सँगै सुतेका बाबु र भाइको ‘हत्या’पछि अर्का छोरा फरार

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ फिकाधारास्थित डेराको भुँइतलामा डेरा लिई बस्दै आएका थिए दाजु मिलन आचार्य र भाइ प्रविण आचार्य । खोटाङको दिक्तेल नगरपालिका घर भएका मिलन बीए पास गरेर लोकसेवाको तयारी गर्दै थिए । कान्छो प्रवीण आचार्य भीएस निकेतनमा बीएससी पढ्दै थिए । उनीहरूले त्यहाँ ३ वर्षदेखि दुईवटा कोठा भाडामा लिएका थिए । छोराहरू बस्दै आएको सो कोठामा उनीहरूका बाबु कुलप्रसाद आचार्य, जो जिल्ला हुलाक कार्यालय दिक्तेलका निमित्त प्रमुख (नासु) पनि २ पुसदेखि बस्दै आएका थिए । उनी हुलाक विभागमा पनि काममा रहेको र छोराहरूसँग पनि भेट हुन्छ भन्दै काठमाडौं आएका थिए ।

सो फ्ल्याटमा चारवटा कोठा रहेकामा उनीहरूले दुईवटा र अन्य व्यक्तिले दुईवटा भाडामा लिएका थिए । उनीहरू बस्दै आएको दुवै कोठामा आइतबार ताल्चा लागेको थियो । सोमबार पनि ताल्चा देखेपछि सोही घरमा भाडामा बस्नेहरूले प्रहरीलाई खबर गरे । जब प्रहरी आएर दुवै कोठाको ताल्चा फोडे, सोच्नै नसकिने घटना सो घरमा भाडामा बसेकाहरू र छिमेकीहरूले देखे । अर्थात् उनीहरूले भाडामा लिएका दुई कोठामध्ये एउटा कोठामा ५६ वर्षीय बाबु कुलप्रसाद र अर्काे कोठामा २२ वर्षीय प्रविणको शव थियो । मृत भेटिएका बाबुछोराको शरीरमा चोट भेटिएको छ । कुलप्रसादको टाउको पछाडि, कानमा र प्रवीणको टाउको पछाडि चोट देखिएको छ ।

शनिबार राति बाबु र दुई छोरालाई सँगै खाना खाएको देखेका सो घरमा भाडामा बस्नेहरू जेठो छोरा सविनलाई नदेख्दा अचम्ममा परेका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

भाडामा बस्नेहरूको भनाइलाई आधार मान्दै घटनास्थलमा पुगेर अनुसन्धानमा जुटेको प्रहरीले शनिबार राति नै दुवै जनाको हत्या भएको आशंका गरेको छ । अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरको सहयोग लिएको छ । दुवाकोटस्थित केएमसी अस्पतालबाट फरेन्सिक विज्ञको टिम पनि घटनास्थलमा गएर अनुसन्धान गरेको छ । उनीहरूको शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले दुवै जनाको हत्या भएको आशंका गरिएको जानकारी दिए । उनले दुवै जनाको एउटै प्रकृतिबाट हत्या भएको देखिएको बताए ।

मृतक कुलप्रसादका जेठा छोरा मिलन हाल बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । डीएसपी न्यौपानेका अनुसार मिलन हाल सम्पर्कविहीन रहेको र उनको खोजी भइरहेको छ ।

मृतक आचार्य बाबुछोराको शरीरमा चोट देखिएको र सँगै बसिरहेका जेठा छोरा सम्पर्कविहीन हुनुमा घटना शंकास्पद बनेको मृतकका आफन्त एवं दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका गोपाल आचार्यले बताए ।

मृतक कुलप्रसादको हुलाक कार्यालय दिक्तेलका कर्मचारीसँग शुक्रबार पनि संवाद भएको पाइएको छ । त्यसक्रममा उनले आफू हुलाक विभागमा भएको बताएका थिए ।

कुलप्रसादका दुई छोरीमा जेठी नायब सुब्बा छिन् । कान्छी हाल अस्ट्रेलियामा छिन् । श्रीमान्–श्रीमती मात्रै दिक्तेलमा बस्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 478 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते