काठमाडौं । स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइन (आईआईएफटी)का विद्यार्थीहरूको ‘चौथो स्पेस एन्ड डिजाइन एक्स्पो २०२५’ सम्पन्न भएको छ । उनीहरूबिच भएको यो प्रतिस्पर्धात्मक कार्यक्रममा विजेता नली शाक्य र प्रमिषा लामिछाने विजेता बनेका छन् । प्रतियोगितामा क्याफेको डिजाइन तर्फ प्रमिषा र थेसिस प्रतिस्पर्धा तर्फ नली विजेता बनेका हुन् ।
एक्स्पोमा थेसिसतर्फ सानुमाया बानिया दोस्रो र दुर्गादेवी पौडेल तेस्रो घोषित भए । यस्तै क्याफेको डिजाइन प्रतिस्पर्धा तर्फ जिनिषा महर्जन दोस्रो, रोशन लामिछाने तेस्रो भए ।
आईआईएफटी स्कूलअफ फेसन एन्ड इन्टेरियर डिजाइनका विद्यार्थीहरूले शनिवारबाट जाउलाखेल प्रांगनमा थेसिस र इन्टेरियर डिजाइनका अवधारणा सहितको इन्टेरियर डिजाईन प्रदर्शनी गरेका थिए । चौथो ‘स्पेस एन्ड डिजाइन एक्सपो’मा आईआईएफटीका ४६ जना विद्यार्थीले इन्टेरियर डिजाइनहरू प्रदर्शन गरे । जसमा मानिसको जीवनशैलीमा प्रत्यक्ष प्रभाव पार्नुका साथै जनचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।
ललितपुरको जाउला खेल मैदानमा आयोजना गरिएको प्रदर्शनीको समापन समारोहमा उनीहरूलाई पुरस्कार प्रदान गरियो ।
इन्टेरियर डिजाइनर्स एसोसियसन नेपाल ( आइडिया नेपाल ) का पूर्व अध्यक्ष सानु राजा शिल्पकार, बिन्द्रा कक्षपति प्रधान तथा उपाध्यक्ष उषा रायमाझीलगायतले विजेताहरूलाई पुरस्कार वितरण गरे ।
कार्यक्रममा दर्शकहरूको सबैभन्दा बढी मतबाट थेसिस श्रेणीतर्फ निभाश श्रेष्ठ र क्याफे डिजाइनतर्फ प्राची ठाकुर पब्लिक च्वाइस अवार्ड जित्न सफल भए । ‘स्पेस एन्ड डिजाइन एक्स्पो २०२५’को निर्णायकमा क्याफेतर्फ मुकेश महर्जन, रीजु महर्जन तथा थेसिसतर्फ रञ्जन प्रजापति र जरिना बज्राचार्य थिए ।
विद्यार्थीहरूका लागि मात्र नभई इन्टेरियर डिजाइन क्षेत्रमा संलग्न सम्पूर्ण नवप्रतिभालाई व्यावसायिक जगतसँग जोड्दै सर्वसाधारणलाई समेत यस विषयमा जानकारी दिन स्पेस एन्ड डिजाइन एक्सपोको प्रदर्शन सार्वजनिक स्थलमा आयोजना गरिएको आईआईएफटीका म्यानेजिङ डाइरेक्टर फुपू तेन्जिङ शेर्पाले राजधानीलाई बताए । उनले यस्ता क्रियाकलापबाट विद्यार्थीहरूको सिर्जनालाई व्यावसायिकतर्फ अघि बढाउने उद्देश्य रहेको छ ।
प्रदर्शनीमा थेसिस श्रेणी र क्याफे डिजाइन श्रेणी गरी दुई श्रेणीमा विभाजन गरी जम्मा ४६ ओटा डिजाइनहरू प्रदर्शन गरियो ।






