पोखरा । पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ एपिएफ क्लब फाइनल प्रवेश गरेका छन् ।
शुक्रबार पोखरा रंगशालामा त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटमा पराजित गर्दै पुलिस क्लब फाइलनमा प्रवेश गरेको हो । पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२२ ले जितेको पुलिसले पुनः चौथो सेट २३–२५ ले हार बेहोरेको थियो । तर, पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५–१२ जित निकाल्यो ।

यस्तै, महिलातर्फ आयोजक टिमलाई पराजित गर्दै एपिएफले फाइनलमा आफ्नो स्थान सुरक्षित पारेको छ । साविक विजेता एपिएफले आयोजक टोलीलाई ३–१ ले पराजित गरेको हो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पिएको थियो । तेस्रो सेट २५–१९ र चौथो २६–२४ ले जित निकाल्दै एपिएफले फाइलन यात्रा तय गरेको हो । टाइगर अफ द म्याच निरुता ठगुन्ना र स्पाइकर अफ द म्याच सरस्वती चौधरी बनिन् ।
शनिबार महिला र पुरुष दुवैतर्फ दोस्रो क्वालिफायरका खेल हुने छन् । पहिलो खेल महिलातर्फ आयोजक टाइगर ग्रुप र टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबबीच हुनेछ । टाइगर ग्रुप पहिलो क्वालिफायरमा एपिएफसँग पराजित हुँदै दोस्रो क्वालिफायर पुगेको हो । न्यू डायमण्डले एलिमिनेटरमा पुलिस क्लबलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।
शनिबारको दोस्रो खेलमा पुरुषतर्फ आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आर्मी पहिलो क्वालिफायरमा पुलिससँग पराजित भएको थियो । गण्डकीले एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गरेको थियो । दुवैतर्फ फाइनल खेल आइतबार हुनेछ ।






