धनगढी । कैलालीमा हुलाकी राजमार्ग स्तरवृद्धिका लागि २०७७ सालमा ठेक्का सम्झौता भयो । धनगढी र लम्कीमा चार लेन र बाँकी क्षेत्रमा २ लेनको राजमार्ग निर्माणको काम अझै जारी छ ।
धनगढी क्षेत्रको तीन किलोमिटर चार लेनको काम सकिएको छ । तर, चार लेनको सडक कालोपत्रे भएको एक वर्ष नहुँदै चिरा पर्ने र भत्किन थालेको छ । हुलाकी राजमार्ग निर्देशनालयलाई निर्माण कम्पनीले सडक हस्तान्तरण नगर्दै भत्किएको छ । धनगढीको क्याम्पस चोक, बुद्धचोक, मनहेरा, कालिका मन्दिर र जंगल क्षेत्रको सडक उप्किएको छ । सडकको ठाउँ–ठाउँमा चिरा परेका छन । कालोपत्रे गरिएको एक वर्ष नपुग्दै कैलालीमा हुलाकी राजमार्ग भत्किएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकदेखि पूर्वी कैलालीमा कालोपत्रे गरिएको राजमार्ग भत्किन थालेको हो । हुलाकी राजमार्ग, योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले चिरा परेको र भत्किएको सडक क्षेत्रको स्थलगत अनुगमन गर्ने बताए । उनले भने, ‘मैले हेर्न पाएको छैन । स्थलगत अनुगमन गरेपछि के भएको रहेछ, भन्छु ।’
हुलाकी सडक निर्देशनालय।ले धनगढीमा तीन किलोमिटरसहित ७३ किलोमिटर राजमार्ग स्तरवृद्धिको काम गर्दैछ । तर, धनगढी क्षेत्रमा कालोपत्रे गरिएको एक वर्ष पूरा नहुँदै ठाउँ–ठाउँमा सडक उप्किएको छ । सडक उप्किएको ठाउँमा टालो लगायर हस्तान्तरणको तयारी गरिएको छ । हुलाकी राजमार्ग, योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले हस्तान्तरणको काम बाँकी रहेको बताए । उनले भने, ‘कालोपत्रे सडक हस्तान्तरण गरिएको छैन ।’
हुलाकी राजमार्गको धनगढीमा तीन किलोमिटरलाई ४ लेनमा स्तरवृद्धि गरिएको छ । धनगढीको क्याम्पस चौकदेखि मनहेरा (कालिका मन्दिर) सम्मको तीन किलोमिटर ४ लेन र बाँकी ४१ किलोमिटर हुलाकी सडक २ लेनमा स्तरवृद्धिको काम हुँदैछ । धनगढीदेखि फूलबारी क्षेत्रको राजमार्ग कालोपत्रे गरिएको छ । तर, सडक स्तरीय निर्माण गरिएको छैन। हुलाकी राजमार्गको गुणस्तर परीक्षण गरिएको छ । कालोपत्रेको मोटाइको परीक्षण गरिएको हो । तर, योजना कार्यालयले उक्त परीक्षणको अवस्था सार्वजनिक गरेको छैन । उल्टै, चिरा परेको राजमार्ग क्षेत्रमा टालो लगाउने काम भएको छ ।
हुलाकी राजमार्गको धनगढीदेखि सत्तीसम्म ४४ किलोमिटर र लम्की–टीकापुर लिंक सडक २९.७ किलोमिटर स्तरवृद्धि गरिएको हो । लम्की–टीकापुर सडक खण्डमा साढे १० किलोमिटर र धनगढीमा तीक किलोमिटर ४ लेनको सडक निर्माण गरिएको हो । भारत सरकारले साँघुरो र न्यून गुणस्तरको निर्माण गरेको हुलाकी राजमार्ग फेरि कमसल कालोपत्रे गरिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीले स्थलगत निरीक्षणसमेत गर्दै आएको छ । तर, टालटुल गरेको सडक हस्तान्तरणको तयारी छ ।
धनगढीदेखि कटैनीसम्मको ३१ किलोमिटर र कान्द्रा नदीदेखि सत्तीसम्मको १३ किलोमिटर सडक गरी ४४ किलोमिटर स्वच्छनन्द–जोशी जेभी र लम्कीमा ८ किलोमिटर कालिका–कुमार जेभी, १८ किलोमिटर एपेक्स–खड्का–कृष्ण जेभी र ७ सय ४१ मिटर राईमाझी–जलवा–जगदम्बा जेभीले सडक निर्माणको ठेक्का पाएको थियो । १२ मिटर सडकमा ७ मिटर चौडाई कलोपत्रे, चार लेनमा बीचमा २ मिटरको मिडिएम र ७–७ मिटरको कालोपत्रे छ । साढे २ मिटरको फुटपात समेत निर्माण हुने छ ।