काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको अयोजनामा काठमाडौँमा ६ दिने नेपाल भारत रंग महोत्सव बुधवार बेलुकाबाट सुरु भएको छ । यो महोत्सवमा नेपालका ३ वटा नाटक र भारतका ३ वटा नाटक गरी ६ वटा नाटक मञ्चन गरिँदै छ । काठमाडौँको जमल स्थित राष्ट्रिय नाचघरमा यो महोत्सव ३० माघसम्म जारी रहने छ ।
महोत्सवमा हरेक दिन बेलुका पाँच बजेबाट एउटा नाटक मञ्चन गरिँदै आएको छ । महोत्सवमा यी सबै नाटकलाई दर्शकहरूले निःशुल्क हेर्न पाउने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रज्ञा प्रतिष्ठानकी सदस्यसचिव कुस्मा महराले उद्घघाटन समारोहमा जानकारी गराइन् ।
भारत रंग महोत्सवको २६ औँ संस्करणको अवसरमा यस वर्षबाट नेपाल र श्रीलंकामा पनि महोत्सवलाई विस्तार गरिएको महोत्सव आयोजक समारोहमा जानकारी गराइयो । राष्ट्रिय नाट्य विद्यालय नयाँ दिल्ली भारतको सहकार्यमा यो महोत्सव आयोजना गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले महोत्सवलाई बुधवार बेलुका राष्ट्रिय नाचघर जमलमा उद्घघाटन गरे । मन्त्री पाण्डेले महोत्सवलाई शुभकामना दिँदै नेपाल र भारतबिच राजनीतिक र कूटनीतिक भन्दा उपल्लो तहमा सांस्कृतिक सम्बन्ध रहेको बताए । उनले यस प्रकारका महोत्सवले दुई देशको कूटनीतिक सबन्धलाई झन् घनिभूत बनाउने विश्वास व्यक्त गरे । मन्त्री पाण्डेले जलवायु परिवर्तनले मानव सभ्यता र पृथ्वीमा असर पारेको बेला अब रंगमञ्च र कलाकर्मीले जल बायु परिवर्तन रोक्न सचेतना फैलाउने नाटक गर्नु पर्ने सुझाव दिए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले हजारौँ वर्षदेखि नेपाल भारतबिच कायम रहेको सांस्कृतिक सम्बन्धलाई महोत्सवले झनै जीवन्त तुल्याएको विचार उद्घाटन समारोहमा व्यक्त गरिन् । सभ्यता, भाषा, धर्म, परम्परा तथा कला संस्कृतिमा दुई देशबिच सक्दो मात्रामा समानता रहेको चर्चा गर्दै यस महोत्सवले दुवै देशका दर्शक तथा कलाकारहरूलाई नाट्यकला, अभिनय शैली, कथानक संरचना तथा रंगमञ्च प्रविधिको नयाँ दृष्टिकोण सिक्ने अवसर प्रदान गर्ने विश्वास शर्माले कार्यक्रममा व्यक्त गरिन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यक्रममा भने,‘पहिलो पटक आयोजना भएको नेपाल भारत रंग महोत्सवले दुई देशको सम्बन्धलाई गहिरो र प्रगाढ बनाएको महसुस भएको छ । हरेक वर्ष यो महोत्सवलाई निरन्तरता दिनु पर्छ भन्ने मेरो सुझाव छ ।’
त्यसै गरी राष्ट्रिय नाट्य विद्यालय नयाँ दिल्ली भारतका सेक्रेटरी प्रदीप कुमार महन्थीले सन् १९९९ देखि भारत व्यापी रूपमा आयोजना हुँदै आएको भारत रंग महोत्सवको २६ औँ संस्करणको अवसरमा यस वर्षदेखि नेपाल र श्रीलंकामा समेत महोत्सवलाई विस्तार गरेर अन्तर्राष्ट्रियकरण गरिएको बताए ।
कार्यक्रममा भारतीय पर्यटन मन्त्रालयका निमित्त सचिव रंजना चोपराले यस्ता महोत्सवबाट दुई देश बिचका संस्कृति, बुझाइ, कला र मनोविज्ञानको परस्पर आदानप्रदान हुने भनाई सो कार्यक्रममा राखे । रंगमञ्च सशक्त हुँदा समाज पनि सशक्त हुने विचार राख्दै महन्थीले यस महोत्सवमा भारतमा मात्र अढाइ हजारभन्दा बढी रंगकर्मीहरु सम्मिलन हुँदै आएको पनि उनले दाबी गरे ।
उद्घाटन समारोहमा आमन्त्रित अतिथिहरूलाई स्वागत गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले भारतको प्रतिष्ठित राष्ट्रिय नाट्य विद्यालयसँग सहकार्य गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । उनले महोत्सवलाई केवल प्रस्तुतीकरणको मञ्च मात्र नभएर दुई देशबिचको सांस्कृतिक भावनाको उत्सवको रूपमा सम्पन्न गर्नुपर्ने सुझाब पनि दिए ।
यो महोत्सवमा पहिलो दिन बुधवार बेलुका सिके लालको लेखन रहेको नाटक ‘गच्छामी’मञ्चन गरियो । यो नाटकलाई सुनिल पोखरेलको निर्देशन गरेका हुन् । बुद्ध दर्शन तथा अध्यात्ममा यो नाटक आधारित थियो । यो महोत्सवमा बिहीबार बेलुका नयनराज पाण्डेद्वारा लिखित नाटक ‘कथा कस्तुरी’ मञ्चन गरियो । यो नाटकलाई दिया मास्केले निर्देशन गरेकी थिइन् । नाटकले मानिसहरूले आफ्नो आस्तित्वलाई आफैँ चिन्न र बुझ्न नसक्दा भोग्नु परेको समस्याको कथा प्रस्तुत गरिएको थियो । महोत्सवमा तेस्रो नेपाली नाटक ‘जुन परिकथा मात्र होइन’लाई २७माघ साँझ मञ्चन गरिने भएको छ । यो नाटकलाई संयोग गुरागाईँले लेखेका हुन् । नाटकमा नम्रता केसीको निर्देशन रहेको छ।
भारतबाट चयन भएका तीन नाटक मध्य नाटक ‘माई री मैं का से कहूँ’ को मञ्चन २८ माघमा गरिने भएको छ । विजयदन देथाले लेखेको यो नाटकलाई अजय कुमारले निर्देशन गर्दै छन् । यस्तै मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको अर्को भारतीय नाटक ‘बाबुजी’ को मञ्चन २८ माघमा हुने आयोजक पक्षले जनाएको छ ।
महोत्सवको अन्तिम दिन ३० माघमा अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहलका टेन्डर’ मञ्चन गरिने छ । प्रज्ञा प्रतिष्ठानका अनुसार भारतीय संस्कृति मन्त्रालय, संगीत नाट्य अकादेमी र राष्ट्रिय नाट्य विद्यालय, नयाँ दिल्लीका जिम्मेवार पदाधिकारी र प्रतिष्ठित कलाकारहरू महोत्सवमा सहभागी हुन आइतबार काठमाडौँ आउने छन् ।