स्याङ्जा । स्याङ्जाको कालीगण्डकी–७, मिर्मी आँधीमुहानमा बस्दै आएका माझी तथा बोटे समुदायले वर्षौंदेखी लालपुर्जाको पर्खाइमा छन् । गुठी संस्थानको नाममा रहेको जग्गामा उनीहरू वर्षौंदेखि बसोबास गर्दै आएका छन् । माछा मार्ने, स्टिमर चलाउने कामसँगै ज्याला मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्दै आएका बोटे समुदाय लालपुर्जा नहुँदा व्यवस्थित बसाइँ गर्न नपाएको गुनासो गर्दै आएका छन् ।
आफ्नै नाममा जग्गा जमिन नहुँदा बर्षैदेखी निकै समस्या झेल्दै आएको स्थानीय मुना बोटेले बताइन् । आफ्नै नाममा जमिन भएको भए बैंकमा राखेर केही गर्न पाइने थियो उनले भनिन्,‘लालपुर्जा नहुँदा व्यवसाय गर्न पनि पाएनौं, ऋण पनि पाएनौं ।’ आँधीमुहान पुग्ने नेताले लालपुर्जा उपलब्ध गराउने प्रतिवद्धता गराएपनि बोल्ने तर काम नगरेको गुनासो उनीहरुको छ । अर्का स्थानीय मनिलाल बोटेले गुठीको नाममा जग्गा हुँदा आफूहरू नेपाली नागरिक नै नभएको हो की भन्ने महसुस भएको बताए । भुमि नभएकाहरुलाई भुमि दिलाउछौं भन्ने खबरहरु पाउछौं तर अहिले सम्म हामी बोटे समुदायमा सरकारको ध्यान गएन मनिलालले भने ।
कालीगण्डकी–७ का वडाध्यक्ष उमप्रकाश भट्टराईले सय वर्षभन्दा धेरै अगाडिबाट उनीहरु त्यहीँ बस्दै आएको बताए । उनीहरूलाई लालपुर्जा उपलब्ध गराउन धेरै प्रयास गर्दा पनि नसकिएको बताए । आफूहरूले निरन्तर प्रयास गरिरहेको अध्यक्ष भट्टराई बताउछन् ।
कालीगण्डकी गाउँपालिकाले ६५ घरधुरीको विवरण भूमि आयोग तथा प्रदेश सरकारलाई पठाएको कार्यपालिका सदस्य तथा स्थानीय प्रेम माझीले बताए । उनका अनुसार पालिकाभर झन्डै ८० घरपरिवारसँगै आफ्नै नाममा जग्गा छैन भने आँधीमुहानमा मात्रै ५५ घरपरिवार रहेको बताए ।
आँधीमुहानमा बस्ने अन्य समुदायसँग पनि आफ्नै नाममा जग्गा नरहेको उनको भनाइ छ । तत्कालीन भूमि आयोगले भूमिहिनका लागि जग्गा उपलब्ध गराउने उद्देश्यले सूचना प्रकाशित गरेपछि पालिकाले उनीहरूको विवरण पठाएको जनाएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना निर्माणपछि माछा मार्नेलगायतका काममा समस्या आएको भनी केन्द्रले बोटे, माझी समुदायको माछा मार्ने क्रमलाई सहज बनाउन प्रत्येक वर्ष माछाका भुरा छोड्ने गरेको छ । यही माछा मार्ने र आफ्नो गर्जो टार्ने बोटे समुदायको गुनासोमा राज्य संवेदनशिल बन्नु आवश्यक छ ।