बिराटनगर । सुनसरीको इटहरीमा खेल सप्ताह २०८१ हुने भएको छ। स्वस्थ जीवनका लागि खेल,असल चरित्रका लागि खेल हजारौँ विद्यार्थी माझमा सद्भाव र मित्रताका लागि खेल भन्ने मूल नाराका साथ राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) सुनसरीको आयोजनामा इटहरी उपमहानगरपालिकाभित्रका विद्यालय तथा विद्यार्थीको हकहितका लागि एनप्याब्सन नगर कमिटी इटहरीले फागुन ५, ६ र ७ गते हुने खेल सप्ताह हुने ’bout पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
खेल सप्ताहमा २१ विद्यालयका ६ हजार भन्दा माथि विद्यार्थीहरु बीच फुटवल, फुटशल, भलिवल, एथलेटिक्स लगायतका विभिन्न अठ्ठाइस विधाका खेल हुने खेल संयोजक मिलन राईले जानकारी दिए। खेल जनता क्याम्पस इटहरीको खेल प्राङगणमा हुनेछ। खेल सहभागितामूलक हुनेछ ।
पूर्व प्राथमिक तहमा समेत आठ खेल समावेस गरी अति न्युन विद्यार्थी सङ्ख्या भएका तथा साना विद्यालयहरुको उल्लेख्य सहभागिता जनाउने एन प्याब्सन अध्यक्ष पुष्प अधिकारीले बताए। प्राथमिक तथा माध्यमिक तहमा छात्र तथा छात्रहरुको समेत सहभागिता रहने एन प्याब्सन सुनसरी सचिव नीरज कोइरालाले बताए।
खेल ५ गते बिहान १० : ३० बजे उद्घाटन हुनेछ भने अन्य दिन बिहानैबाट शुरु हुने आयोजकले जनाएको छ। खेलमा विजेता तथा उपविजेताहरुलाई ट्रफी,मेडल र प्रमाणपत्र दिईने खेल संयोजक राईले बताए।






