वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाका प्रशासकीय अधिकृतसँग समन्वय गर्न असमर्थ नगरप्रमुख सिंहासन साह तेलीको असमन्जस झाँगिदा पालिकाका सामानमा तोडफोड र आगजनी मात्र सिमित भएन । त्यो इसु बढेर पालिका बाहिर आरोप प्रत्यारोप छताछुल्ल भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफा र नगरप्रमुख तेली बीचको असमन्जस जुँगाको लडाईंमा परिणत हुँदा अन्त्वतोगत्वा गएको शुक्रबार विद्यार्थीहरुबाट पालिकाका सामान तोडफोड र आगजनीसम्मको घटना बाहिरिएको छ । नगरप्रमुखले अख्तियारी नदिंदा र नगर परिषद् समेत लामो समय हुन नहुँदा छ महिनादेखि तलब नपाएका शिक्षकहरुले पढाउन गाह्रो मान्न थालेपछि विद्यार्थी आक्रोश हुँदै गएको शुक्रबार पालिकाका सामान तोडफोड र आगजनी गरेका थिए ।
नगरप्रमुख पक्षधरले ती विद्यार्थीहरुलाई पनि आफ्ना विरोधीले उचालेर सो घटना भएको आरोप लगाएका छन् । नगरप्रमुख तेलीले प्रमुख प्रशासकीय अधिकृतकै इसारामा उनको कोठाका सामान वाहेक अरु सबै सामानमा क्षति पुगेको सोमबार पत्रकार सम्मेलन गर्दै दावी गरे । तर संचारकर्मीहरुले तपाईको ईशारामा नै प्रशासकीय प्रमुखलाई दोशी देखाउने उनको कोठा मात्र बचाएर तोडफोड र आगजनी गराएको भन्ने आरोप छ नि ? भन्ने जिज्ञासामा नगरप्रमुख तेलीले केही जवाफ दिएनन् । उनले पत्रकार सम्मेलनमा नै पत्रकारहरुले राखेको जिज्ञासामा कुरा अन्त मोडेका थिए । उता प्रमुख प्रशासकीय अधिकृत मुस्तफा भने बढुवाका लागि परिक्षा दिन केही दिन अगाडीदेखि नै जिल्लाभन्दा बाहिर गएको खुलेको छ ।
पालिकाको १९ सदस्य बोर्ड समितिमा उपप्रमुख सुष्मा कुशवाहा सहित ६ वटा वडाका वडाध्यक्ष तथा ४ कार्य समिति सदस्य सहित ११ जना अर्थात पालिका बोर्डको बहुमत सदस्य संख्या नगरप्रमुख तेलीको निरंकुश कार्यशैलीको विरुद्धमा रहेको भनी विज्ञप्ती नै सार्वजनिक गरी विरोधमा छन् । तत्काल बोर्ड बैठक बोलाउन उनीहरुले माग गरेका छन् । गएको पुस ५ गते शुक्रबार पालिकाका सामान तोडफोड र आगजनीको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यो छानविन र दोषीमाथि कार्वाहीको माग गर्दछौं उनीहरुले भनेका छन् । तत्काल बोर्ड बैठक उनीहरुले विज्ञप्तीमा पनि माग छ । साथै पालिकामा राम्रो काम गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई दोष देखाएर मेयर उम्किन नहुने उनीहरुको भनाइ छ । नगरप्रमुख तेलीको इसारामा आफू निकटका व्यक्तिलाई भर्ना गर्न नमानेका, उनका साढुकै पसलबाट सामान खरिद गर्न एकोहोरो नीति नमानेका र तेलको कुपन पनि मेयरले नै काट्ने कुराको विरोध गर्दा मेयरले प्रमुख प्रशासकीय अधिकृत माथि रिसीबी साँधेर सरुवाको कुरा गरेको उनीहरुको तर्क छ ।
पालिकामा बोर्ड बैठक बसाएर छलफल गर्न पछि हट्ने, प्रशासकीय अधिकृतलाई अख्तियारी नदिएर शिक्षक कर्मचारीलाई तलब खुवाउन समस्या भएको छ । प्रशासकीय अधिकृत गलत मात्र भन्ने, तर के कुरामा गलत हो ? सो कुरा बोर्ड भित्र राखेर सबैलाई जानकारी गराउन पछि हट्ने मेयरको शैली नै गलत भएको उपप्रमुख कुशवाहाको तर्क छ । गएको शुक्रबार भएको घटना दुःखद् हो । सम्बन्धित पक्षले छानविन गरी दोषी जो कोही भए पनि कार्वाही गर्नुपर्छ उनले जोड दिइन् ।
यता उपप्रमुख सहित बोर्डका अधिकाँश सदस्य प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने नगर प्रमुखको एक मात्र अडानको विरोधमा छन् । नगरप्रमुख तेली बोर्डमा पनि अल्पमतमा देखिन्छन् । त्यसैले होला नगरप्रमुख तेलीले सोमबार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै पालिकाको समस्याको ‘पासा’ संघीय मामिला तथा प्रशासन मन्त्री राजकुमार गुप्ता तर्फ सोझ्याउँदै प्रमुख प्रशासकीय अधिकृतको सरुवाका लागि हारगुहार गरेका छन् । कर्मचारी संयन्त्रको प्रमुखमा अर्को जो व्यक्ति आए पनि आफू स्वीकार्न तयार रहेको, तर वर्तमान प्रमुख प्रशासकीय अधिकृतलाई भने आफू मान्न नसक्ने उनको अडान छ ।
नगरप्रमुखको पछिल्लो कार्यशैली प्रति विभिन्न वडाका अध्यक्ष र गएको निर्वाचनमा नगरप्रमुख पदका प्रत्यासी शिव पटेलले पनि आफ्नो पालिकामा भएको अस्वभाविक घटनाको निन्दा गरेका छन् । उनीहरुले नगरप्रमुखको कारण बहुदरमाई नगरपालिकामा नराम्रो घटना भएको तर्क गरे । नगरसभा पनि गएको कार्तिक ८ गते बल्ल आफूहरुको प्रेसरमा मात्र गर्न बाध्य भएको वडाध्यक्षहरुको भनाइ छ । वडा नम्बर १ का वडाध्यक्ष प्रमोद प्रसाद यादवले पनि अब जनतामा सबै समस्या लिएर जाने तर्क गरे । सबैभन्दा ठूला जनता हुन्, जनताको सुझाव अनुसार हामी अगाडी बढ्छौं उनले संचारकर्मीहरुसँग भने ।






