर सलहेशको दबाब झेलेको थियो । विपक्षी पोस्टमा आक्रमण गर्न नसके पनि खेलको अन्तिमतिर चर्च लयमा फर्किएको थियो । सलहेशले खेल अवधिभर चर्चलाई दबाबमा राखे पनि स्कोर भने निकाल्न सकेन । खेलको १२ औँ मिनेटमा सलहेशका अभि लामाले चर्च ब्वाइजका दुईजना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार सफल हुन सकेन ।
खेलको ५२ औँ मिनेटमा प्रदिप लामाको प्रहार चर्च ब्वाइजका गोलरक्षक क्रिशल मोक्तानले पञ्च गरेर बचाए । ६९ औँ मिनेटमा अभि लामाको दोस्रो प्रहार विफल हुँदा सलहेश सेमिफाइनलबाटै घर फर्किएको छ । खेलको प्लेयर अफ द म्याच विजयी टिम चर्च ब्वाइजका गोलकर्ता अर्मन्ड भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । शनिबारको अन्तिम सेमिफाइनल खेल राष्ट्रिय जागृति क्लब सुनसरी र एनआरटी क्लब काठमाडौँबीच हुने छ । एनआरटी इलाम गोल्डकपको विजेता टिम हो । झापा कप प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।