काठमाडौं । के तपाईं उपत्यकाबाहिर घर भई लकडाउन अवधिमा काठमाडौं आउन खोज्नुभएको छ ? अथवा, लकडाउन छल्दै काठमाडौं आउनुभएको छ ? यदि, त्यस्तो हो भने विचार पु¥याउनुस्, तपाईंलाई घरबेटीले सहज रूपमा घर प्रवेश गर्न दिनेछैनन् ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरे पनि काठमाडौं उपत्यकामा मानिस धमाधम आउन थालेपछि घरबेटीले आपू र छिमेकीको स्वास्थ्यको ख्याल गर्दै यस्तो कदम चालेका हुन् । घरबेटीको यो कदमलाई प्रहरीले साथ दिएको पाइएको छ ।
घरबेटीहरूले सिधै घरमा पस्न नदिई अस्पताल जान सुझाव दिन थालेका छन् । अटेर गरेको खण्डमा प्रहरीको समेत सहयोग लिन थालिएको छ । ‘आरडीटी टेस्ट’ को रिपोर्टपछि मात्रै घरबेटीले भाडावाललाई घर प्रवेशको अनुमति दिन थालेका छन् ।
टेस्टपछि मात्र घर प्रवेश
टेकुमा दैनिक ५० जनासम्मको आरडीटी टेस्ट
धादिङका रामचन्द्र ढुंगाना लकडाउनकै अवधिमा काठमाडौं आएका थिए । सिनामंगलमा कोठाभाडामा बस्दै आएका उनलाई घरबेटीले घरमा प्रवेश गर्न दिएनन् । र, उनी मंगलबार प्रहरीको रोहवरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगे । आरडीटी टेस्टका क्रममा नेगेटिभ रिपोर्ट आएपछि मात्रै उनले कोठामा प्रवेश पाए ।
सप्तरीबाट काठमाडौं फर्किएका राहिर हुसेन पनि सिधै कोठामा जान पाएनन् । घरबेटीले प्रवेश नदिएपछि आरडीटी टेस्टका लागि उनी टेकु अस्पताल गए । अस्पतालको रिपोर्टपछि मात्रै उनलाई कोठामा प्रवेश दिइएको छ ।
अहिले मुख्यतः अन्यत्रबाट काठमाडौं फर्किएका र कोठाभाडामा बस्दै आएकाहरूको भीड टेकुमा देख्न सकिन्छ । लकडाउनको अवधिमा कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै कतिपय घरबेटी कोठा भाडामा बस्दै आएकाहरूसँग त्रसित हुन थालेका छन् । उनीहरूले लकडाउनको अवधिमा घरबाट फर्किए नजिकैको अस्पतालमा गएर कोरोना परीक्षण गरेर मात्रै कोठामा फर्किन आग्रह गर्ने गरेको पाइएको छ ।
दैनिक ५० जनासम्म आरडीटी टेस्टका लागि टेकु अस्पताल पुग्ने गरेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए । उनले भने, ‘अहिले काठमाडौंमा घरबेटीहरूले चेक गरेर आउनू भन्छन् । नत्र घरमा पस्न पाउनुहुन्न जानुस् भनेको पाइएको छ । यसैकारण, दैनिक ४० देखि ५० जनासम्मको आरडीटी टेस्ट हुने गरेको छ ।’
हालसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना परीक्षण गरिएको छ । आरडीटी प्रविधिमार्फत ४४ हजार १९ जनाको र आरटी–पीसीआर विधिमार्फत १० हजार ८ सय ७ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, २२ हजार ९९ जना क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाभित्र चार जना र बाहिर १ सय तीन जना आइसोलेसनमा उपचाररत छन् ।
आरडीटी टेस्ट गरेकाहरुको रिपोर्ट नेगेटिभ आएपछि घरबेटीले प्रवेश दिए पनि विज्ञहरुले आरटी–पीसीआर विधि नै कोरोना परीक्षणका लागि उपयुक्त हुने बताउँदै आएका छन् ।






