नाटकबाट चलचित्र हुँदै फेरि नाटकमा बिजय र नाजिर

काठमाडौं । चलचित्र पूर्णबहादुरको सारंगीका मुख्य अभिनेता हुन बिजय बराल । उनको चलिचत्र पूर्णबहादुरको सारंगी सुपरडुपर हिट भएको छ । यो चलचित्रले यतिबेला ५१ दिन समेत मनाएको छ । आफ्नो यो चलचित्र रिलिज भएपछि एक महिना भित्रै बिजयलाई आधा दर्जन चलचित्रमा मुख्य भूमिकामा प्रस्ताव आयो ।

तर उनले यी कुनै पनि चलचित्रमा काम गरेनन् । उनले यी चलचित्रको स्कृप्ट समेत हेरेका छैनन् । अभिनेता बिजय बिगत तीन महिनादेखि नाटकमा व्यस्त छन् । एउटा चलचित्रबाट २५ लाख रुपैयाँ पारिश्रमिको प्रस्ताव आउँदा पनि अहिले उनी नाटकमै एकाग्र छन् ।

अर्का अभिनेता नाजिर हुसेनलाई पनि ६ कहिना यताबाट एकपछि अर्को चलचित्रको प्रस्ताव आईरहेको छ । उनले पनि यो अवधिमा एउटा पनि चलचित्रमा काम गरेका छैनन् । नाजिरले १० पुषबाट चलचित्र कल्लीको छायांकन सुरु गर्नु पर्ने थियो । तर उनी पनि नाटकमै व्यस्त छन् । किनकी नाजिर आफैंले नयाँ नाटक ‘हरि हजुरबा’को लेखनसँगै निर्देशन र अभिनय पनि गरेका छन् ।

यि दुबैले मुख्य भूमिका निर्वाह गरेको नाटक ‘हरि हजुरबा’ अघिल्लो बिहिबारबाट काठमाडौंको थापागाउँ स्थित मण्डला थिएटरमा मञ्चन भईरहेको छ । यी दुई अभिनेता दैनिक यही नाटकको मञ्चनमा व्यस्त रहेका छन् । नाटक अझै दुई सातासम्म त्यहाँ मञ्चन हुनेछ । त्यसपछि मात्र आफुहरु चलचित्रको काममा फर्कने अभिनेता नाजिर हुसेनले राजधानीलाई बताए ।

सर्लाही लालबन्दीका बिजय बरालले गुरुकुलबाट अभिनय यात्रा सुरु गरेका हुन् । तर उनले नाटक करिअर मण्डला थिएटरबाट अघि बढाएका थिए । त्यसैले बिजय नाटकलाई नै बढी महत्व दिन्छन् ।

यस्तै बारा, डुमरर्बका नाजिरलाई मण्डला थिएटरका पूर्व अध्यक्ष नाट्यकर्मी एवम् उनको गाउँले दाई राजन खतिवडाले सहयोगी कलाकारको रुपमा मण्डलामा भित्राएका थिए । बिजय र नाजिरको भेट पनि मण्डलामै भएको थियो । यी दुईले अनामनगरको मण्डला थिएटरको जग खन्दादेखिनै यो क्षेत्रमा सहकार्य गरे । यसरी मण्डलाबाट सुरु भएको आफुहरुको नाट्य यात्रा र मित्रतालाई निरन्तर अघि बढाउन पनि चलचित्रको काम छाडेर यसपटक नाटकमा काम गरेको अभिनेता नाजिरले बताएका छन् ।

‘कुरुप हाँसपछि मैले नाटक नगरेको ८ वर्ष हुन लागेको थियो । मण्डलाको लागि दयाहाङ दाईले पनि एउटा नाटक गर्नुपर्छ भन्नु भयो र बिजय दाईले पनिसँगै काम गर्ने प्रस्ताव राख्नु भएपछि हामीले यो नाटक गरेका हौं,’ अभिनेता नाजिरले राजधानीसँग भने,‘मेरो अभिनयको धरातल मण्डलाबाट सुरु भएको हो र लामो समय म नाटकबाट बाहिर हुँदा धरातल नै बर्सेछुकी जस्तो महसुर भईरहेको थियो । तर यसपटक आफ्नै लेखन, निर्देशन र अभिनयमा यो नाटक गर्दा केही फरक काम गरेको महसुस भईरहेको छ ।’

अर्का अभिनेता बिजय बरालको अहिलेको अबस्था हेर्दा उनी पनि नाटकमै मुग्ध छन् । उनी यो नाटकमा हजुरबाको भूमिकामा छन् । सामान्य जीवनमा रमाउने उनी सुपरहिट चलचित्र पूर्णबहादुरको मुख्य अभिनेता हुन जस्तो पनि देखिँदैनन् । यी अभिनेतालाई दुई महिना अघि एउटा चलचित्रमा ३० लाख रुपैयाँ पारिश्रमिकसहित पुसबाटै छायांकनको लागि प्रस्ताव आएको थियो । तर उनले सो चलचित्रमा काम गरेनन् ।

‘मैले नाजिरलाई हरि हजुरबामा काम गर्ने भनेर बचन दिईसकेको थिएँ र नाटकको कार्यशाला पनि सुरु गरिसकेका थिएँ । त्यसैले यो बीचमा मैले थुप्रै चलचित्रको प्रस्तावलाई वेवस्ता गरेको हुँ’, अभिनेता बिजयले भने । बेला बेलामा नाटकमा काम गर्दा अभिनयमा रिफ्रेस हुने पनि बिजयले बताए । चार महिनासम्म चलचित्रमा काम नगर्दा बिजयलाई कम्तिमा १५ देखि २० लाख रुपैयाँ घाटा हुन्छ । यो कुरा स्विकार्दै अभिनेता बिजयले भने,‘हो, यो चार महिना मैले चलचित्रको लागि समय दिएको भए राम्रो कमाई हुन्थ्यो । तर नाटकको लागि मैले कहिल्यै पैसा हेरिन र चार महिना काम गर्दा हरि हजुरबाबाट प्राप्त हुने ४० हजार रुपैयाँबाट म सन्तुष्ट छु ।’ आफु पैसाको पछि कहिल्यै नलागेको पनि यी अभिनेताले जिकिर गरे ।

नाटक हरि हजुरबाको दर्शकबाट पाएको प्रसँसा प्रति बिजय र नाजिर निकै खुसी छन् । द्धन्द्धकालले निम्त्याएको समस्यको कथा यो नाटकमा यी दुईले प्रस्तुत गरेका छन् । जसमा नाजिरले हुलाकीको भूमिका निर्वाह गरेका छन भने बिजयले हराएकी नातिनीको प्रतीक्षामा रहेका हजुरबाको भूमिका निर्वाह गरेका छन् । द्धन्द्धमा वेपत्ता भएकाहरुको कथालाई नाटकमा प्रस्तुत गर्न पाउँदा निकै खुसी लागेको पनि अभिनेता बिजयले राजधानीलाई बताए ।

यी दुबै अभिनेता दुई सातापछि अब चलचित्रमा फर्कने भएका छन् । नाटकको मञ्चन सकिने बित्तिकै आफु चलचित्र कल्लीको छायांकनमा जोडिने अभिनेता नाजिरले बताए । यस्तै अभिनेता विजय पनि कबड्डी ५ को छायांकनमा चाँडै जोडिँदैछन् । यो वाहेक उनका अरु पनि केही चलचित्रहरु छन् ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

epaper

ताजा समाचार

‘आचार्य’ लिएर ११ वर्षपछि निखिल