काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा सात महिनामा करिब २ खर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु विदेशबाट आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार सात महिनाको अवधिमा ६६ अर्ब २० करोड रुपैयाँबराबरको जनावर र वनस्पतिजन्य बोसो तथा तेल आयात भएको छ ।
३६ अर्ब ३५ करोड रुपैयाँबराबरको खाद्यान्न आयात
भन्सार विभागका अनुसार ३६ अर्ब ३५ करोड रुपैयाँबराबरको खाद्यान्न आयात भएको छ । २५ अर्बको तरकारी, ५ अर्ब ४८ करोड रुपैयाँको आलु, २ अर्ब १३ करोडको प्याज, ६ अर्ब ८१ करोडको लसुन, ३ अर्ब ९७ करोडको दाल, १२ अर्ब ३२ करोडको फलफूल, १६ अर्ब ४२ करोडको कृषिजन्य औद्योगिक कच्चा पदार्थ, ५ अर्ब ४९ करोडको चिया, कफी, दुई अर्ब ६१ करोडको चिनी तथा चिनीजन्य कन्फेक्सनरी आयात भएको विभागले जनाएको छ ।
स्वदेशमा उत्पादन हुने वस्तुसमेत विदेशबाट आयात भइरहेको छ । सात महिनामा करिब २ खर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु विदेशबाट आयात भएको भन्सार विभागको तथ्यांक रहेको छ ।
चालू आवको ७ महिनामा २९ अर्ब ४५ करोड रुपैयाँबराबरको डिजेल आयात भएको छ । यसैगरी, २४ अर्ब ५८ करोड रुपैयाँबराबरको पेट्रोल आयात भएको छ भने ६ अर्ब ६१ करोड रुपैयाँबराबरको एलपी ग्यास आयात भएको छ । त्यस्तै, ५ अर्ब ५० करोड रुपैयाँबराबरका विद्युतीय सवारीसाधन र ५ अर्ब ४३ करोड रुपैयाँबराबरका अन्य सवारीसाधन आयात भएका छन् ।
चालू आव २०८१–८२ को सात महिनामा ५ अर्ब रुपैयाँबराबरका ल्यापटप आयात भएको छ । चालू आवको माघसम्म ५ अर्ब १८ करोड ७८ लाख रुपैयाँबराबरका ल्यापटप र नोटबुक आयात भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार ७५ हजार ७ सय ३९ वटा ल्यापटप र नोटबुक आयात हुँदा सरकारले ९८ करोड ५१ लाख रुपैयाँ बढी राजस्व उठाएको छ । गत आव २०८०–८१ को सोही अवधिमा ४ अर्ब ४२ करोड रुपैयाँका ल्यापटप र नोटबुक आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्ष ६८ हजार ५ सय ३९ वटा ल्यापटप आयात हुँदा ६० करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
गत वर्षको तुलनामा आयात ७६ करोड ५४ लाख २४ हजार रुपैयाँले बढेको छ । साथै, गत वर्षको तुलनामा ७ हजार २ सयवटा भन्दा बढी ल्यापटप र नोटबुक आयात भएको छ । गत वर्षको तुलनामा आयात १७ दशमलव ३० प्रतिशतले बढेको हो ।
नेपालमा विशेषगरी ३६ वटा देशबाट ल्यापटप र नोटबुक आयात हुने गरेको विभागको तथ्यांकमा उल्लेख छ । यस वर्ष सबैभन्दा धेरै चीन, मलेसिया, भारत र सिंगापुरजस्ता देशबाट आयात भएको छ ।
चीनबाट मात्रै ४ अर्ब ९५ करोड रुपैयाँको ल्यापटप आयात भएको छ । यसैगरी, मलेसियाबाट १० करोड र भारतबाट १ करोड ४५ लाख रुपैयाँको आयात भएको विभागले जनाएको छ ।
चालू आवको माघसम्म ३२ करोड ४२ लाख रुपैयाँको ट्याबलेट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । १३ हजार ९ सय ९३ वटा ट्याबलेट आयात हुँदा सरकारले ६ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।
गत वर्षको सोही अवधिमा २६ करोड ७७ लाख रुपैयाँबराबरको ट्याबलेट आयात भएको थियो । गत वर्षको तुलनामा आयात ५ करोड ६४ लाख ९३ हजार रुपैयाँले बढेको छ । विभागका अनुसार गत वर्षको तुलनामा आयात २१ दशमलव १० प्रतिशतले बढेको हो ।
यस वर्ष नेपालमा २० वटा देशबाट ट्याबलेट आयात भएको छ । सबैभन्दा धेरै चीन, भियतनाम, अमेरिका र भारतजस्ता मुलुकबाट आयात भएको छ ।
चीनबाट ३१ करोड ५० लाख रुपैयाँ बढीको आयात भएको छ । साथै, भियतनामबाट २९ लाख र अमेरिकाबाट २२ लाख रुपैयाँबराबरको ट्याबलेट आयात भएको विभागले जनाएको छ ।
चालू आव २०८१–८२ को सात महिना अवधिमा ११ करोड ४५ लाखवटा स्यानिटरी प्याड आयात भएको छ ।
भन्सार विभागका अनुसार सो परिमाणबराबर प्याड आयात गर्दा ८० करोड ८१ लाख रुपैयाँ बिदेसिएको छ । सरकारले यस अवधिमा स्यानिटरी प्याडबाट मात्र १५ करोड २२ लाख रुपैयाँबराबर राजस्व उठाएको छ ।
यस अवधिमा डाइपर आयातमा भने १ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ बिदेसिएको छ । सात महिनामा ९ करोड ५४ लाख ७२ हजार वटा डाइपर आयात भएको तथ्यांक छ ।
चालू आवको सात महिनामा नेपालले कुल ९ खर्ब ८८ अर्ब रुपैयाँबराबरको वस्तु आयात गरेको छ । जसमार्फत सरकारले २ खर्ब ६२ अर्ब ९५ करोड रुपैयाँबराबर राजस्व उठाएको छ ।
वीरगन्जबाट ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । भैरहवा भन्सार कार्यालयबाट १ खर्ब ४४ अर्ब ७४ करोड रुपैयाँबराबरको आयात भएको छ । त्यसैगरी, विराटनगर भन्सारबाट १ खर्ब १२ अर्ब १७ करोड रुपैयाँबराबरको आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
भन्सार विभागका अनुसार माघसम्म ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । गत आवको माघसम्म ८ अर्ब ९७ अर्ब ९४ करोड रुपैयाँबराबरका वस्तु आयात भएको थियो ।






