पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्पूर्ण प्रक्रिया पूरा गरेर पोखरामा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २ वर्ष बितेको छ । गत १ जनवरी, २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच विमानस्थल उद्घाटन गरेका थिए ।
विमानस्थल उद्घाटनताका निकै ठूलो आशा र उत्साह भए पनि यो विमानस्थल पछिल्लो समय ऋणको भारले थिचिँदै गएको छ । किनकि यहाँबाट नियमितरुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेकै छैन । केही चार्टर्ड उडानमा मात्र सीमित यो विमानस्थलले आन्तरिक उडान भने नियमित गरेको छ ।
विमानस्थलबाट ठूलो जहाज टेक अफमा समस्या पर्ने भन्ने गलत भाष्य सिर्जना भएको छ । उक्त हल्ला चिर्न बिहीबार चीनको छेन्कुबाट पूर्ण क्षमतासहित १२९ यात्रु (क्रू मेम्बरबाहेक) बोकेर सिचुआन एयरलाइन्सको ‘एयरबस ३१९’ जहाज सफल अवतरण भयो ।
त्यतिमात्र कहाँ हो र उक्त विमान केही समयपछि नै १२६ जना यात्रु (क्रू मेम्बरबाहेक) बोकेर काठमाडौंतर्फ उड्यो । जसमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी, पोखराका पर्यटन व्यवसायी र पत्रकार संलग्न थिए । पोखरा विमानस्थलमा झैं काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको उस्तै स्वागत भयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पोखरा विमानस्थलमा कुनै पनि प्राविधिक समस्या नरहेको बताए ।
गण्डकी प्रदेशका पर्यटन मन्त्री कृष्णप्रसाद बस्यालले पनि पोखरा विमानस्थल सम्पूर्ण गण्डकी प्रदेशवासीको आशा र भरोसा भएकाले तत्काल नियमित रुपमा अन्तर्राष्ट्रिय उडानमा जोड दिन्छन् ।
राम्रो गृहकार्य गरेर सुरु गर्ने हो भने पोखराबाट अन्तर्राष्ट्रिय उडान सफल हुनेछ यसले प्रमाणित गरेको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् ।
नाट्टा गण्डकीको संयोजनमा सिचुवान एयरमार्फत फुल लोड (पूर्ण क्षमतासहित) पोखरादेखि काठमाडौंसम्म उडानको चाँजोपाँजो मिलाइएको थियो ।
अध्यागमन, भन्सार, श्रम, शिक्षा, स्वास्थ्य पररास्ट्र मन्त्रालयका सम्बन्धित कार्यालय तथा अन्तर्राष्ट्रिय जहाज कम्पनीका शाखाहरुको स्थापना गर्नुपर्ने नाट्टा गण्डकी अध्यक्ष किशोर दाहाल बताउँछन् ।
विमानस्थल संचालनको २ वर्षमा यहाँबाट कुल ११ अन्तर्राष्ट्रिय उडान मात्र भए । तीमध्ये सिचुआनको मात्र पोखरामा यो समेत तेस्रो चार्टर्ड उडान हो । यसअघि चीन, भुटान र भारतबाट पनि चार्टर उडान भएको विमानस्थल प्र्रवक्ता जशोदा सुवेदले बताइन् ।
सबैभन्दा बढी सिचुवान एयर पोखरा आएको छ । २१ जुन २०२३ मा चीनको छेन्दुबाट पहिलोपटक सिचुवान एयर पोखरा आउँदा ८४ जना यात्रु लिएर आएको थियो । त्यसपछि गत नोभेम्बर ७ मा सिचुआनकै जहाज १२० जना धावक लिएर कुन्मिङबाट आएको थियो ।