ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित पवित्र मुकुलुंग (पाथीभरा) क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएका ‘नो केबलकार समूह’ का शान्तिपूर्ण आन्दोलनकारीहरूमाथि सरकारले बलपूर्वक दमन गरेको छ। शनिबार साँझ भएको यस घटनामा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा चार जना गम्भीर घाइते भएका छन्। घटनामा घाइते हुनेमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा, र मंगल लावती रहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाइएको छ।
घटनाप्रति गहिरो आक्रोश व्यक्त गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रहरीद्वारा गरिएको बर्बर दमनको कडा निन्दा गरेको छ। पार्टीले विज्ञप्ति जारी गर्दै घाइते आन्दोलनकारीहरूको शीघ्र उपचार र न्यायको माग गरेको छ।
पार्टीका अनुसार मुकुलुंग (पाथीभरा) कुनै साधारण स्थान नभई सम्पूर्ण नेपालीहरूको आस्था, परम्परा, र विश्वासको प्रतीक हो। ‘यो स्थललाई कुनै नाफामुखी परियोजनाका लागि प्रयोग गर्न दिनु अस्वीकार्य छ। यसलाई प्राकृतिक स्वरूपमा संरक्षण गर्नु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।
राष्ट्रिय मुक्ति पार्टीले बलपूर्वक लागू गरिएका परियोजनाहरूले स्थानीय समुदायको आस्था र सांस्कृतिक मूल्यमा ठेस पुर्याएको बताएको छ। पार्टीले पवित्र मुकुलुंगलाई कुनैपनि हालतमा केवलकारजस्ता परियोजनाबाट जोगाउनुपर्ने अडान राख्दै सरकारलाई चेतावनी दिएको छ। पार्टीले भनेको छ, ‘आस्था र धरोहर जनताको जीवनभन्दा प्रिय हुन्छ। कुनैपनि अन्यायपूर्ण योजनाका विरुद्ध जनताको संघर्ष कहिल्यै झुक्ने छैन।’






