ओस्कारमा अनोरालाई पाँच विधामा अवार्ड

लस एन्जलस । अमेरिकाको लस एन्जलसमा गए राती सम्पन्न ९७ औँ संस्करणको एकेडेमी अवार्ड (ओस्कार) २०२५ मा यस पटक हलिउडको वाल्ट डिज्नीद्धारा निर्मित चलचित्र अनोराको वर्चस्व रह्यो । महिला यौन व्यवसायीको संघर्ष कथामा निर्मित यो चलचित्रले आश्चर्य जनक रूपमा ५ वटा अवार्ड आफ्नो पोल्टामा पारेको छ । ६ वटा विधामा मनोनयनमा परेको यो चलचित्रले सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेत्री, सम्पादन र मौलिक पटकथा गरी पाँच विधामा अवार्ड जितेको हो ।

यसरी सर्वोत्कृष्ट चलचित्रको अवार्ड अनोराले जित्यो भने यसै चलचित्रबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड शान बेकरले प्राप्त गरे । यसै गरी सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड शान बेकरले चलचित्र एनोराबाट जिते । यस्तै सर्वोत्कृष्ट सम्पादनको अवार्ड पनि चलचित्र अनोराबाट शान बेकरले नै हासिल गरे । यसरी बेकरले अवार्डमा ह्याट्रिक मार्न सफल भए ।

यो सफलता विश्वभरका यौनकर्मी महिलाहरूको लागि भएको निर्देशक बेकरले अवार्ड समारोहमा बताए । चलचित्र अनोराबाटै सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी अभिनेत्री माइकी म्याडिसनले समारोहमा आफ्नो अवार्ड ती यौन व्यवसायमा लाग्न विवश महिलाहरू प्रति समर्पणको घोषणा गरिन् ।

समारोहमा चलचित्र द ब्रुटालिस्टले ३ विधामा अवार्ड जित्यो । सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र द ब्रुटालिस्टबाट एड्रियन ब्रोडीले जिते भने सर्वोत्कृष्ट मौलिक स्कोर (संगीत)को अवार्ड ब्रिटिस संगीतकार डेनियल ब्लमबर्गले चलचित्र द ब्रुटालिस्टबाटै हासिल गरे । यस्तै उत्कृष्ट छायांकारको अवार्ड पनि चलचित्र द ब्रुटालिस्टकै पोल्टामा प¥यो ।

रोचक प्रसंग के भने फ्रान्सेली चलचित्र एमिलिया पेरेज यस पटक सर्वाधिक १३ विधामा मनोनयनमा परेको थियो । विदेशी मूलको चलचित्र भएकै कारण यसलाई त्यति धेरै मत प्राप्त भएन । जसका कारण यो चलचित्रले दुई वटा अवार्ड सर्वोत्कृष्ट सह अभिनेत्री र मौलिक गीत विधामा चित्त बुझाउनु प¥यो । जस अन्तर्गत सर्वोत्कृष्ट सह–अभिनेत्रीको अवार्ड जो साल्डानाले चलचित्र एमिलिया पेरेजबाट हासिल गरिन् । समारोहमा सर्वोत्कृष्ट मौलिक गीतको अवार्ड एल मालले चलचित्र एमिलिया पेरेजबाट प्राप्त गरे ।

चलचित्र ड्यूनः पार्ट २ र अर्को चलचित्र विक्डले दुई–दुई विधामा अवार्ड प्राप्त गरेका छन् । सर्वोत्कृष्ट ध्वनि र सर्वोत्कृष्ट भिजुएल इफेक्ट गरी दुबै अवार्ड चलचित्र ड्युनः भाग २ ले हासिल गरेको हो ।

सर्वोत्कृष्ट प्रोडक्सन डिजाईनको अवार्ड चलचित्र विक्डले जित्यो भने सो समारोहमा सर्बोत्कृष्ट कस्ट्युम डिजाइनको अवार्ड पनि चलचित्र विक्डबाट पल टेजवेलले हासिल गरे ।

९७ औँ ओस्कार अवार्ड समारोहमा सर्वोत्कृष्ट सह–अभिनेताको अवार्ड किरान कल्किनले चलचित्र अ रियल पेनबाट जित्दै गर्दा सर्वोत्कृष्ट एडप्टेड पटकथाको अवार्ड पिटर स्ट्राघनले चलचित्र कन्क्लेभबाट हासिल गरे । यस्तै सर्वोत्कृष्ट लघु चलचित्र लाइभ एक्सन तर्फको अवार्ड आइ एम नट अ रोबोटले जित्यो भने सर्वोत्कृष्ट मेकअप र हेयरस्टाइलको अवार्ड चलचित्र द सब्स्टेन्सले हासिल ग¥यो ।

यस पटक उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्रको अवार्ड ब्राजिलियन चलचित्र आइ एम स्टिल हियरले हासिल ग¥यो । यसै गरी यो ओस्कार अवार्डमा सर्वोत्कृष्ट एनिमेटेड लघु चलचित्रको अवार्ड इन द स्याडो अफ द साइप्रसले प्राप्त ग¥यो भने सर्वोत्कृष्ट छोटा वृत्तचित्रको अवार्ड द ओन्ली गर्ल इन द अर्केस्ट्राले पायो ।

समारोहमा सर्वोत्कृष्ट फिचर लेन्थको वृत्तचित्र अवार्ड नो अदर ल्याण्डले हासिल गरेको थियो । यो चलचित्र प्यालेन्सटाईनका सँयुक्त चलचित्रकर्मीहरुले त्यहाँको युद्धको पीडालाई समेटेका थिए । यसले यो वर्ष अरु धेरै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि विभिन्न अवार्ड चुमिसकेको छ ।

अघिल्लो महिनाको भीषण डढेलोपछि ठुलो क्षति भोगेको हलिउड नगरी लस एन्जलसमा लामो समयपछि आइतबार राती ओस्कार अवार्डको रौनकता छायो । धेरै चलचित्रकर्मीले यस पटकको डढेलोमा आफ्नो बासस्थान गुमाए पनि त्यो पीडा बिर्सेर आइतबार राती ओस्कारको रेड कार्पेट र चार घण्टा लामो अवार्ड समारोहमा उनीहरू सहभागी भए ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ