पेरिस । फ्रेन्च लिग वान आयोजक (एलएफपी)ले जारी सिजनको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई फ्रेन्च लिग वानको च्याम्पियन घोषणा गरेको छ । एलएफपीले अंक र खेलको आधारमा पीएसजीलाई च्याम्पियन घोषणा गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण सिजनको १० खेल बाँकी रहेको थियो । तर, फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले गत मंगलबार आउँदो सेप्टेम्बरसम्म खेलकुदका कुनै गतिविधि नगर्न निर्देशन दिएपछि एलएफपीले बाँकी सिजन रद्द गरेको थियो । लिग वानमा १० चरणको खेल बाँकी रहँदा पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई १२ अंकले पछि पारेको थियो ।
पीएसजीको २७ खेलबाट ६८ अंक रहेको छ । दोस्रो स्थानको मार्सेलीको २८ खेलबाट ५६ अंक छ । यससँगै, पीएसजी पछिल्लो ८ सिजनमा साँतांैपटक फ्रेन्च लिग वान च्याम्पियन बन्न सफल भएको छ । पीएसजी लगातार तेस्रो सिजन लिग वान च्याम्पियन बन्न सफल भएको हो । गत मार्च ७ र ८ मा लिग वानको २७औं र २८औं चरणको खेल खेलाइएको थियो । त्यो अवस्थासम्म पीएसजीले १२ अंकको स्पष्ट अग्रता लिएको थियो ।
फ्रेन्च लिग (एलएफपी)का प्रमुख कार्यकारी डिडिएर क्विलटले पीएसजीलाई उपाधि सुम्पिने विषयमा अपिल हुन सक्ने बताए पनि यो निर्णय सही भएको बताएका छन् । पीएसजी, मार्सेली र रेनिस अर्काे सिजनको लागि च्याम्पियन्स लिगलाई छनोट भइसकेको छ । रेनिसले च्याम्पियन्स लिगको छनोट चरणको खेल खेल्नेछ । लिल, रेइम्स र नाइसमध्ये एकले युरोपा लिगलाई छनोट हुन सक्नेछ ।
क्विलटले युरोपियन फुटबलको सर्वाेच्च निकाय (युईएफए)लाई २५ मेसम्ममा च्याम्पियन्स लिग र युरोपा लिग खेल्न योग्य टोलीको छिनोफानो गर्ने बताएका छन् । युईएफएले २५ मेसम्ममा सम्पूर्ण घरेलु लिगको हुने नहुने अवस्था’bout जानकारी गराउन समयसीमा दिएको थियो । यस्तै, एफसी लोरेन्ट फ्रेन्च लिग टु च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा हुँदा आरसी लेन्स पनि लिग वानमा बढुवा भएको छ ।
एलएफपीको यो निर्णयले भने एइमेन्स र टोलुसो भने मारमा परेको छ । दुवै टोली १० खेल बाँकी छँदै दोस्रो डिभिजनमा घटुवा हुने भएको छ । रेलिगेसन जोनमै रहेको निम्सको भने शीर्ष डिभिजनमै रहने सम्भावना रहेको छ । लिग टु मा प्ले अफ नरहेकाले निम्स शीर्ष डिभिजनमै रहन सक्नेछ ।






