काठमाडौं । शुक्रवार २५ माघबाट तीन वटा नेपाली चलचित्र एकसाथ रिलिज हुँदैछ । तीन मध्य दुई वटा चलचित्र जुनाः एक व्यथा र सारंग सामाजिक कथामा आधारित छन् भने चलचित्र ममी हरर तथा थ्रिरल जनरामा निर्माण भएको छ ।
चलचित्र जुनाःएक व्यथालाई दीपकप्रसाद घिमिरेले निर्माण तथा जीवन सेन्चुरीले निर्देशन गरेका हुन् । यो चलचित्र बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको निर्माता घिमिरेले बताए । यो चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।
यो चलचित्र ग्रामीण क्षेत्रमा च्यारिटी शोपछि शहरका चलचित्र घरमा रिलिज गरिएको हो । यसमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेन्चुरीको संगीत र रामेश्वर हुमागाईँको डिओपी छ । चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेको हो ।

यस्तै शुक्रवारबाटै चलचित्र घरमा प्रदर्शनरत अर्को चलचित्र ‘सारंग’ बाल मनोविज्ञानमा आधारित छ । यो चलचित्रको काठमाडौँमा गरिएको प्रिमियर शोमा चलचित्रकर्मीले यसलाई खुलेर प्रशंसा गरे । प्रशान्त तामाङको निर्देशनमा तयार भएको चलचित्रलाई अभिनेत्री ऋचा शर्माले निर्माण गरेकी हुन् । यो चलचित्र मुलुकका पाँच दर्जन चलचित्र हलमा रिलिज भएको यसको निर्माण पक्षले जनाएको छ ।
सारंगमा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमनसागर जंग केसी, प्रभात श्रेष्ठ अनि बाल कलाकार द्वय आदित्य कार्की र सम्राट् थापाले अभिनय गरेका छन् । बढ्दो दाम्पत्य सम्बन्ध विच्छेदका कारण छोराछोरीमा पर्ने असरलाई यो चलचित्रमा देखाइएको छ । यसका निर्देशक, लेखक तथा निर्माता प्रशान्त तामाङले आफू सामाजिक तथा पारिवारिक सदभावको पक्षमा रहेकाले परिवार, आफन्त, मित्र तथा समाज मिलनको विषयमा यो चलचित्र निर्माण गरेको प्रिमियरका क्रममा बताए ।
चलचित्र सारंगमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी, गोपाल रायको छायांकन र मित्र डि गुरुङको सम्पादन छ ।
शुक्रवारबाटै प्रदर्शनमा आएको अर्को चलचित्र ‘ममी’को पनि बुधबार काठमाडौँमा रेडकार्पेट प्रिमियर गरिएको थियो । यो थ्रिरल जनराको चलचित्र हेर्दा धेरैले डर लागेको प्रतिक्रिया दिए । सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । यो चलचित्रको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
चलचित्र ममीको छायांकारमा निशाल पौडेल र शरद महतो, सम्पादकमा सुरेन महर्जन, पाश्र्व ध्वनिमा रोहित शाक्य, साउन्ड डिजाइनमा श्रवल आरपि, द्वन्द्व निर्देशकमा एनवी महर्जन, संगीतकारमा एसडी योगी रहेका छन् । ममीलाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दै छन् ।






