राजविराज । होलीमा जबरजस्ती रंग हाल्ने, लोला हान्ने, मदिरा सेवन गरि सवारीसाधन चलाउने, मोटरसाइकलमा तीन जना सवार हुने लगायतका गतिविधी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारवाही गर्ने भएको छ ।
यसका अतिरिक्त खुल्ला रुपमा मद्यपान, ध्रुमपान जस्ता बिकृतीपूर्ण कार्य गर्नेलाई समेत पक्राउ गरि कानुनमा व्यवस्था भए बमोजिमको कारवाही गरिने प्रहरीले जनाएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा होलीको शुभकामना आदान प्रदान तथा पत्रकार सम्मेलनको आयोजना गरि प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले यस्तो जानकारी गराएका हुन् ।
“मनोरन्जन गर्न पाइन्छ, तर त्यसका नाममा विकृती गर्नेलाई छाडिदैन, उनले भने–जिल्लामा ठूलो संख्यामा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन हुने छ ।”
यसका अतिरिक्त होली पर्वका दिन नगर क्षेत्रमा ८४ वटा सीसी टिभि क्यामरा तथा दुई वडा ड्रोन क्यामरामार्फत समेत निगरानी गरिने उनले जानकारी दिएका छन् । मर्यादित रुपमा होली मनाउन जिल्लाका सबै वडा एरियामा जिंगल तथा माइकिङ मार्फत सबैसँग अनुरोध गरिने बताएका उनले होली पर्वलाई सभ्य, भव्य, सुरक्षित र व्यवस्थित बनाउन ५ सय २३ प्रहरी परिचालन हुने जानकारी दिए ।
शान्त र मर्यादित भएर होली मनाउने वातावरणका लागि होली पर्व लक्षित विशेष सुरक्षा योजनामा छड्के चेकिङ, कमान्ड पोष्ट, गाडी मोवाइल, मोटरसाइकल गस्ती, ट्राफिकसहितको चेक प्वान्ट, पैदल गस्ती लगायतका सुरक्षा रणनीति समेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो अवसरमा प्रहरी उपरिक्षक खतिवडा तथा संचारकर्मीहरु एक आपसमा रंग, अबिर लगाएर होलीको शुभकामना साटासाट गरेका थिए ।






