काठमाडौं । मुुलुकका विभिन्न क्षेत्रमा कार्यरत प्रतिष्ठित तथा प्रबुद्ध नागरिकले प्रधानमन्त्रीको राजीनामा माग्नु मुलुकलाई अस्थिरतातर्फ लैजाने खेल भएको बताएका छन् । उनीहरूले हिजो बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई अस्थिर बनाउने सबैखाले खेल बन्द गर्न आग्रह गरेका छन् ।
देशमा कोरोना महामारीको जोखिमविरुद्ध एकजुट भएर लड्नुपर्नेमा उल्टै देशलाई अस्थिर बनाउने कार्य गरेको भन्दै विज्ञप्ति जारी गर्नेहरूमा चिकित्सक डा. अर्जुन कार्की, संविधानविद् विपिन अधिकारी, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, मानवअधिकारकर्मीहरू सुशील प्याकुरेल, डा. रेणु अधिकारी, रेम विश्वकर्मा, जयप्रकाश गुप्ता, पूर्वसचिव रामेश्वर खनाल, पूर्वाधार विज्ञ सूर्यराज आचार्य र टीका ढकाल छन् ।
नेपालको वर्तमान संविधानले कायम गरेको संसदीय संरचना स्थिर सरकार प्राप्त गर्ने उद्देश्यबाट प्रेरित भएको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘देशमा बहुमतको एकमना सरकार छ । लोकसम्मतिका आधारमा चल्नु यसको कर्तव्य हो । सरकारले संसदीय जवाफदेही रोज्नुको साटो अन्य विकल्प प्रयोग गर्नु हुँदैन । लोकतान्त्रिक अभ्यास तथा विधि र प्रक्रिया सुनिश्चित गर्नेतर्फ राष्ट्रलाई तत्काल आश्वस्त गराउन प्रधानमन्त्रीसमक्ष गम्भीर ध्यानाकर्षण गर्दछौं ।’
उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने कार्य वर्तमान संकटको अवस्थामा अप्रासंगिक रहेको टिप्पणी गरेका छन् । खारेज भइसकेको अध्यादेशलाई विवादको मुद्दा बनाएर प्रधानमन्त्रीको राजीनामा माग्न नहुने उनीहरूको सुझाव छ । विज्ञप्तिमा भनिएको छ, संविधानको भावना र व्यवस्थालाई लत्याउने गरी सत्तारूढ दलभित्र सरकार फेर्ने चलखेल हुनु र त्यसका लागि दलभित्र र बाहिरका वरिष्ठ नेताहरू उन्मादित हुनु खेदजनक छ । मुलुक महामारीमा जुधिरहेको अवस्थामा पूर्वप्रधानमन्त्रीहरू समेतको अग्रसरतामा अस्थिरताको पुनरागमन हुने संकेत देखिँदा लोकतन्त्रप्रतिको जनताको विश्वासमा खेलबाड भएको छ ।’