काठमाडौं । चालू आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँको व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार नेपालले ६ महिनामा कुल ९ खर्ब २१ अर्ब १६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।
तथ्यांकअनुसार गत पुस मसान्तसम्ममा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ । पुससम्ममा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँबराबरको मात्रै निर्यात भएको छ ।
व्यापार घाटा बढे पनि ६ महिनामा आयात निर्यात दुवै बढेको छ । चालू आवको सोही अवधिमा आयात ७ प्रतिशत र निर्यात ३१ दशमलव ७८ प्रतिशतले बढेको छ । व्यापार घाटा भने ४ दशमलव ३८ प्रतिशतले बढेको छ । गत आवको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालू आवको सोही अवधिमा कुल वैदेशिक व्यापारमा निर्यातको योगदान २ दशमलव शून्य १ प्रतिशतले घटेर ८९ दशमलव २८ प्रतिशत कायम भएको छ ।
भन्सार विभागका अनुसार नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग बेहोरेको छ । पछिल्लो ६ महिनामा भारतबाट ५ खर्ब २ अर्ब ८५ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ भने ७३ अर्ब ७१ करोड १२ लाख रुपैयाँबराबरको मात्र निर्यात भएको छ । व्यापार घाटा ६ महिनामा ४ दशमलव ३८ प्रतिशतले बढेर ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । आव २०८०–८१ को ६ महिनामा व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड थियो ।
जसअनुसार यस अवधिमा भारतसँगको मात्र व्यापार घाटा ४ खर्ब २९ अर्ब १४ करोड रुपैयाँबराबर छ । त्यस्तै, मुलुकले चालू आवको पुस मसान्तसम्ममा चीनसँग १ खर्ब ५८ अर्ब ६२ करोड र अर्जेन्टिनासँग २२ अर्ब ६२ करोड रुपैयाँ व्यापार घाटा बेहारेको छ ।
नेपालले १ सय २३ मुलुकसँग व्यापार घाटा बेहोरेको छ भने ३२ मुलुकसँग व्यापार नाफा गरेको छ । नेपालले गर्ने वैदेशिक व्यापारमा बढी नाफा रहेका मुलुकमा डेनमार्क, अस्ट्रिया, रसियन फेडेरेसन, माल्दिभ्सलगायत छन् ।
६ महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । यस अवधिमा ५४ अर्ब ३६ करोड रुपैयाँको डिजेल, ३२ अर्ब १४ करोडको पेट्रोल र २९ अर्ब ७९ करोड रुपैयाँको ग्यास आयात भएको तथ्यांक छ ।
यस्तै, २५ अर्ब ७१ करोड रुपैयाँको शुद्ध फलाम, २२ अर्ब ९ करोडको तयारी कपडा, २१ अर्ब २१ करोडको एचआर सिट, १७ अर्ब ८४ करोड रुपैयाँको मोबाइल फोन आयात भएको छ । तथ्यांकअनुसार ६ महिनाको अवधिमा ४० अर्ब ८४ करोडको कच्चा तेल आयात भएको छ । कच्चा तेल अमेरिका, अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, थाइल्यान्डबाट आयात भएको हो ।
तेस्रो मुलुकबाट आयातित भटमास, सूर्यमुखी र पाम तेलको निर्यात बढ्दा चालू आवको समग्र निर्यात व्यापार ३२ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पहिलो ६ महिनामा ३ अर्ब ४५ करोड रुपैयाँको तेल निर्यात भएको थियो । यस वर्ष भने ६ महिनामा २५ अर्ब २ करोड रुपैयाँको खानेतेल (भटमास, सूर्यमुखी र पाम) निर्यात भएको छ ।
यसैगरी, मुलुकबाट ६ महिनामा ४ अर्ब ३८ करोड रुपैयाँको तयारी कपडा निर्यात भएको छ । गत वर्षको पहिलो ६ महिनामा ४ अर्ब ६७ करोडको तयारी कपडा निर्यात भएको थियो ।
प्लाइउड मात्रै ४ अर्ब २४ करोड रुपैयाँको निर्यात भएको छ भने गत वर्ष सोही अवधिमा ३ अर्ब ५३ करोड रुपैयाँको मात्र निर्यात भएको थियो ।
भन्सार विभागका अनुसार तेलबाहेक सेन्थेटिक यान, ऊनी गलैंचा कार्पेट, अलैंची, तयारी कपडालगायतको निर्यात पनि बढेको छ । ६ महिनामा ६ अर्ब ८६ करोडको सेन्थेटिक यान निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ५ अर्ब ७० करोड रुपैयाँको सेन्थेटिक यान निर्यात भएको थियो ।
गत आवमा पहिलो ६ महिनामा ऊनी गलैंचा तथा कार्पेट ५ अर्ब २३ करोड रुपैयाँको निर्यात भएकामा यस वर्ष सोही अवधिमा ५ अर्ब ६१ करोड रुपैयाँको निर्यात भएको छ । यस वर्ष ६ महिनामा ४ अर्ब ५६ करोडको अलैंची निर्यात भएको छ, गत वर्ष सोही अवधिमा ३ अर्ब ९० करोड रुपैयाँको अलैंची निर्यात भएको थियो ।
विभागका अनुसार गत वर्ष पहिलो ६ महिनामा ३ अर्ब ८० करोडको फलफूल जुस निर्यात भएकामा यस वर्ष ३ अर्ब ४५ करोड रुपैयाँको निर्यात भएको छ । विभागका अनुसार यस वर्ष ६ महिनामा ३ अर्ब १६ करोड रुपैयाँको चिया निर्यात भएको छ । गत वर्ष यसै अवधिमा २ अर्ब १४ करोड रुपैयाँको चिया निर्यात भएको थियो ।






