सिन्धुली । सिन्धुलीका चारवटा खानेपानी आयोजनाको पानी खान योग्य नभएको भेटिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीले जाँच गरेका २३ वटा खानेपानी आयोजनाको पानी मध्ये चार वटा आयोजनाको पानीमा दिसामा पाईने कोलिफमको जिवाणु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका ल्याव टेक्निसियन अधिकृत गंगाराम कार्कीले बताए ।
कार्यालयले २३ वटा खानेपानी आयोजना र अन्य गरि २७ वटा नमुना परिक्षण गरिएको कार्कीले बताए । उनका अनुसार जनमैत्री खानेपानी आयोजना कनपा ७, खमारे खानेपानी आयोजना दुधौली १, मधुगंगा खानेपानी आयोजना दुधौली र चैनपुर खानेपानी आयोजनाको खानेपानीमा कोलिफम भेटिएको हो ।
कमलामाई नगरपालिका, दुधौली नगरपालिका, हरिहरपुरगढी गाउँपालिका, तिनपाटन गाउँपालिका, घ्याङलेख गाउँपालिका, गोलञ्जोर गाउँपालिका, फिक्कल गाउँपालिका लगाएतका स्थानीय तहमा सञ्चालिन आयोजनाहरुको पानी परिक्षण गरिएको थियो ।
सबैभन्दा बढी मधुगंगा खानेपानी आयोजनाको पानीमा कोलिफम भेटिएको उनले बताए । उनका अनुसार जिल्लाभरी सञ्चालन भएका खानेपानी उपभोक्ता समितिहरुले खानेपानी सुरक्षा योजना नबनेको पनि उनले जानकारी दिएका छन । यस्तै पालिका स्तरको खानेपानी समन्वय समिति समेत नबनेको पाईएको कार्कीले बताए ।
खानेपानी परिक्षणका क्रममा आयोजनाहरुको पानीमा कोलिफम भेटिएपछि खानेपानी परिक्षण गराएका सबै आयोजनाका प्रमुखहरुलाई शुक्रबार पैरवी तथा सचेतनाको कार्यक्रम गरिएको छ ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा शुक्रबार खानेपानी गुणस्तर तथा निगरानी वातावरण प्रदुषण न्युनिकरणका लागि स्थानीय तहहरुको खानेपानी आयोजनाहरु तथा सरोकारवाला निकायहरुको लागि उक्त पैरवी कार्यक्रम राखिएको हो ।
जनस्वास्थ्य कार्यालयका प्रमुख गजेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य विभागको इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला, जनस्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन अधिकृत गंगाराम कार्की र नेवाका भरत भट्टले खानेपानीसँग सम्बन्धित कानुनी व्यवस्था, पानीको सुरक्षा योजना लगाएतका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख गजेन्द्र यादवले शुद्ध खानेपानी उपलब्ध गराउने दायित्व सबैको भएको बताए । उनले जिल्लाका सबै स्थानीय तहमा समन्वय समिति गठन गर्नुपर्ने समेत बताए । मानवीय स्वास्थ्यसँग जोडिएको खानेपानीलाई व्यवस्थित गर्नु सबैको दायित्व रहेको बताए । सिमित श्रोतमा गर्न सकिने जति काम गर्न कार्यालय तयार रहेको समेत बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य द्वारिका काफ्लेले जिल्लाको केहि भुभाग तराईसँग जोडिएको र विगतमा पानीमा आर्सेनिक पनि देखिने गरेको बताउँदै आर्सेनिक परिक्षण गर्न समेत आग्रह गरेका छन ।
कार्यक्रममा बोल्दै सिद्धेश्वर खानेपानी आयोजनाका अध्यक्ष घनश्याम देवकोटाले पानी नियमित परिक्षण गर्न किट र मेसिनको उपलब्धता आवश्यक रहेको बताएका छन ।