काठमाडौं । केपी ओलीकप फुटबल प्रतियोगिताको उपाधि लगातार तेस्रोपटक मच्छिन्द्र फुटबल क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले हराउँदै मच्छिन्द्रले केपी ओलीकपमा उपाधि ह्याट्रिक गरेको हो ।
उपाधिसँगै मच्छिन्द्रले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले ५ लाख रुपैयाँमै चित्त बुझायो ।
खेलको २९औं मिनेटमा मच्छिन्द्रले एक गोलको अग्रता लियो । आर्मीका डिफेन्डर विमल पाण्डेको आत्मघाती गोलको मद्दतमा मच्छिन्द्रले अग्रता लिएको थियो । मच्छिन्द्रका सनिश श्रेष्ठको प्रहार आर्मीका पाण्डेले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा बलले जाली चुमेको थियो ।
खेलको ७४औं मिनेटमा मच्छिन्द्रले अर्को गोल थप्यो । उसका लागि स्टेपाहाने जामाहा जलीले गोल गरेका हुन् । जामाहा जलीले मलिक युसुफको क्रसपासमा गोल गरेका थिए ।
यसअघि खेलको २०औं मिनेटसम्म आर्मीले मच्छिन्द्रलाई दबाबमा राखेको थियो । खेलको पहिलो मिनेटमै आर्मीले गोलको सुन्दर अवसर खेर फाल्यो ।
१५औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठको हेड विशाल श्रेष्ठले सजिलै बचाए । खेलको ५२औं मिनेटमा आर्मीका जिलेस्पीजंग कार्कीको प्रहार मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठ विट भएको अवस्थामा डिफेन्डर देवेन्द्र तामाङले क्लियर गरिदिए । पुनः ५६औं मिनेटमा दुवै टिमले १–१ पटक गोल गर्ने अवसर गुमाए ।
खेलको ८३औं मिनेटमा मच्छिन्द्रका मलिक युसुफले वान भर्सेज वानमा गोल गर्न सकेनन् । उनको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले रोके ।
आर्मीले यस वर्ष खेलको चौथो प्रतियोगितामा पहिलो फाइनल खेलेको हो भने मच्छिन्द्र यस वर्ष चौथो फाइनल खेलेको हो ।
इटहरी गोल्डकप जितेको मच्छिन्द्रले पाँचथर गोल्डकप र गत साता बाग्मती गोल्डकपको फाइनल खेलेको थियो । आर्मीले लमजुङको त्रिवेणीकप, आहा गोल्डकप र बाग्मती गोल्डकपमा फाइनल खेलेको थियो ।
प्रतियोगितामा आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० ले र सेमिफाइनललाई संकटालाई २–१ ले हराएको थियो । यस्तै, मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड १–० ले र सेमिफाइनलमा आयोजक केपी ओली एफसी ४–० लाई हराएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख तथा विधागत उत्कृष्टलाई ५० हजार पुरस्कार छ । फाइनल खेलमा मुख्य अतिथि विश्व फुटबलकै लिजेन्ड एवं इटालियन फुटबल टोलीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोन रहेका थिए । ओलीसँगै बुफोन विजेता तथा उपविजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।
फाइनल खेललगत्तै पुरस्कार वितरणअघि कुमा सागर एन्ड ख्वपा ब्यान्ड तथा जोन एन्ड दाजुभाइको सांगीतिक प्रस्तुति रहेको थियो ।






