मिटर व्याजका मुद्दा किनारा लगाउनेमा पर्सा अगाडी

वीरगन्ज । अनुचित लेनदेन (मिटर व्याज) ले आफन्त र छरछिमेकमा पानी बाराबार, बोलचाल बन्द र केही हात हालाहालसम्मका घटना हुने गरेका थिए । यसको न्यूनिकरण गर्न राज्य नै अग्रसर हुनु परेको तथ्य छर्लङ्ग छ । मिटर व्याजसम्बन्धी समस्याको किनारा लगाउन सरकारी समन्वयको आवश्यकता राज्यले आफै महसुस ग¥यो । फलतः नीति पनि बन्यो ।

सो नीति अनुसार अहिले मधेश प्रदेशका पनि ८ वटै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयहरुमा मिटर व्याज सम्बन्धी पीडित र पिडकका फायल खोल्ने र समस्या किनारा लगाउने काम चलिरहेको छ । यसले यी कार्यालयहरुमा एक किसिमको भिड पनि बढेको पाइन्छ ।

अरु प्रदेशभन्दा मधेश प्रदेश तथ्याँकीय आधारमा अनुचित लेनदेनको समस्या बढि भएको प्रदेशका रुपमा पनि देखिएको छ । त्यसैले यो समस्या न्यूनिकरणमा स्थानीय प्रहरी प्रशासन सकृय भएर लागिरहेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । तथ्याकीय आधारमा मिटर व्याजको समस्या न्यूनिकरण गर्न मधेशका ८ जिल्ला मध्ये पर्सा जिल्ला सबैभन्दा अब्बल सावित भएको छ । पीडितका निवेदन मुद्दा आह्वान गरी सुरुको करिब १० महिना जिल्ला प्रशासन कार्यालय मार्फत समस्या न्यूनिकरणको काम भएको थियो ।

२०८० माघ २४ गतेबाट भने जिल्ला प्रहरी कार्यालय मार्फत ती समस्या न्यूनिकरण गर्ने नीति व्यवहारमा आयो । प्रहरी कार्यालयहरु सेवाग्राहीलाई सेवा दिन जुटेका छन् । पर्सा प्रहरीले पनि सो समयदेखि गएको पुस १० गते सम्म १ हजार ३१ मुद्दाको किनारा लगाइसकेको जनाएको छ । परिमाणतः मधेश प्रदेशका सबै जिल्लाहरुको सम्पादित काममा यो संख्या बढि भएको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्याँकले पुष्टि गरेको छ ।

पर्साको दाँजोमा सबैभन्दा कम मिटरव्याजीको समस्या न्यूनिकरण गर्ने जिल्ला रौतहट दरिएको छ । उसले उक्त अवधिमा जम्मा ५५ वटा मात्र मुद्दा किनारा लगाएको तथ्याँकमा उल्लेख छ । सबैभन्दा बढि उजुरीका मुद्दा परेको सिरहा प्रहरी कार्यालयमा मेलमिलापबाट टुंग्याइएका मुद्दाको संख्या १ सय ८१ मात्र छ । त्यहाँ कुल ३ हजार ८ सय ४२ मुद्दाको उजुरी परेको तथ्याँकमा देखाइएको छ । सिरहा पछि सबैभन्दा बढि पीडितको उजुरी परेको जिल्ला धनुषा हो । त्यहाँ कुल ३ हजार ७ सय ६० वटा मुद्दाको उजुरी परेको पाइएको छ । धनुषामा पनि गएको पुस १० गतेसम्ममा जम्मा २ सय ५६ मुद्दा मात्र किनारा लागेको तथ्याँक भेटिएको हो । अर्को बढि मुद्दाको उजुरी परेको बारामा पनि कुल ३ सय ८३ वटा मुद्दाहरु मात्र किनारा लागेको पाइएको छ । त्यहाँ पनि कुल ३ हजार ७ सय ३३ वटा मुद्दाको उजुरी परेको तथ्याँकले देखाएको छ । जिल्लागत रुपमा हेर्ने हो भने सप्तरीमा २ सय २, सिरहामा १ सय ८१, धनुषामा २ सय ५६, महोत्तरीमा ३ सय ७३, सर्लाहीमा १ सय ३०, रौतहटमा ५५, बारामा ३ सय ८३ र पर्सामा १ हजार ३१ मिटर व्याजीका मुद्दा किनारा लागेको पाइएको छ ।

पर्सामा न्यूनिकरण गरिएका मिटर व्याजीका मुद्दाको संख्या संभवतः सातै प्रदेशमध्ये सबैभन्दा बढि हुन सक्ने पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेलले बताए । प्रहरी प्रधान कार्यालय काठमाण्डौका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विश्व अधिकारीले यो विषयमा ठ्याक्कै एकिन गर्न बाँकी रहेको जनाए ।

पर्सामा भने समिक्षा अवधिसम्म जम्मा २ हजार २ सय २८ वटा मुद्दाको उजुरी परेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । पर्सा प्रहरीले किनारा लगाएका मुद्दाबाट कुल २२ करोड २५ लाख १ हजार ४ सय ३२ रुपैया विगो रकम कायम गरिएको पनि उनको भनाइ छ । मेलमिलाप गराएका मुद्दाहरुबाट पीडितको ३३ विघा ११ कठ्ठा, १९ धुर ८ कनवा जग्गा समेत फिर्ता गराइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक लम्सालले जनाए । जिल्ला प्रशासन कार्यालयबाट प्रहरीका आएका १ हजार ६ सय ६३ र सिधै प्रहरीमा आएका ५ सय ६५ गरी, कुल मुद्दाका उजुरी मध्ये अब पर्सामा टुंग्याउन ९ सय ५० मात्र मुद्दा संख्या बाँकी रहेको पनि पर्सा प्रहरीले जनाएको छ ।

अन्य जिल्ला सहित मधेश प्रदेशमा मात्र गएको पुस १० गतेसम्मको एकमुष्ट संख्या अनुसार १७ हजार ३ सय २३ वटा मिटर व्याजका मुद्दा टुंगाउन अझै बाँकी रहेको तथ्याँकले देखाएको छ । जिल्ला गत रुपमा हेर्ने हो भने सप्तरीमा २ हजार ३ सय २८, सिरहामा ३ हजार १ सय ७०, धनुषामा २ हजार ७ सय ३३, महोत्तरीमा २ हजार ४ सय १५, सर्लाहीमा १ हजार ५ सय २३, रौतहटमा १ हजार ५ सय ३२, बारामा २ हजार ६ सय ७२ र पर्सामा ९ सय ५० मिटरव्याजीका मुद्दा किनारा लगाउन बाँकी रहेको पाइएको छ ।

पर्सामा पुस १० गते यता पनि ६ वटा मुद्दा किनारा लागिसकेको पर्सा प्रहरीले जनाएको छ । यो संख्या सहित पर्सामा कुल १ हजार ३७ मुद्दाको छिनोफानो भइसकेको खुलेको हो । उजुरी किनारा लगाउने क्रममा केही घामट व्यक्तिहरुको कारण मुद्दै दर्ता गर्नु परेको संख्या चाही २८ रहेको पनि खुलेको छ । मिटर व्याजीका पीडकलाई अदालतले पक्राउ अनुमति नदिने हुँदा पनि अपेक्षा गरे जति परिणाम अझ दिन नसकिएको पर्सा प्रहरीको तर्क छ ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोट –१ मा एमाले–माओवादीको प्यानल नै विजयी