पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दाका प्रतिवादीहरूको सोमबारदेखि कास्की जिल्ला अदालतमा बयान सुरु भएको छ ।
हाल हिरासतमा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसमेत पाँच प्रतिवादीको सोमबार दिउँसोदेखि बयान सुरु भएको हो । जसमा पहिलो दिन जोशीको बयान सुरु भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । उनको बयान नसकिएकाले मंगलबार (आज) पनि जारी रहनेछ । न्यायाधी नीतिज राईको इजलासमा मुद्दा परेको छ । राई नेपालकै सबैभन्दा कान्छा न्यायाधीश हुन् । उनीसमक्ष प्रतिवादीहरूको बयान, थुनछेक बहससँगै राईले नै आदेश दिनेछन् । जसमा पुर्पक्षका लागि थुनामा, धरौटी वा साधारण तारेखमा रिहामध्ये एक आदेश गरिने कानुनी व्यवस्था छ ।
कास्की जिल्ला अदालतमा पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सहकारी ठगी मुद्दा विचाराधीन छ । गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएको थियो ।
कास्की प्रहरीको पछिल्लो अनुसन्धान प्रतिवेदनसँगै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार र आइतबार गरी सोही मूल मुद्दामा थप प्रतिवादी बनाई पूरक अभियोगपत्र दायर गरिसकेको छ । आइतबार दायर पूरक अभियोगपत्रमा रास्वपा सभापति लामिछाने, गोर्खा मिडिया नेटवर्कमा उनका साझेदार पूर्वउपाध्यक्ष एवं पूर्वडीआईजी जोशीसमेत ४४ जनालाई प्रतिवादी बनाइएको छ । यसरी कुल ६३ प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो कायम गरेर दायर मुद्दामा हिरासतमा रहेका पाँच प्रतिवादीको बयान लिन थालिएको हो ।
मुद्दामा ६३ प्रतिवादीमध्ये सहकारी ठगीमा ३१ जना, संगठित अपराधमा १९ जना र सम्पत्ति शुद्धीकरणमा पाँच जनालाई प्रतिवादी बनाइएको छ । अन्य आठवटा कम्पनी र पाँच जना व्यक्तिको सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको छ । छविलाई न्यायाधीश राईले १५ प्रश्न सोधेको स्रोतले जनायो ।
जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको पूरक अभियोग ४ सय २७ पृष्ठ लामो भएकाले अध्ययनमा केही समय लागेको थियो । छविको बयानमा करिब ३ घण्टा लागेको थियो । पहिलो दिन बयान नसकिएकाले मंगलबार सुरुवातमा पनि उनीबाटै बयान थालिने सूचना अधिकारी सुरज अधिकारीले बताए । तत्पश्चात रविसमेतका प्रतिवादीहरूको बयान सुरु हुनेछ ।
सम्पत्ति शुद्धीकरण मुद्दासमेत चलाइएका पाँच जनामा रास्वपा सभापति लामिछानेसहित गोर्खा मिडियाका उनका साझेदार पूर्वडीआईजी छविलाल जोशी, गितेन्द्रबाबु (जीबी) राई, नेचर हब्र्सका सञ्चालक तनहुँका रामबहादुर खनाल, जीबीसँग मिलेर रकम हिनामिना गरेको आरोप लागेकी गुल्मी मुसिकोट नगरपालिका–४ की लीला पछाईं हुन् । हाल कास्की प्रहरी हिरासतमा लामिछाने, जोशी, खनाल, पछाई र कृष्णबहादुर गुरुङ छन् ।
कास्की जिल्ला अदालतमा विचाराधीन रहेको सहकारी ठगी मुद्दामा जीबी राईलाई शुक्रबार नै संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनसमेत आकर्षित हुनेगरी थप मुद्दा दायर गरिएको थियो । जीबीसमेत १९ प्रतिवादीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनबमोजिम लामिछाने, जोशीसमेत अनुसन्धानको दायरामा आएका हुन् ।
सोबमोजिम जोशी गत ६ असोजमा र लामिछाने २ कात्तिकमा पक्राउ परी अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा थिए । पूरक अभियोगपत्र मात्र लामिछाने, जोशी, पछाईं, खनालसहित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, ओमप्रकाश गुरुङ, लीलाबहादुर गुरुङ, कृष्णबहादुर गुरुङलाई प्रतिवादी बनाइएको छ ।
फरार प्रतिवादीमा ज्ञानबहादुर बम्जन, मीना गुरुङ, सूर्यध्वज न्यौपाने, आरति गुरुङ, पेशलकुमार राई, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्धिकी, दीपक लामा, अनन्तबाबु राई, देवेन्द्रबाबु राई, विज्ञान राई, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ, नेत्रपाणि बास्तोला, दीपेशकुमार पुन, विश्वविक्रम राई र लक्ष्मीप्रसाद पौडेल छन् ।
८ संस्थाहरूमा गोर्खा मिडिया नेटवर्क, नेचर हब्र्स इन्टरनेसनल प्रालि, नेचर नेस्ट प्रालि, जीबी ग्रुप अफ कम्पनिज प्रालि, गोर्खा ग्रुप मल्टी इन्भेस्टमेन्ट प्रालि, मन्दरा स्पा एन्ड वेलनेस सेन्टर प्रालि, स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालि र नेपाल श्री मल्टी मिडिया प्रालि छन् ।
रास्वपा सभापति लामिछानेकी पत्नी नीकिता पौडेलविरुद्ध पनि मुद्दा दर्ता भएको छ । लामिछानेलाई तीन मुद्दा लगाइएकामा पत्नी नीकितालगायतलाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको हो । सम्पत्ति शुद्धीकरणको मुद्दामा लामिछानेसँग सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो मागदाबी गरिएको छ । सम्पत्ति जफतमा नीकितासहित छविलाल जोशीकी पत्नी पद्मा जोशी बञ्जाडे, छोरा रोचक जोशी, लीला पछाईकी आमा राधा पछाई, दिदी गीता पछाईसँँग पनि सम्पत्ति जफत गर्न माग गरिएको हो ।






