सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक मह प्रदर्शनी मेला आयोजना गरिएको छ । नेपाल मौरीपालन महासंघ कर्णाली प्रदेशको आयोजनामा तीन दिने प्रादेशिक मह मेलाको आयोजना गरिएको हो । वीरेन्द्रनगर खुलामञ्चमा सञ्चालित मेलाको मंगलबार प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उद्घाटन गरे ।
मन्त्री शाहले कर्णालीमा उत्पादन भएको गुणस्तरीय महलाई प्रदेशबाहिर निर्यात गर्न मेलाले सहयोग पुग्ने बताए । ‘जब हामी जैविक विविधतालाई बचाउँदैनौं, हामीले लगाउने बालीहरुको उत्पादन फरक भएर आउँछ, आजभोली वितरण गरिएको बीउ कतै उम्रिएका कतै नउम्रिएका पाउँछौं, उनले भने, ‘जलवायु परिवर्तनका कारण हिजो उत्पादन हुने ठाउँमा आजभोलि उत्पादन भएको पाइँदैन्, त्यसकारण जैविक विविधताको महत्व धेरै छ ।’
मन्त्री शाहले मौरीको महको व्यवसायिक उत्पादनका लागि कृषकहरुलाई नयाँ–नयाँ प्रविधि, ज्ञान, औजारहरूका साथै बजारीकरणमा प्रदेश सरकारको सहयोग रहने बताए । कर्णालीमा कृषि क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुको सहयोगमा ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम प्रादेशिक मह मेला आयोजना गरिएको हो ।
मौरीपालन महासंघका प्रदेश अध्यक्ष लिलाराम ढकालका अनुसार कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अर्गानिक खाद्य, पोषण कर्नर, अर्गानिक तरकारी, महको गुणस्तर (शुद्ध भए नभएको छुट्टाउने) मेसिन, मौरीका घारहरू, मह निकाल्ने प्रविधिहरु, खाद्य केराको रेसबाट बनेका म्याट लगायतका सामग्रीहरू प्रदर्शनमा राखिएका छन् ।