अस्ताइन् प्रथम महिला राजदूत

काठमाडौं । नेपालकी प्रथम महिला राजदूत बिन्देश्वरी मल्ल शाहको निधन भएको छ । २ फागुन १९८९ मा जन्मिएकी प्रथम महिला राजदूत शाहको बिहीबार बिहान काठमाडौंको कालिमाटीस्थित आफ्नै निवासमा निधन भएको हो । २०४४ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले उनलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए । नेपालको इतिहासमा राजदूतका रूपमा नियुक्ति पाउने शाह नै पहिलो नेपाली महिला राजदूत हुन् । स्वर्गीय शाह पूर्वबैंकर्स अनिलकेशरी शाहकी आमा हुन् ।

नेपालमा २०४६ सालको जनआन्दोलन हुँदा उनी नै भारतका लागि नेपाली राजदूत थिइन् । उनी सन् १९९१ मा भारतबाट फर्केपछि परराष्ट्र मन्त्रालयको अतिरिक्त सचिवसम्म भएर काम गरेकी थिइन् । उनका पिता पद्मसुन्दर मल्ल निर्वासनमा भएका बेला उनको जन्म भारतको खर्साङमा भएको थियो । त्यहीँबाट प्रारम्भिक शिक्षा हासिल गरेकी मल्ल शाहले अमेरिकाको कोलिम्बिया विश्वविद्यालयको बर्नार्ड कलेजबाट स्नातक गरेकी थिइन् ।

सम्भवतः अमेरिकाको कुनै कलेजबाट स्नातक गर्नेमा पनि उनी नै नेपालकी पहिलो महिला हुन् । उनले अमेरिकाकै जोन हप्किन्स विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी थिइन् । अमेरिकाको अध्ययन सकेको केही समयपछि उनले सन् १९५९ मा लोकसेवा पास गरी परराष्ट्र सेवामा जागिरे जीवन सुरु गरेकी थिइन् । सन् १९६१ देखि १९६५ सम्म अमेरिकास्थित नेपाली दूतावासमा उनले काम गरेकी थिइन् ।

त्यसपछि सन् १९७२ मा बंगलादेश स्वतन्त्र भएर नेपालले दूतावास खोलेपछि उनले त्यहाँको डेपुटी चिफ अफ मिसनका रूपमा काम गरेकी थिइन् । उनका पति डा. नारायणकेशरी शाहको यसअघि नै निधन भइसकेको छ । जेठा छोरा अनिलकेशरी शाह नेपालका सेलिब्रेटी पूर्वबैंकर हुन् । कान्छा छोरा उज्ज्वलकेशरी शाहको पनि विमान दुर्घटनामा परि निधन भएको थियो ।

९२ वर्षको उमेरमा बिहीबार वरिष्ठ कूटनीतिज्ञ स्वर्गीय शाहको निधन भएको हो । शाहको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको उनको परिवारले जनाएको छ । २०४४ सालमा परराष्ट्र सेवाबाट शाह नेपालकै पहिलो महिला राजदूत भएकी थिइन् । सोही कारण उनी राजदूत बन्ने पहिलो नेपाली महिलाको कीर्तिमानसमेत राख्न सफल भइन् । भारतमा राजदूतपछि सेवानिवृत्त हुनुअघि केही समय परराष्ट्र मन्त्रालयमा उनलेअतिरिक्त सचिवको जिम्मेवारी सम्हालेकी थिइन् ।

उनका बुवा पद्मसुन्दर मल्ल तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका कारण देश छाड्न बाध्य भएका थिए । त्यतिबेला उनका बुबा पद्मसुन्दरले जापानमा विद्युतीय इन्जिनियरिङमा स्नातक सकेपछि अमेरिकाको मिसिसिपी विश्वविद्यालयमा त्यही विषयमा सन् १९२२ मा स्नातकोत्तर सकेर फर्किएका थिए । सम्भवतः उनका बुबा पनि अमेरिका गएर स्नातकोत्तर गर्ने पहिलो नेपाली थिए । त्यतिबेला धेरै पढेर जान्ने पल्टेको भनेर राणा सरकारले उनका बुबालाई देश निकाला गरिएको उनको परिवारस्रोतले जनाएको छ ।

उनको परिवार स्रोतका अनुसार त्यतिबेला चन्द्रशमशेरले गरेको अपमान सहन नसकी शाहका बुबा पद्मसुन्दर दार्जिलिङको खर्साङ बसाइँ सरेका थिए ।

त्यस समय स्वर्गीय शाहले त्यहाँको सेन्ट हेलेन विद्यालयमा पढेकी थिइन् । उनले सन् १९५१ मा स्नातक गरेपछि ‘द वल्र्ड अफ टुमारो’ शीर्षकमा निबन्ध लेख्ने संसारका उत्कृष्ट सयलाई अमेरिका भ्रमणको अवसर हुने खबर पाएपछि शाहले पनि भाग लिइन् ।

शाह त्यसपछि सन् १९५२ मा अमेरिका पुगिन् र अनेकन ठाउँ भ्रमण गरिन् । सन् १९५६ मा बिन्देश्वरी कोलम्बिया विश्वविद्यालयको बर्नार्ड कलेजबाट लिबरल आट्र्समा स्नातक उपाधि हासिल गर्दै अमेरिकी कलेजबाट स्नातक गर्ने उनी पहिलो नेपाली महिला बनिन् ।

उनले सन् १९५८ मा स्कुल अफ एडभान्स्ड इन्टरनेसनल स्टडिज, जोन्स हप्किन्स युनिभर्सिटी, वासिंगटन डीसीबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरिन् । त्यसपछि उनी नेपाल फर्किएकी थिइन् । नयाँसडकमा खुलेको अमेरिकन पुस्तकालयमा चिफ लाइब्रेरियनका रूपमा पनि उनले काम गरिन् ।

उनको निधनपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा कालिमाटीस्थित निवासमै श्रद्धाञ्जली दिन पुगेकी थिइन् । श्रद्धाञ्जली दिनेक्रममा परराष्ट्रमन्त्री राणाले नेपाल सरकारको परराष्ट्र सेवामा लामो समय योगदान पु¥याएकी स्वर्गीय शाहको निधनले नेपालको कूटनीतिक क्षेत्रमा योगदान दिने एक अनुभवी व्यक्तित्व गुमाएको बताएकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपीले दिए स्वतन्त्र उम्मेद्वारी