काठमाडौं । बिहीबारबाट काठमाडौँमा सुरु भएको ‘छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल – २०२५’ शनिवार बेलुका सम्पन्न भएको छ ।
तीन दिनसम्म काठमाडौँका क्युएफएक्स राईजिङ मल र चलचित्र विकास बोर्डमा जारी यो महोत्सव विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान गर्दै शनिवार राती सम्पन्न भएको हो । यो महोत्सवमा यस पटक ४७ देशका ९८ वटा चलचित्रहरू अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । यी सबै चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिएको थियो ।
सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अग्रज संगीतकार एवम् महोत्सवका राष्ट्रिय निर्णायक प्रमुख शम्भुजीत बासकोटालगायतले विकास बोर्डमा आयोजित समापन समारोहमा वितेजाहरुलाई अवार्ड प्रदान गरे ।
यो महोत्सवमा राष्ट्रिय तर्फ उत्कृष्ट चलचित्रको अवार्ड बुलाकीले पायो भने उत्कृष्ट छायाँकारको अवार्ड बुलाकीबाटै शिव ढकालले प्राप्त गरे । उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र पुजार सार्कीबाट दिनेश राउतले हासिल गरे भने यही चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड आर्यन सिग्देलले र अभिनेत्रीको अवार्ड पुजार सार्कीबाटै अन्जना बराईलीले प्राप्त गरिन् । इन्करेजमेन्ट अवार्ड चलचित्र बुलाकीबाट नरेन खड्काले प्राप्त गरे । यस्तै उत्कृष्ट स्कृप्टको अवार्ड चलचित्र पखेटाबाट सनोल दासलाई प्रदान गरियो ।

यस्तै उत्कृष्ट लघु चलचित्रको अवार्ड रित्तो गाउँबाट रामजी ज्ञवाली, महिला चलचित्रको अवार्ड पिरियडबाट रेवती गुरुङले, बाल चलचित्रको अवार्ड द स्कुल वालबाट मोहन श्रेष्ठले प्राप्त गरे । यसै गरी उत्कृष्ट वृत्तचित्रको अवार्ड नो मोनास्ट्री नो भिलेजबाट टासी ल्हाजोमले, कल्चरल चलचित्रको अवार्ड चिपागु निलाबाट योवन शाक्यले, जुरी मेनसन अवार्ड चलचित्र छेसाङबाट रजिला श्रेष्ठले, स्पेशल मेनसन अवार्ड लघु चलचित्र थ्रेसोल्डबाट सरिता शाहले र पपुलर अवार्ड चलचित्र लेट नाईटबाट ओविन उद्दिनले हासिल गरे ।
यी विधाहरुमा नेपालबाट निर्णायकको रूपमा अग्रज संगीतकार शम्भुजीत बासकोटा, अभिनेता प्रदीप खड्का, अभिनेत्री मिथिला शर्मा, सुरक्षा पन्त, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, निर्देशक दिनेश लिङदेन, निर्माता रौनक विक्रम कँडेल र टेलिभिजनकर्मी टिकाराम यात्री थिए ।
यसै गरी महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ४६ देशका चलचित्र थिए । जसमा उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड भारतबाट पुभुले हासिल ग¥यो भने पुभुबाटै अन्तर्राष्ट्रिय अभिनेताको अवार्ड मन्जुलन केभीले जिते । उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड अमेरिकाको चलचित्र ला फोर्सबाट जी ओभानी एम जेल्कोले प्राप्त गरे भने उत्कृष्ट अभिनेत्रीको अवार्ड जर्मनीको चलचित्र इम्पियोरबाट अभिनेत्री युनिस कचीरुवाले हासिल गरिन् ।
महोत्सवमा अन्तर्राष्ट्रिय लघु चलचित्रको अवार्ड बंगलादेशको लघु चलचित्र सौदाबाट फकिर जिप्लवले, महिला चलचित्रको अवार्ड रसियाको चलचित्र द रि युनियनबाट लोलिता नारान ओभिचले, बाल चलचित्रको अवार्ड भियतनामको चलचित्र लस्ट फर फ्रिडमबाट जाकुभ जाजाकले प्राप्त गरे ।

अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड क्यानडाको बृत्तचित्र नुरागा भूमिबाट डानियल खान डा लिल्भाले, वातावरण चलचित्रको अवार्ड स्पेनको चलचित्र द सोल अफ ज्यास्मिनबाट मरिना गार्सिया एन्ड्युले, अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्रको अवार्ड अमेरिकाको अमेरिकन फुल ब्रोडबाट क्रिस्टिना होडेलले प्राप्त गरे । एनिमेसन चलचित्रको अवार्ड साउथ अफ्रिकाको चलचित्र फ्लावर अफ दि पार्टिसनबाट चार्लेस बाडेनहोस्टलाई प्रदान गरियो भने अन्तर्राष्ट्रिय छायांकारको अवार्ड स्पेनको चलचित्र स्पिक सन लाइटबाट जसी लुईस अल्कानीले, चलचित्र स्कृप्टको अवार्ड इटालीको चलचित्र आउट डियरबाट ऐस्यान्डो लियोनीलाई, जुरी मेन्सन अवार्ड अर्जेन्टिनाको चलचित्र द टेम्पल अफ इन्टरनल साउन्डबाट जर्ज क्याराभोटालाई प्रदान गरियो । यसै गरी स्पेशन मेन्सन अवार्ड बेलायतको चलचित्र लकडाउन गार्डेन डायरीबाट एड्रिना उलिकले पपुलर चलचित्र अवार्ड जर्मनीको चलचित्र सिड वीथ मीबाट अकिफा मियानले, इन्करेजमेन्ट अवार्ड नेपालको चलचित्र जाईन पपेट्स फर डिज्निफाईड मेन्सुरेसनबाट ओडिटी लारामीले हासिल गरे ।
महोत्सवमा अन्तर्राष्ट्रिय तर्फ आठ जना विदेशी निर्णायकहरू छन् । जसमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मीद्धय फाविन मात्थियस र इभिन बिराजी, बेलायतबाट चलचित्र निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री टिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी रहेका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले यस्तो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूलाई अझ बढी प्रोत्साहन गर्ने योजना सरकारको रहेको छ भने । यस्तो चलचित्र महोत्सवले विश्व सामु आफू र अर्काको चलचित्र संस्कृति आदान प्रदान हुने गरेको बताउँदै उनले यस्ता महोत्सवमा आगामी दिनमा नेपाल सरकारले सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संसारबाट आएका तीन दर्जन चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डमा सम्मान गर्न पाउँदा खुसी लागेको बताए । यस्ता महोत्सवले नेपालीहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरको चलचित्र निर्माण गर्न प्रेरणा बढ्ने उनले बताए । समारोहमा अग्रज अभिनेत्रीहरू वसुन्धरा भुसाल, भुवन चन्द, चैते देवी सिंहले पनि शुभकामना दिए ।
महोत्सवका अध्यक्ष एवम् निर्देशक सन्तोष सुवेदीले कार्यक्रममा सबैलाई धन्यवाद ज्ञापन गर्दै यो महोत्सवलाई आगामी दिन अझ भव्य बनाउने योजना सुनाए । आफूहरूले बृहत् रूपमा महोत्सव आयोजना गर्दै आए पनि सरकारबाट महोत्सवमा सोचेको जस्तो सहयोग नभएको पनि उनले गुनासो गरे । यो महोत्सव नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजना र चलचित्र विकास बोर्डले सह आयोजना गरेको थियो ।






