कालिकोट । खाडाचक्र नगरपालिकामा विगत ४ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । फागुन महिना सुरु हुन लाग्दा पनि प्रशासकीय अधिकृत नहुँदा नगर क्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् ।
प्रशासकीय अधिकृत नभएकै कारण नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका आयोजनासमेत प्रभावित भएका छन् । नगरपालिकाभित्रैका सातौं तहका कर्मचारी प्रबलजंग शाहीलाई मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ६ महिना कामकाज गरे पनि जनप्रतिनिधिको आफूअनुकूलको अधिकृत नहुँदा शाहीलाई जिम्मेवारीबाट हटाइएको थियो ।
नगरपालिकाको उपसचिव तहको दरबन्दी भए पनि अहिलेसम्म सातौं तहले नै काम गरेका थिए । जनप्रतिनिधि अनुकूलको अधिकृत नहुँदा हटाउन र राख्ने कामबाहेक अरू केही हुन सकेको छैन । स्थानीय तहले स्तरवृद्धि गरेका अविराज शाहीलाई कार्यपालिकाले प्रमुखका लागि निर्णय गरे पनि मन्त्रालयले कार्यपालिकाको निर्णयविरुद्ध चिठी पठाएपछि अहिले ४ महिनादेखि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा भत्ता, सुत्केरी भत्ता, कर्मचारीको तलब, सम्पन्न योजनाको रकम भुक्तानी हुन सकेको छैन । भुक्तानी नभएका कारण श्रमिकहरू पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । विकासका गतिविधिहरू ठप्प भएका छन् ।
नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने भन्ने टुंगो नभएको नगरप्रमुख कमलबहादुर शाहीले बताए । ४ महिनासम्म पनि प्रमुख प्रशासकीय अधिकृत ल्याउन नसक्नु जनप्रतिनिधि असफल भएको स्थानीयको आरोप छ ।
‘विकासको त कुरा परै छ, एक जना प्रमुख प्रशासकीय अधिकृत टिकाउन नसक्ने जनप्रतिनिधिले नैतिकताका आधारमा राजीनामा दिएर बस्दा हुन्छ,’ नागरिक समाजका अगुवा हिक्मतजंग मल्लले भने ।
उनका अनुसार नगरपालिकामा जनप्रतिनिधिको विवादका कारण प्रमुख प्रशासकीय अधिकृत टिक्न नसकेको र योजनाहरूको भुक्तानी नहुँदा कामदारले समेत रकम पाउन सकेका छैनन् ।
प्रमुख प्रशासकीय अधिकृत नहु्ँदा कर्मचारीको तलबदेखि अन्य उपभोक्ता समितिका सम्झौतादेखि पेस्कीलगायतका सामाजिक सुरक्षा भत्ता रोकिएका छन् । नगरपालिकामा जनप्रतिनिधिहरू आफैंमा विवादमा पर्ने र प्रमुख प्रशासकीय अधिकृत चेपुवामा पर्ने हुँदा नगरपालिकाका विकास निर्माणमा समस्या हुँदै आएको मल्लको भनाइ छ ।






