मकवानपुर । जीवनको सरल यात्रा त सहजै पार हुन्छ, कठिक परिस्थितीमा आइपर्ने समस्याको लागि समयमै पूर्वतयारी गर्नु आवश्यक छ । यस्तो पुर्वतयारी सहज बनाउनको लागि स्थानीय सरकारले सहजिकरण गरिदिएपछि मकवानजपुरको भिमफेदी गाउँपालिकाका श्रमिकहरु मख्ख छन् ।
औपचारिक क्षेत्रमा कार्यरतहरुको सुरक्षित भविष्यको लागि विभिन्न तयारी रहन्छ । आर्थिक रुपमा समेत थोरबहुत जोहो हुने भएपछि प्राय समस्याको तार लाग्छ पनि । तर अनौपचारिक सेवामा कार्यरत श्रमिक मजदुरहरुलाई दिनभर काम ग¥यो साँझ विहान छाक टा¥यो गर्नुपर्ने भएकोले उनीहरुको सुरक्षित भविष्यमा चुनौती छ ।
यस्तै अवस्थामा रहेका श्रमिक मजदुरहरुको लागि स्थानीय सरकारले अभिभावकत्व गरिदिएपछि श्रमिक मजदुरहरुको लागि खुसीकै पाटो भयो । मकवानपुरको भीमफेदी गाउँपालिकाले यस वर्ष अनौपचारिक क्षेत्रमा कार्यरत ९९ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । सिकर्मी, डकर्मी, कृषि मजदुर र सवारीसाधनमा काम गर्ने श्रमिकलाई गाउँपालिकाले कोषमा आबद्ध गराएपछि मजदुरहरुले आफ्नो भविष्यको उपचार सुविधा पाउने अवस्था बनेको भन्दै खुसी प्रकट गरे । गाउँपालिकाले गत वर्ष अनौपचारिक क्षेत्रका ९८ श्रमिकलाई कोषमा आबद्ध गराएको थियो ।

सामाजिक सुरक्षा योजनामा आबद्ध धेरै श्रमिक निर्माण क्षेत्रका छन् । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने भीमफेदी गाउँपालिका देशकै पहिलो रहेको सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपालले बताए ।
अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन नेपाल सरकारले औद्योगिक क्षेत्रका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत अर्थात १ हजार १९० रुपैयाँ र गाउँपालिकाको तर्फबाट ९ दशमलव ३७ प्रतिशत अर्थात् १ हजार १४ रुपैयाँ थप गरी जम्मा २० दशमलब ३७ प्रतिशत अर्थात् २ हजार २०४ रुपैयाँ मासिक गाउँपालिकाको कोषमा जम्मा गरिने व्यवस्था मिलाएको छ
भीमफेदीले यसअघि १३ माघ २०८० मा ९८ जना श्रमिकलाई कोषमा आबद्धता गराएको थियो । जसमा ८७ जनाले कोषमा निरन्तर रकम जम्मा गराउँदै आएका छन् । दुई वर्षमा १ सय ९७ जनालाई कोषमा समावेश गराइएको अध्यक्ष हिदम लामाले जानकारी गराए ।
गाउँपालिकाले आगामी वर्ष महिला स्वयंमसेविकालाई कोषमा आबद्धता गराउने योजनाअनुसार बजेटको व्यवस्था गरिने अध्यक्ष लामाले प्रतिबद्धता जनाएका छन् । उनले भीमफेदीले अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्धता गराएपछि काठमाडौं महानगरदेखि भरतपुर महानगरसम्मले चासो देखाएको बताए ।
अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपैयाँ (महंगी भत्ताबाहेक) मा पारिश्रमिकबाट ११ प्रतिशत अर्थात १ हजार १९० रुपैयाँ र भीमफेदी गाउँपालिकाले ९ दशमलव ३७ प्रतिशत अर्थात १ हजार १४ रुपैयाँ गरी २ हजार २०४ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा कोषमा श्रमिकलाई आबद्धता गराउन २५ लाख बजेट विनियोजन गरेको थियो । गत आव २०८०–८१ मा १३ लाख बजेटबाट कार्यक्रम कार्यान्वयन गरिएको गाउँपालिका उपाध्यक्ष सञ्जिव श्रेष्ठले बताए ।
सामाजिक सुरक्षा योजनामा आवद्ध भएपछि श्रमिकहरुले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाबाट सुविधा उपभोग गर्न सकिने कोषका निर्देशक नेपालले बताए ।
श्रमिकका दम्पति र कोषमा आवद्ध भएका परिवारका १८ वर्ष मुनिका बालबालिका जस्ता विभिन्न योजनाहरुमा सहभागी भई योजनामा उल्लेख सेवासुविधा हासिल गर्न सकिने उनले बताए । भिमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच ३० साउन २०८० मा सम्झौता भएको थियो । कोषले ११ मंसिर २०७७ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको थियो ।
चालु आवमा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यक्रमको शुभारम्भ गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले यो उदाहरणीय कार्य गरेको बताए । यसले उनीहरुको जीवन र परिवारमा सहजता आउने उनको भनाइ थियो । यो कार्य भीमफेदी गाउँपालिकाले मात्र होइन प्रदेशका १ सय १९ वटै पालिकाले अनुसरण गर्नुपर्ने मुख्यमन्त्री लामाले बताए ।
प्रतिनिधिसभाका सांसद महेश बर्तौलाले सरकारले संगठित वा असंगठित क्षेत्रका श्रमिकको जीवन र उनीहरुको परिवारलाई सबल बनाउन विभिन्न योजना ल्याएको दाबी गरे । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आफ्ना पालिकाका बासिन्दालाई सक्षम बनाउन चालिएका यस्ता कार्यले सबै क्षेत्रमा सकारात्मक सन्देश पुग्ने बताइन् ।
भीमफेदी गाउँपालिकाले गत आवदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई समावेश गर्दै आइरहेको छ । चालु आर्थिक वर्षका लागि योगदानमा आधारित श्रमिक कोष शीर्षकमा २५ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए ।






